काठमाण्डौं/८ माघ– आगामी माघ १५ गतेबाट सिमकोट गाउँपालिकाले त्यस क्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरु सञ्चालन गरी पठन–पाठन सुरु गर्ने भएका छन् ।
सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबीच बसेको बैठकले कोरोना संक्रमणका कारण बन्द भएका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको प्रभाव कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठन–पाठन सुचारु भएको अवस्थामा विभिन्न स्वास्थ्य मापदण्ड अपनाई गाउँपालिका भित्रका सबै विद्यालयहरुमा पठन–पाठन गर्ने निर्णय गरेको बाल मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।
उनले यस वर्ष नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै पठन पाठन नभएको र हाल कोरोनाको सन्त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठन–पाठन सुचारु गर्ने जानकारी दिए ।
सिमकोट गाउँपालिकामा अहिले सामुदायिक र संस्थागत गरि जम्मा २८ वटा विद्यालय रहेका छन् । गत साउन र असोज महिनामा त्यस क्षेत्रमा पठन–पाठनको प्रयास गरिएको भएतापनि कोरोना संक्रमण न्यून हुन नसक्दा बन्द भएका थिए ।
माघ १५ गतेबाट सिमकोटका सम्पूर्ण विद्यालय सञ्चालनमा आउने


