काठमाडौं /२ असोज -चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा डा गोविन्द केसीले १९ औं सत्याग्रह बसिरहेका छन् । डा. केसीले जुम्लाको चन्दननाथ -६ रानिचौरमा रहेको वाविरा मन्दिर परिसरमा १९औ सत्याग्रह बसेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश -२ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राखी उनले सत्याग्रह बसेका हुन् ।
साझा पार्टीको ऐक्यवद्धता
डा. गोबिन्द केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउदै साझा पार्टीले विज्ञप्ति निकालेको छ । साथै साझा पार्टीको बिशेष टोली सत्याग्रह स्थलमा पुगेको छ । विज्ञप्ति मार्फत सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा. केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका अनुसार डा केसीलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ ।

साथै यस्तो अवस्थामा डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने छ र त्यसको मूल्य सरकारका लागि भारी हुने विज्ञप्तिमा भनिएको छ ।



