५० प्रतिशत बढेको भाडा हटाउन १३ विद्यार्थी संगठनको सात दिने अल्टिमेटम


काठमाडौं/ ७ असोज -कोभिड १९ का कारण गरिएको लकडाउन हटाइए पछि १३ विद्यार्थी संगठनहरुले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि पनि हटाउन माग गरेका छन् ।
सरकारले लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धिको निर्णय गरेको थियो । यस सम्बन्धमा बढाइएको भाडा खारेज गर्न उनीहरूले माग गरेका हुन् ।

संयूक्त बिध्यार्थी संगठनको वैठक बसि भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेकोमा हालसम्म सुनुवाइ नभएपछि आज मन्त्री नेम्वाङलाई ज्ञापन पत्र पेस गर्दे सात दिने अल्टिमेटम सहित मागपत्र बुझाएको अनेरास्ववियू नेत्री सुनिता बरालले बताइन् ।

उनीहरूले हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व,अव्यवहारिक र अवैज्ञानिक भएको माग पत्रमा उल्लेख गरेका छन् । साथै हवाइजहाजबाट यात्रा गर्दा कोरोना नसर्ने र बसबाट यात्रा गर्दा सर्ने भन्ने नहुनसक्ने बताएका छन् ।

सार्वजनिक यातायातमा आधा संख्यामा यात्रु राख्ने निर्देशन दिइए पनि पूर्ण क्षमतामा यात्रुहरु राख्ने तर दोब्बर भाडा असुल्ने काम भएको मागमा भनिएको छ । साथै निर्णय अवज्ञा गर्ने र यात्रुहरु माथि लुट मच्चाउने गरिएकोले बढाइएको भाडा खारेज गर्न माग गरेका छन् ।

कोभिडका कारणले घर गएका विद्यार्थी दोब्बर भाडा तिरेर क्याम्पस र विश्वविद्यालय फर्कन विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने उनीहरूको भनाइ छ । बढाइएको भाडा तत्काल खारेज गरि लामो दुरी तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियत दिन पनि १३ विद्यार्थी संगठनले माग गरेका छन् ।