काठमाडौं /११ मंसिर – विद्यार्थीको आविष्कार र प्राविधिक दक्षता उजागर गर्ने उद्देश्यले काठमाडौंमा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ आयोजना हुने भएको छ ।
काठमाडौँको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको आयोजनामा हुन लागेको प्रदर्शनी मंसिर २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
मित्रपार्कस्थित नेटवर्कको परिसरमा आयोजना हुने उक्त कार्यक्रममा विद्यार्थीले तयार पारेका ७० भन्दा बढी परियोजना अवलोकन गर्न पाइने कलेजले जनाएको छ ।
तीनदिने प्रदर्शनीमा विज्ञान र सूचना प्रविधिसँग सम्बन्धित नवीन प्रयोग तथा सिर्जनाहरूलाई प्राथमिकता दिइनेछ । रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) लगायतका आधुनिक प्रविधिको प्रत्यक्ष प्रदर्शनसँगै विद्यार्थीका विशेष प्रस्तुतिहरू पनि कार्यक्रमका मुख्य आकर्षण रहने जनाइएको छ ।
बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रदर्शनीले विद्यार्थीमा अनुसन्धान, खोज तथा आविष्कारको भावना विकास गर्न र उनीहरूको प्रतिभालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
प्रदर्शनीको सातौँ संस्करणमार्फत विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतारेका नमुना तथा परियोजनाहरू प्रस्तुत गर्नेछन् ।



