एउटै कक्षामा धेरै विद्यार्थी राखेर पठनपाठन, कोरोना संक्रमणको जोखिम


काठमाडौ /१८ असोज – कोभिड -१९ माहामारीका कारण शैक्षिक क्षेत्र प्रभावित भइरहेको वेला विस्तारैै विद्यालय खुल्दै छन् । सिकाइ सहजीकरण २०७७ जारी भए पनि यसले सबै विद्यार्थीलाई समेट्न सकेको छैन ।


सरकारले सिकाइ सहजीकरणलाई प्राथमिकता दिएर पठनपाठन गर्न निर्देशन दिए पनि धेरै विद्यार्थीसंग वैकल्पिक शिक्षाको पहुँच नहँुदा भौतिक रुपमै विद्यार्थीलाई विद्यालय उपस्थित गराएर पढाउनु पर्ने बाध्यता रहेको धेरै विद्यालयको भनाई छ ।

कतिपय विद्यालयले ग्रामिण क्षेत्रमा अधिकांश विद्यालयमा विद्यार्थी संख्या पनि कम भएकाले शिक्षक तथा विद्यार्थी विद्यालयमा नै जुटाएर पठनपाठन अगाडि बढाइरहेका छन् ।

विद्यालयले आफुलाई सहज हुने तरिका अपनाएर विद्यालय सञ्चालन गरे पनि प्युठानको नौ बैनि गाउँपालिका वडा न १ स्याउलीवाङ्गमा रहेको श्री शिव माध्यामिक विद्यालयले विद्यालय सञ्चालन गरे पनि धेरै विद्यार्थीलाइ एउटै कक्षामा कोचाकोच गरेर पढाइरहेको छ ।

स्थानिय तहको निर्णयमा असोज ११ गते देखि विद्यालय सञ्चालन भए पनि एउटै कक्षामा सय जना सम्म विद्यार्थी राखेर धमाधम पढाइ भइरहेको एक जना अभिभावकले खबर एजुकेशनलाई बताए ।

यसरी धेरै विद्यार्थीलाइ एउटै कक्षामा रखेर पठनपाठन गराउदा विद्यार्थी र शिक्षकमा संक्रमण हुने जोखिम बढी देखिएको छ ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एकदिन र ६ देखि १० सम्मका विद्यार्थीलाई एकदिन गरेर पठनपाठन गरेपनि कक्षामा भएका सबै विद्यार्थी एउटै कक्षामा रखेर पठनपाठन भइरहेको छ । विद्यालयमा भवनको अभावका कारण यसरी धेरै विद्यार्थीलाई एउटै कक्षामा रखेर पढाउन वध्य भएको प्रिन्सिपल भिमप्रसाद गौतमले बताए ।


शिक्षकलाई सेनिटाइजर र माक्सको व्यावस्था गरीएको छ भने विद्यार्थीलाई कपडाको एक एक वटा माक्स वितरण गरिएको छ ।
सेनिटाइजर र माक्स वितरण गरिएपनि सबै विद्यार्थीलाई एउटै कक्षामा कोचेर पढाउँदा नत भौतिक दुरी देखियो नत विद्यार्थी सुरक्षित देखिए । विद्यालयमा ७७५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।