काठमाण्डौं /२४ माघ– यो वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भइसकेको छ । गत वैशाखमा सञ्चालन हुनुपर्ने कक्षा १२ को परिक्षा विश्वभर फैलिएको कोरोना महामारीका कारण निश्चित समयमा हुन नसक्दा त्यसले नतिजा प्रकाशनमा समेत प्रभाव पारेको देखिन्छ ।
कोरोना भाईसरका कारण मुलूकको शिक्षाक्षेत्रलाई सधैंभरि ठप्प राख्नु हुँदैन र यसलाई निकासा दिनुपर्छ भन्दै राष्ट्रिय परीक्षा बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा लिने निर्णय गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिने तरिकाले कार्यविधि बनाई सोही अनुरुप गत मङ्सिर महिनामा बोर्डले परिक्षा सञ्चालन गरेको थियो ।
मंसिरको ८ गते देखि १६ गते सम्म बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा भने प्रभावकारी रुपमा प्रकाशन हुन नसकेको दुखेसो पोख्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले करिब छ हजार विद्यार्थीहरुको आन्तरिक मूल्याङ्क विद्यालयहरुले अहिले सम्म पनि उपलब्ध नगराएको चिन्ता व्यक्त गरे । उनले भने, “हामीले विद्यालयमा पटक पटक सम्पर्क गरेर आग्रह गर्दा पनि आफ्ना विद्यार्थीहरुको आन्तरिक मूल्याङ्क विद्यालयले हामीलाई उपलब्ध गराउन सकेनन् । हामीले धेरै कु¥यौं तर पछि ती विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कलाई छोडेर भए पनि अन्य विद्यार्थीहरुलाई असर नपरोस् भन्ने उद्देश्यका साथ ढिलै भए पनि नतिजा सार्वजनिक गरेका हौं । ”
आन्तरिक मूल्याङ्क उपलब्ध नगराउने अधिकाँश सामुदायिक विद्यालय रहेको संचालक शर्माले बताए । यस्ता केही विद्यालयका कारणले गर्दा नै नेपालको शैक्षिक स्थिति खस्कँदै गएको भन्दै उनले आगामी दिनहरुमा परिक्षा सञ्चालन तथा व्यवस्थापनमा कुनै पनि किसिमको कमिकमजोरी हुन नदिन विद्यालयले महत्वपूर्ण भूमिका निभाउन आवश्यक रहेको र विद्यालयका विविध कार्यविधि सहज रुपले प्राप्त गर्न र नियमन गर्न प्रत्येक क्षेत्रमा एउटा यूनिट खडा गर्न पनि आवश्यक रहेको उनले जिकिर गरे ।
विद्यार्थी भनेको देशका कर्णधार हुन्, तिनीहरुको भविष्य खेलवाड गर्नुहुँदैन तसर्थ, जतिसक्दो छिटो विद्यालयहरुले बाँकी रहेको विद्यार्थीहरुको आन्तरिक मूल्याङ्क उपलब्ध गराउन उनले आग्रह गरे । तत्पश्चात् ती विद्यार्थीहरुको पनि निकासा हुने गरी चाँडो भन्दा चाँडो नतिजा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
अहिलेको परिस्थितिमा आफूले गरेको अभ्यास र अनुभवलाई बताउने क्रममा उनले नेपालमा विद्यालयका शिक्षा क्षेत्र गतिविधि प्रभावकारी रुपले सञ्चालन नभएको भन्ने कुराको प्रमाणित गरेको र विद्यालयहरुले आफ्नो सिकाईलाई प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले अहिले निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुले ल्याउने अंक कम रहेको संकेत गर्दै अब ति विद्यालयको शिक्षा प्रणालीलाई सुदृढ र सबल बनाउन, विद्यार्थीहरुलाई राम्रो गुणस्तरिय शिक्षा प्रदान गर्न सामुदायिक तथा कमजोर विद्यालय लगायत् सम्बन्धित सानादेखि ठूला तहसम्मका सबै स्थानीय निकायहरु जागरुक हुनुपर्ने बताए ।
उनले आगामी दिनमा परीक्षा सुधार गर्ने क्रममा अहिलेको जस्तो कुनै पनि किसिमको त्रुटि नहोस् भन्दै अबका परीक्षा केन्द्रहरु व्यवस्थित रुपमा सीमित गर्नुपर्ने, परीक्षासम्बन्धि नीति नियमको उचित पालना हुनुपर्ने, फरक विद्यालयबाट केन्द्राध्यक्षलाई राम्रो तालिम दिएर मात्र पठाउनुपर्ने र प्रभावकारी परीक्षा अनुगमन गर्नुपर्ने कुराहरुमा विशेष ध्यान पु¥याउनुपर्ने बताए ।


