विद्यार्थीलाइ राज्यको कल्याणमा संलग्न हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ /७ पुस – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै उपस्थित गराएर सोमबार ४६औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । त्यस अवसरमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तह गरी ५६ हजार ७१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ । औपचारिक कार्यक्रममा भने विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै बोलाइएको थियो ।

त्यस अवसरमा भिडियो क्लिपमार्फत सम्बोधन गर्नुहँुदै त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गर्नुभयो । उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्नुहुँदै उहाँले प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति डा। रामवरण यादवले शिक्षाको अवसरबाट कोही वञ्चित हुन नपरोस भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताउनुभयो । मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको चर्चा गर्नुहुँदै उहाँले राज्यले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षामा व्यापारीकरण, निजीकरण तथा दलीय प्रभाव बढेको, सही नीति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव भएको उहाँको भनाइ छ । देशको विकासमा महìवपूर्ण योगदान गर्ने र विश्व बजारमा प्रतिस्पर्धी हुने शिक्षा अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले कोरोना भाइरसका कारण दीक्षान्त समारोहमा सबैलाई उपस्थित गराउन नसकिएको बताउनुभयो । पूर्वाधारको कमी, जीर्ण भौतिक संरचना, सीमित स्रोत साधनका बीच उच्च९िशक्षा दिने महìवपूर्ण चुनौतीपूर्ण अभिभारा विश्वविद्यालयले बोकेको उहाँले बताउनुभयो ।

त्रिविबाट उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत ज्ञान, सीप र दक्षता प्रदर्शन गरी विश्वविद्यालयलाई गौरवान्वित बनाएको उहाँले बताउनुभयो । अनुसन्धानमा बजेट वृद्धि गरिएको, सूचना प्रविधिलाई आत्मसात् गर्दै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको, केन्द्रीय पुस्तकालयमा रहेका पाठ्यसामग्रीलाई विद्युतीकरण गरी शिक्षक विद्यार्थीसमक्ष पु¥याएको, संसारका उत्कृष्ट विश्वविद्यालयसँगको प्रतिस्पर्धामा महìवपूर्ण उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयमा सोमबार विद्यावारिधि, विषयगत उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीले मात्रै उपाधि ग्रहण गरेका छन । अब बाँकी विद्यार्थीलाई मङ्गलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि ३५ वटा प्रमाणपत्र वितरण काउन्टर बनाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । काउन्टरबाट उपाधिको प्रमाणपत्र नलिने विद्यार्थीले भने प्रमाणपत्र फाँटबाटै लिनुपर्ने व्यवस्था गरिएको छ । आजको गोरखापत्रमा खबर छ ।