भेरी नगरपालिकामा एउटै शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था

काठमाण्डौं/३० माघ– कर्णाली प्रदेशस्थित जाजरकोट जिल्लाको भेरी नगरपालिकामा निमावि र मावि तहमा शिक्षक अभावका कारणले गर्दा एउटै शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था सिर्जना भएको छ ।
सो क्षेत्रमा अहिले ५४ वटा विद्यालय सञ्चालन भईरहेको छ भने २४६ जना मात्र सरकारी अनुदानका शिक्षक कार्यरत रहेको शिक्षा शाखाले जनाएको छ ।
नगरभित्र अहिले दरबन्दी र राहत गरी २४६ जना शिक्षक कार्यरत छन् । १० वटा माध्यमिक विद्यालय भएको यो नगरपालिकामा जम्मा २६ जना शिक्षक छन् । यस्तै, कक्षा ८ सम्म सञ्चालन भएका २३ वटा विद्यालय छन् । ती विद्यालयमा पनि ४४ जना मात्र शिक्षक छन् । प्राथमिक विद्यालयमा भने जम्मा दुई जना शिक्षक बढी छन् । यो भन्दा माथिल्लो तहमा दरबन्दी अभाव भएको नगर शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले बताए । विषयगत शिक्षकको कुरा त परै जाओस् विद्यालयमा विद्यार्थी अलमल्याउन पुग्नेगरी पनि शिक्षक नभएको उनले बताए ।


शिक्षा नियमावलीमा शिक्षक विद्यार्थी अनुपात हिमाली, पहाडी, तराई तथा उपत्यकाका जिल्लामा एक शिक्षक बराबर ४० देखी ५० जना सम्म विद्यार्थी हुनुपर्ने व्यवस्था छ । तर सो नगरपालिकामा प्राथमिक तहमा मात्र शिक्षक छन् ।


नगरपालिकामा कुनै पनि विद्यालयका निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी छैन । एउटा शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था विद्यमान रहेका कारण विद्यालयमा उचित व्यवस्थापन समेत हुन नसकेको शिक्षा शाखाले जनाएको छ ।
नगर शिक्षा शाखाका अनुसार नगरभित्र करिब ९ हजार भन्दा बढी बालबालिका अध्ययनरत छन् । ती विद्यार्थीलाई पढाउने शिक्षक भने २४६ जना मात्र छन् ।