अब सामाजिक शिक्षा र गणित मध्ये कुनै एउटा विषय रोज्न पाउने


काठमाण्डौं /१६ माघ– अबको चालु शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विद्यार्थीहरुले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितलाई अनिवार्य एवं ऐच्छिक (चौथो समूह)मा राख्ने निर्णय गरेको हो ।

विगतका वर्षहरुमा नेपाली, अङ्ग्रेजी र सामाजिक अध्यययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषय बनाइएको थियो । केही महिनायता गणित विषयलाई अनिवार्य बनाउनुपर्ने भन्दै सो विवाद अदालतसम्म पुगेको थियो । तर, गत पुस महिनामा सर्वाेच्च अदालतले रीट खारेज गर्दै सरकारलाई त्यस बारेमा पुनःविचार गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

अदालतको आदेशका आधारमा यस्तो व्यवस्था गरिएको बताउँदै पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले भने, “अब यसमा देखिएको विवाद अन्त्य भएको छ ।” उनले चालु शैक्षिक सत्रबाट नै दुइमध्ये एक विषय अनिवार्यका रूपमा छनोट गर्न पाइने बताए ।

सो तहमा गणितलाई पनि अनिवार्य विषयका रुपमा समावेश गर्ने भन्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेकोे निर्णयानुसार विद्यार्थीहरुले अब पाँच क्रेडिट आवर भएको यी दुवै विषयमध्ये एक विषय अनिवार्यका रूपमा छनोट गर्न पाइने भएका छन् ।