काठमाण्डौं/८ माघ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण सहयोग अनुदानको रकम आजभोलिनै निकास हुने जनाएको छ ।
कोभिड -१९ संक्रमण रोकथामका लागि लकडाउन भएपछि शिक्षक सहयोग अनुदानको रकम समयमा निकासा हुन सकेको थिएन । साथै गत वर्ष शिक्षण सहयोग अनुदानको कार्यविधि नबनेको र अहिले कार्यविधि तयार गरेर सम्पूर्ण फाईल अर्थमन्त्रालयमा पठाईएकोले रकम आजभोलिनै निकासा हुने केन्द्रले जनाएको छ ।
पछिल्लो समयमा कार्यविधि स्वीकृत अनुरुप रकम भुक्तानीको फाईल अर्थ मन्त्रालयमा पठाईएपछि सो प्रक्रियालाई अर्थ मन्त्रालयको सिस्टममा हाल्ने तयारी रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत अर्जुन ढकालले खबर एजुकेशनलाई बताए । साथै, कार्यक्रम कार्यान्वयनका लागि आजभोली नै परिपत्र जारी गरीने उनले जानकारी दिए ।
उनका अनुसार १०५ वटा स्थानीय तहको दरबन्दी बढी भएको र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा र एक जिल्लाबाट अर्को जिल्लामा दरबन्दी मिलान गर्नु पर्ने भएकोले अनुदानमा कर्यरत शिक्षकको लागि पुस मसान्त सम्मको रकम मात्र निकासा भएको ढकालले बताए ।
साथै, १०५ वटा बाहेक अरु सबै स्थानीय तहको हकमा भने निरन्तरता रहेको शाखा अधिकृत ढकालले खबर एजुकेशनलाई जानकारी दिए । बाँकी स्थानीय तहको हकमा स्थानीय तहले नै निर्णय गर्नेछ, उनले भने । पठार्ईको रकम माविलाई आधार मानेर पठाईएको हो ।
त्यसै गरी कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका (शून्य दरबन्दी) माध्यामिक विद्यालयका लागि प्रति विद्यालय २ शिक्षक व्यवस्थापन गर्न ६ महिनाकालागि अनुदान रकम निकासा गर्ने भएको छ । एक दरबन्दी वा राहत अनुदान भएका माविमा भने थप एक शिक्षक व्यवस्थापनका लागि अनुदान रकम निकासा हुने छ ।
यस अन्र्तगत बजेट विनियोजन रहेका स्थानीय तहमा बजेटबाट शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि,२०७७ तथा दरबन्दी मिलानको प्रतिवेदन अनुरुप माध्यामिक तहको गणित,अंग्रेजि र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शून्य दरबन्दी वा राहत अनुदान र १ दरबन्दी वा राहत अनुदान भएका माविमा कार्यविधि वमोजिम रकम वितरण गरीएको हो ।


