बुटवल/८ मंसिर – बुटवल उपमहानगरपालिकाले आइतबार विद्यालय सञ्चालन नगर्न नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले मंसिर ७ गते जारी गरेको सूचनामार्फत नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न विद्यालयहरूलाई आग्रह गरेको हो ।
केही विद्यालयहरू आइतबारसमेत सञ्चालन भइरहेको भन्दै जनगुनासो प्राप्त भएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।
निर्देशनको अवज्ञा गरी आइतबार विद्यालय सञ्चालन गरे प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख गरिएको छ । उक्त सूचना बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले जारी गरेका हुन् ।



