प्रयोगमा नआउँदा गोठ बन्यो विद्यालय

काठमाण्डौं /३० माघ– हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको गाउँमा रहेको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय भवन विगत् पाँच वर्षदेखी प्रयोगमा आउन नसक्दा गोठ जस्तै बनेको छ ।
विसं २०६२÷६३ मा स्थापना भएको सो विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ । विद्यालय भवन र विद्यार्थी बस्ने डेस्कबेन्च व्यवस्थित नहुँदा यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य छन् । पाँच वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठ बनेको छ ।
विद्यालय भनि बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयवासीले घोडा, खच्चड राख्ने गोठ बनाइएको छ । कक्षा कोठाभरि गाईवस्तुका गोबर तथा विभिन्न फोहरले दुर्गन्धित हुनुका साथै दयनीय अवस्था छ ।
सरोकारवाला निकायले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा विद्यालयको यस्तो अवस्थासिर्जना भएको स्थानीयवासीको गुनासो छ । साविक वडा १, २ र ४ का गाउँमा बसोवास गर्ने बालबालिकाका लागि कैलाश माध्यामिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको स्थानीय बासीहरुको भनाई छ ।
विद्यालय भवनको संरक्षण, व्यवस्थापनका साथै शिक्षक दरबन्दी नहुँदा विस्तारै ओझेलमा परेको स्थानीय बताउँछन् । पहिला पाँच वर्षसम्म सञ्चालन हुँदा एक जना शिक्षकले धानेको विद्यालय अहिले शिक्षकको दरबन्दी नहुनुका साथै भएको शिक्षकलाई समेत तलबको व्यवस्था गर्न नसक्दा समस्या निम्तिएको हो ।
दुर्गम क्षेत्रका सरकारी स्कूललाई पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्न पर्याप्त बजेट नहुँदा पनि यस्तो समस्या सिर्जना भएको छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । विद्यालय व्यवस्थापन समिति र वडाले पनि यसमा कुनै चासो देखाएका छैनन् । पाँच वर्षअघि जिल्लामा सञ्चालित उपाप संस्थाले सो भवन निर्माण गरेको थियो । अहिले यो संस्था नै नभएकाले यसको अवस्था दयनीय बनेको छ ।