काठमाडौ /८ असोज – रोजगारी, शिक्षा, स्वास्थ्य, बाटोघाटोको सुविधा लगायतको खोजीमा मानिसहरु गाउँबाट बसाँई सरे पछि अधिकांश गाउँका सार्वजनिक विद्यालय खालि हुदै गइरहेका छन् ।
यस्तै भएको छ गुल्मि मुसिकोट नगरपालिका वडा नम्वर ५ मा पर्ने खर्बाङ्ग गाउँमा । एक समय अढाइ सय बढी घर रहेको यो गाउँमा अहिले दुई घरमात्र बाँकी छन् । विभिन्न सुविधाको खोजिमा बसाँइ सरेपछि गाउँमात्रै रित्तो भएन विद्यालय पनि विद्यार्थीको अभाबमा सुनसान भएको छ । पछिल्लो दुई दशक यता यो गाउँ उजाड भएको छ । यो त एउटा उदाहरण मात्र हो देशभरका धेरै ग्रामिण क्षेत्रका विद्यालयहरुको हालत यस्तै छ ।
गुल्मि मुसिकोट नगरपालिका वडा नम्वर ५ मा पर्ने खर्बाङ्गको सरस्वती माध्यामिक विद्यालय २०४६ साल अघिसम्म प्राविबाट निमावि हुने तयारीमा थियो । अहिले आएर विद्यार्थीको अभाबमा बालविकासमा परिणत भएको छ । २०४६ साल अघिसम्म यस विद्यालयमा डेढ सयदेखि दुई सयसम्म विद्यार्थी हुने गरेकोमा अहिले १०/१२ जनामात्र विद्यार्थी छन् ।
एक समय कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा दुई/तीन वर्ष यता कक्षा ३ सम्ममात्र पढाइ हुने गरेकोमा अहिले प्रावि बालविकासमा परिणत भएको छ । विद्यार्थी संख्या १०/१२ जनामा मात्र भएपछि प्रावि बालविकासमा परिणत भएको हो । १०/१२ जना विद्यार्थीका लागि विद्यालयमा एक जनामात्रै शिक्षक कालिका विश्वकर्मा छिन् । प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म आफैले चलाएकी उनी विगत तीन वर्षदेखि मासिक ६ हजार रुपैयाँ तलबमा बालविकासको दरबन्दीमा कार्यरत छिन् ।



