शिक्षक सेवा आयोगको विज्ञापन कुन तहको कति संख्यामा खुल्ने, यस्तो छ तयारी


काठमाण्डौं/८ माघ– शिक्षक सेवा आयोगले यो वर्ष खुला र बढुवा तर्फ गरेर झण्डै पन्ध्र हजार शिक्षक पदको विज्ञापन खुला गर्ने तयारी गरेको छ ।

आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन आव्हान गर्ने भएको हो ।

जसअनुसार २ हजार ६ सय ९१ बढुवा तर्फ र १२ हजार ६१ खुल्लातर्फको पद रहेको छ । आयोगले बढुवा शिक्षकतर्फ प्रावि प्रथम तहमा ३ सय ८४, प्रावि द्वितियमा १ हजार ३ सय २५, निमावि प्रथमतर्फ ६९, निमावि द्वितियतर्फ ३ सय ६४, मावि प्रथमतर्फ ९९, मावि द्वितियतर्फ ४ सय ५० गरी जम्मा २ हजार ६ सय ९१ पदको विज्ञापन खुला गर्ने तयारी गरेको छ ।

यसमा २५% आन्तरीक प्रतियोगात्मक परीक्षा (लिखित), ७५% कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभाजन हुने शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

त्यसैगरी, आयोगले खुल्लातर्फ प्राथमिक तहको तृतीयमा ९ हजार १ सय ६, निम्न माविमा विभिन्न विषय गरेर १ हजार ९ सय १३ र माविमा विभिन्न विषय गरेर १ हजार ४२ गरी जम्मा १२ हजार ६१ पदका लागि विज्ञापन खुला गर्ने तयारी गरेको छ ।

यसरी जम्मा आएका रिक्त दरबन्दीमध्येबाट ५५% खुलामा जाने र बाँकी ४५% पद मध्येबाट समावेशी तर्फ जाने छ । यसकासाथै, ४५% लाई शत्प्रतिशत् मानेर महिलाको तर्फबाट ३३%, आदिवासी जनजातीबाट २७%, मधेसी कोटामा २२%, दलितमा ९%, अपाङ्गताबाट ५% र पिछडिएको क्षेत्रबाट ४% का दरले संख्या विभाजन गरिनेछ । त्यसमध्येको महिलातर्फको ३३% बाट पनि ३% दलित महिलालाई, २% मुस्लिम महिलाको संख्यामा विभाजन गरिएको शिक्षक सेवा आयोगका प्रवक्ता एवं सूचना अधिकारी सुदर्शन मरहठ्ठाले खबर एजुकेशनलाई जानकारी दिए ।

साथै, शिक्षक सेवा आयोगले गरेको यो निर्णय नै अन्तिम निर्णय हुने शिक्षक सेवा आयोगको नियमावलीमा रहेको समेत उनले बताए । त्यसैगरी, शिक्षक सेवा आयोगको अध्यक्ष लगायतका पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस भएर आएपछि उहाँहरुको निर्देशन अनुसार शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने तयारीमा रहेको आयोगका प्रवक्ता मरहठ्ठाले जानकारी दिए ।