नगरपालिकाद्वारा विद्यालयलाई स्ट्रेचरसहित प्राथमिक उपचारका सामग्री वितरण

काठमाण्डौं/३० माघ– खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचरसहित आवश्यक प्राथमिक उपचारका सामग्री तथा औषधि वितरण गरेको छ ।
विद्यार्थीलाई विद्यालय समयमा रहँदा आकस्मिक चोटपटक लाग्दा स्वास्थ्य संस्था पुग्नुभन्दा अगावै आफ्नै विद्यालयमा प्रारम्भिक उपचार पाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले औषधि तथा स्ट्रेचर वितरण गरेको हो ।
नगरका आठ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्ट्रेचर वितरण गरेको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत आदर्श मावि पाठकगाउँ, आदर्श मावि पिप्ले विद्यालयलगायत, सरस्वती मावि माल्टा, विद्योदय मावि तल्लो पाङ्ठा, जालपा मावि चेवा, हिमालय मावि आङ्ला, जनता मावि चन्दनपुर, विद्यामन्दिर पाठकगाउँ रहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत दीपकमणि घिमिरेले जानकारी दिए ।
नगरपालिका क्षेत्रभित्र अन्तर्गतका १३ वटा सामुदायिक विद्यालयलाई भने आवश्यक प्राथमिक उपचारका सामग्रीसहित औषधि वितरण गरेको उनले बताए ।
नगर प्रमुख मुरारीप्रसाद खतिवडाका अनुसार आकस्मिक चोटपटक तथा दुर्घटना हँुदा तत्काल सवारी साधन नभएको अवस्थामा तुरुन्तै स्वास्थ्य संस्था वा अस्पताल लैजानका लागि सहज पुगोस् भन्ने हेतुले विद्यालयलाई स्ट्रेचर समेत वितरण गरिएको जानकारी दिए ।