काठमाडौ /५ माघ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको चार दिने भर्चुअल इक्यान मेला आजबाट सकिएको छ । कोभिड १९ महामारीका कारण भर्चुअल रुपमा आयोजना गरिएको मेलामा पैचालिस हजार विद्यार्थी र अभिभावकहरुले सहभागी जनाएको इक्यानले जानकारी दिएको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोभिडको समयमा उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन मेला सफल भएको बताए । साथै मेलामा उल्लेख्य सहभागिताले भर्चुअल माध्यम पनि मेलाका लागि प्रभावकारी विकल्प बन्न सफल भएको बताए ।
मेलामा विद्यार्थी तथा अभिभावकहरुले उच्च शिक्षाका लागि विभिन्न देशहरुले कोरोना पछि लिएको नीतिका विषयमा जानकारी प्राप्त गरेका थिए । साथै विभिन्न देश, त्यहाँका विश्वविद्यालय तथा कलेजका साथै कोर्स, त्यसका लागि लाग्ने शुल्क, छात्रवृत्ति, भिसा प्रोसेसिङ्ग लगायतका विभिन्न जानकारी लिएका थिए ।
ईक्यानका महासचिव दिपक राज भुसालका अनुसार मेलामा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी पछिको अवस्था बारे समेत जानकारी गराएको जनाए । ‘कोरोना महामारी पछिको अवस्थामा अहिले एनओसी खुलिसकेको छ, विभिन्न देशका भिसा कार्यालयहरु प्नि खुलिसकेको अवस्था छ । र, विद्यार्थीहरुले कार्यालयमै आएर परामर्श लिन सक्ने अवस्था सिर्जना भएको छ । मेलाले यी लगायत यावत विषयमा स्पष्ट पार्न प्रभावकारी भूमिका खेलेको भुसालले भने ।
मेलामा १०० भन्दा बढी इक्यानका सदस्य परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु सहभागी थिए ।



