काठमाडौँ/१ मंसिर – पाठ्यक्रम विषय र पाठ्यपुस्तकको सूची मात्र होइन; विद्यार्थीले के जान्ने, कसरी सोच्ने, के गर्न सक्ने र समाजमा कसरी योगदान दिने भन्ने निर्धारण गर्ने राष्ट्रिय शैक्षिक संरचना हो । त्यसैले पाठ्यक्रमको पुनर्विचार विषयवस्तु थपघटमा सीमित हुनु हुँदैन। यसको केन्द्रमा विद्यार्थीको वास्तविक सिकाइ, व्यक्तित्व विकास र बदलिँदो संसारमा जीवनलाई अर्थपूर्ण बनाउने क्षमता हुनुपर्छ ।
१. पाठ्यक्रम पुनर्विचारको आवश्यकता : कस्तो पुस्ता निर्माण गर्ने ?
कुनै पनि राष्ट्रको भविष्य त्यसले आजका बालबालिकालाई कस्तो शिक्षा दिइरहेको छ भन्ने कुरासँग गहिरो रूपमा जोडिएको हुन्छ । विद्यालय शिक्षा अक्षर चिनाउने, विषयवस्तु सिकाउने वा परीक्षामा उत्तीर्ण गराउने माध्यम मात्र होइन । यसले व्यक्तिको सोच्ने तरिका, निर्णय क्षमता, व्यवहार, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व निर्माण गर्छ । त्यसैले शिक्षाको गुणस्तरबारे छलफल गर्दा पाठ्यक्रमलाई केन्द्रमा राख्नुपर्छ ।
नेपालमा विद्यालय शिक्षाको पहुँच विस्तार, पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास, शिक्षक व्यवस्थापन र शैक्षिक पूर्वाधार सुधारका लागि विभिन्न प्रयास भएका छन् । संविधान, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था र राष्ट्रिय पाठ्यक्रम प्रारूपले पहुँच, समावेशिता, गुणस्तर र सान्दर्भिकतालाई महत्त्व दिएका छन् । तथापि, नीतिगत व्यवस्था र विद्यालयमा हासिल हुने वास्तविक सिकाइ उपलब्धिबिचको सम्बन्ध अझै महत्त्वपूर्ण प्रश्नका रूपमा रहेको छ । यो अवस्था सबै विद्यालयमा समान छैन; भूगोल, स्रोत, शिक्षक उपलब्धता र कार्यान्वयन क्षमताअनुसार फरक छ ।
राष्ट्रिय उपलब्धि परीक्षणले पनि सिकाइको अवस्थालाई नियमित रूपमा प्रमाणका आधारमा हेर्नुपर्ने आवश्यकता देखाउँछ । उदाहरणका लागि, सन् २०२२ मा कक्षा ५ का विद्यार्थीको गणित, विज्ञान तथा प्रविधि, नेपाली र अङ्ग्रेजी विषयको राष्ट्रिय परीक्षण गरिएको थियो। यस्तो परीक्षणको महत्त्व नतिजा सार्वजनिक गर्नुमा मात्र होइन; कुन समूह, क्षेत्र वा विद्यालयमा सिकाइ कमजोर छ र त्यसलाई सुधार्न पाठ्यक्रम, शिक्षण तथा सहयोग प्रणालीमा के परिवर्तन आवश्यक छ भन्ने पहिचान गर्नुमा छ ।
विद्यार्थीले पाठ्यपुस्तकका सामग्री कति पढेभन्दा उनीहरूले के बुझे, सिकेको कुरा नयाँ परिस्थितिमा प्रयोग गर्न सके कि सकेनन्, सूचनाको विश्वसनीयता परीक्षण गर्न र समस्या समाधान गर्न सके कि सकेनन् भन्ने प्रश्नले शिक्षाको गुणस्तर निर्धारण गर्छ । परीक्षामा राम्रो अङ्क ल्याउनु उपलब्धिको एउटा सङ्केत हो, तर त्यसले मात्र ज्ञान, चिन्तन, व्यावहारिक क्षमता, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वको पूर्ण चित्र दिँदैन ।
कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चार, स्वचालन, जलवायु परिवर्तन र विश्वव्यापी आर्थिक सम्बन्धले ज्ञानको उत्पादन र प्रयोग गर्ने तरिकामा परिवर्तन ल्याइरहेका छन् । यस्तो अवस्थामा सूचना सम्झनु मात्र पर्याप्त हुँदैन; त्यसलाई परीक्षण गर्ने, प्रमाणका आधारमा निष्कर्ष निकाल्ने, प्रविधिको जिम्मेवार प्रयोग गर्ने र नयाँ समस्या समाधान गर्न सक्ने क्षमता आवश्यक हुन्छ ।
यस लेखको मूल उद्देश्य नेपालको विद्यालय पाठ्यक्रमलाई विद्यार्थीले के जान्ने, कसरी सोच्ने, के गर्न सक्ने र समाजमा कसरी योगदान दिने भन्ने चार पक्षलाई एकीकृत गर्ने शैक्षिक संरचनाका रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता स्पष्ट गर्नु हो । यससँगै प्रत्येक विद्यार्थीको स्वतन्त्र व्यक्तित्व, प्रतिभा, रुचि, सिर्जनशीलता र मानवीय गरिमाको विकासलाई शिक्षाको केन्द्रीय उद्देश्य बनाउनुपर्छ ।
२. पाठ्यक्रमको अर्थ : विषयवस्तुभन्दा समग्र शैक्षिक अनुभव :
पाठ्यक्रमलाई प्रायः विषयहरूको सूची, कक्षागत पाठ्यवस्तु वा परीक्षामा समेटिने सामग्रीका रूपमा बुझ्ने गरिन्छ । यी पाठ्यक्रमका महत्त्वपूर्ण अङ्ग हुन्, तर पाठ्यक्रमको सम्पूर्ण अर्थ यतिमै सीमित हुँदैन । पाठ्यक्रमले विद्यार्थीले के सिक्ने भन्ने मात्र होइन, त्यो सिकाइ किन आवश्यक छ, कसरी हासिल गर्ने, उपलब्धि कसरी प्रमाणित गर्ने र त्यसले जीवनमा कस्तो प्रभाव पार्ने भन्ने कुरा पनि निर्धारण गर्छ ।
पाठ्यक्रमको प्रभावकारिता पाँच परस्पर सम्बन्धित पक्षमा निर्भर हुन्छ —सिकाइ उपलब्धि, विषयवस्तु, सिकाइ अनुभव, मूल्याङ्कनका प्रमाण र कार्यान्वयनका स्रोत । यी पक्षबिच सामञ्जस्य हुन सकेन भने पाठ्यक्रम कागजमा आकर्षक देखिए पनि कक्षाकोठामा अपेक्षित परिणाम दिन सक्दैन ।
उदाहरणका लागि, पाठ्यक्रमले वैज्ञानिक सोच र समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्य राखेको छ, तर विषयवस्तु तथ्य सम्झने कुरामा सीमित छ, शिक्षण व्याख्यानमुखी छ र परीक्षा पनि स्मरणमा आधारित छ भने घोषित लक्ष्य र वास्तविक सिकाइबिच दूरी रहन्छ । अनुसन्धान गर्न अपेक्षा गरिएको छ, तर आवश्यक सामग्री, समय वा अवसर छैन भने कार्यान्वयनमा समस्या आउँछ । त्यसैले पाठ्यक्रमको गुणस्तर विषयवस्तुको परिमाण वा पाठ्यपुस्तकको आकारबाट होइन, उद्देश्य, शिक्षण, मूल्याङ्कन र कार्यान्वयनबिचको सम्बन्धबाट निर्धारण हुनुपर्छ ।
३. सिकाइको मूल दर्शनः जान्ने, सोच्ने, गर्ने र योगदान दिने
विद्यार्थीको सिकाइलाई चार परस्पर सम्बन्धित आयाममा बुझ्न सकिन्छ । यस लेखमा यी आयामलाई सिकाइ विश्लेषण गर्ने आधारका रूपमा लिइएको हो, आधिकारिक वर्गीकरणका रूपमा होइन ।
क. जान्ने–ज्ञानको आधार निर्माण : भाषा, गणित, विज्ञान, सामाजिक अध्ययन, इतिहास, भूगोल, कला, संस्कृति, स्वास्थ्य, वातावरण र प्रविधिजस्ता विषयले विद्यार्थीलाई संसार बुझ्ने आधार दिन्छन् । ज्ञानको महत्त्व घटाएर सीपलाई मात्र प्राथमिकता दिनु उचित हुँदैन; सीपको सार्थक प्रयोगका लागि विषयगत ज्ञान आवश्यक हुन्छ । तर विद्यार्थीले कति सामग्री पढे भन्नेभन्दा कुन ज्ञान किन आवश्यक छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । आधारभूत अवधारणा, जीवनोपयोगी ज्ञान, विषयगत गहिराइ र भविष्यमा नयाँ कुरा सिक्न सहयोग गर्ने विषयवस्तुलाई प्राथमिकता दिनुपर्छ ।
ख. सोच्ने–ज्ञानलाई बुझ्ने, परीक्षण गर्ने र नयाँ अर्थ दिने क्षमता : तथ्य सम्झनु र त्यसका कारण, सन्दर्भ तथा प्रभाव बुझ्नु फरक कुरा हुन् । त्यसैले पाठ्यक्रमले विश्लेषण, तर्क, प्रश्न, कल्पना, तुलना, निष्कर्ष र निर्णय गर्ने क्षमता विकास गर्नुपर्छ । विद्यार्थीले प्रमाण खोज्न, विभिन्न दृष्टिकोण तुलना गर्न र आफ्ना निष्कर्षको आधार प्रस्तुत गर्न पाउनुपर्छ । आलोचनात्मक चिन्तन भनेको सबै कुराको विरोध गर्नु होइन; सूचना र विचारलाई प्रमाण तथा तर्कका आधारमा परीक्षण गर्न सक्नु हो ।
ग. गर्ने–ज्ञान र सीपलाई जीवनमा प्रयोग गर्ने क्षमता : गणितीय ज्ञान दैनिक जीवनको हिसाबमा, विज्ञान स्थानीय समस्याको परीक्षणमा, भाषिक क्षमता प्रभावकारी संवादमा र सामाजिक अध्ययन समुदायका विषय बुझ्न प्रयोग हुनुपर्छ । यसका लागि प्रयोगात्मक सिकाइ, परियोजना कार्य, अनुसन्धान, सिर्जनात्मक अभ्यास र वास्तविक जीवनका समस्या समाधान गर्ने अवसर आवश्यक हुन्छन् । कृषि, उद्यम, वातावरण संरक्षण, स्वास्थ्य, वित्तीय साक्षरता र प्रविधिजस्ता क्षेत्रलाई स्थानीय सन्दर्भसँग जोड्न सकिन्छ ।
घ. योगदान दिने–समाजप्रति उत्तरदायी र सक्रिय नागरिक बन्ने क्षमता : शिक्षा व्यक्तिगत सफलता वा रोजगारीको तयारीमा मात्र सीमित हुनु हुँदैन । यसले सहकार्य, सहिष्णुता, समानुभूति, नैतिकता, लोकतान्त्रिक मूल्य, वातावरणीय चेतना र सामाजिक जिम्मेवारी विकास गर्नुपर्छ । विद्यार्थीले आफ्नो समुदायका समस्या बुझ्ने, अरूको दृष्टिकोणको सम्मान गर्ने र सामूहिक हितका लागि योगदान गर्ने अवसर पाउनुपर्छ ।
यी चार आयाम अलग–अलग विषय वा तह होइनन् । ज्ञानले सोच्न आधार दिन्छ, सोचाइले ज्ञानको प्रयोगलाई दिशा दिन्छ, प्रयोगबाट क्षमता विकसित हुन्छ र त्यसको सामाजिक उपयोगबाट उत्तरदायी नागरिकको विकास हुन्छ । त्यसैले पाठ्यक्रमले यी आयामलाई एकीकृत गर्नुपर्छ ।
४. विद्यार्थीको व्यक्तित्व र स्थानीय सान्दर्भिकता
सबै विद्यार्थी एउटै रुचि, गति, प्रतिभा र सिकाइ शैलीका हुँदैनन् । पाठ्यक्रमले सबैलाई एउटै ढाँचामा सीमित गर्नुको सट्टा उनीहरूको क्षमता पहिचान र विकास गर्ने अवसर दिनुपर्छ । विद्यार्थीलाई प्रश्न गर्ने, खोज्ने, सिर्जना गर्ने, आफ्नो रुचिको क्षेत्र अन्वेषण गर्ने र सिकाइमा सक्रिय भूमिका निर्वाह गर्ने वातावरण आवश्यक हुन्छ ।
यसका लागि राष्ट्रिय साझा सिकाइ आधार र स्थानीय सान्दर्भिकताबिच सन्तुलन कायम गर्नुपर्छ। राष्ट्रिय पाठ्यक्रमले साझा ज्ञान, मूल्य र न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्छ भने स्थानीय पाठ्यक्रमले भाषा, संस्कृति, भूगोल, पेसा, वातावरण, इतिहास र स्थानीय सम्भावनालाई समेट्नुपर्छ । स्थानीय विषयवस्तु समावेश गर्नु मात्र पर्याप्त हुँदैन; त्यसलाई शैक्षिक रूपमा उपयुक्त, उमेरअनुकूल र सिकाइ उपलब्धिसँग सम्बन्धित बनाउनुपर्छ ।
बहुभाषिक सिकाइ यसको व्यावहारिक उदाहरण हो । दैलेख र रौतहटका विद्यालयमा बालबालिकाले घरमा बोल्ने भाषालाई सिकाइमा स्थान दिँदा उनीहरूको सहभागिता र आत्मविश्वास बढेको अनुभव सार्वजनिक गरिएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले बहुभाषिक शिक्षा कार्यक्रम १५ विद्यालयबाट ४८ विद्यालयसम्म विस्तार गर्ने योजना अघि बढाएको उदाहरणले स्थानीय भाषालाई बाधाका रूपमा होइन, सिकाइको स्रोतका रूपमा उपयोग गर्न सकिने देखाउँछ । यसका लागि शिक्षक तालिम, स्थानीय भाषाका सामग्री र विद्यालयस्तरको सहयोग आवश्यक हुन्छ ।
समावेशी पाठ्यक्रमले भाषा, लिङ्ग, अपाङ्गता, आर्थिक अवस्था, भौगोलिक पहुँच वा सामाजिक पृष्ठभूमिका कारण कुनै विद्यार्थी सिकाइबाट वञ्चित नहुने व्यवस्था गर्नुपर्छ । समान अवसरको अर्थ सबैलाई एउटै सामग्री र विधि दिनु मात्र होइन; आवश्यकताअनुसार सिकाइमा सहभागी हुन सहयोग पु¥याउनु पनि हो ।
५. कक्षाकोठाको रूपान्तरण : शिक्षक र प्रविधिको भूमिका
पाठ्यक्रमको सफलता अन्तत: कक्षाकोठामा देखिन्छ। विद्यार्थीले सक्रिय रूपमा सिक्ने, छलफल गर्ने, प्रयोग गर्ने, गल्तीबाट सिक्ने र आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाउनुपर्छ । शिक्षकको भूमिका पाठ्यपुस्तकको सामग्री पूरा गराउनेमा सीमित हुनु हुँदैन; शिक्षक सिकाइको सहजीकरण गर्ने, जिज्ञासा जगाउने र विद्यार्थीको प्रगति पहिचान गर्ने पेशागत व्यक्ति हुन्
।
यसका लागि शिक्षकको विषयगत ज्ञान, शिक्षण सीप, मूल्याङ्कन क्षमता र प्रविधिको जिम्मेवार प्रयोगसम्बन्धी दक्षता विकास गर्नुपर्छ । पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ हासिल गर्न आवश्यक समय, सामग्री, तालिम र संस्थागत सहयोग पनि उपलब्ध हुनुपर्छ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताले सिकाइका नयाँ सम्भावना सिर्जना गरेका छन् । विद्यार्थीलाई डिजिटल सूचना परीक्षण गर्ने, कृत्रिम बुद्धिमत्ताबाट प्राप्त उत्तरको विश्वसनीयता जाँच्ने, गोपनीयता र सुरक्षाको ख्याल गर्ने तथा प्रविधिलाई सिर्जनात्मक र जिम्मेवार रूपमा प्रयोग गर्ने क्षमता दिनुपर्छ । यी विषयलाई भविष्यको डिजिटल साक्षरताको आवश्यकताका रूपमा लिनुपर्छ; छुट्टै अनिवार्य विषयको दाबीका रूपमा होइन । प्रविधि शिक्षकको विकल्प होइन, सिकाइलाई प्रभावकारी बनाउने साधन हो ।
६. मूल्याङ्कनः परीक्षाभन्दा सिकाइको प्रमाण
पाठ्यक्रमले सिर्जनशीलता, विश्लेषण, व्यावहारिक सीप र सहकार्यको लक्ष्य राख्ने तर मूल्याङ्कनले स्मरणशक्ति मात्र जाँच्ने हो भने सिकाइमा अपेक्षित रूपान्तरण सम्भव हुँदैन । विद्यार्थीले के जाने, कसरी सोचे र ज्ञानलाई कसरी प्रयोग गरे भन्ने कुरा मूल्याङ्कनले देखाउनुपर्छ ।
सिकाइको समग्र मूल्याङ्कनका लागि लिखित परीक्षासँगै निरन्तर तथा निर्माणात्मक मूल्याङ्कन, निदानात्मक मूल्याङ्कन, परियोजना कार्य, प्रयोगात्मक अभ्यास, प्रस्तुति, पोर्टफोलियो, स्वमूल्याङ्कन र सहपाठी मूल्याङ्कनलाई उपयुक्त रूपमा प्रयोग गर्न सकिन्छ । लिखित परीक्षाको महत्त्व रहन्छ, तर त्यसलाई सिकाइको सम्पूर्ण प्रमाण मान्नु हुँदैन । मूल्याङ्कनको विधि विषय, उमेर र अपेक्षित उपलब्धिअनुसार छनोट गर्नुपर्छ ।
नेपालको विद्यालय शिक्षा क्षेत्र योजनाले पनि मूल्याङ्कनलाई विषयवस्तुमा केन्द्रित राख्नुभन्दा सीप र विद्यार्थी केन्द्रित बनाउने तथा मूल्याङ्कन, पाठ्यक्रम र शिक्षणबिच सामञ्जस्य बढाउने दिशा लिएको थियो । यसबाट स्पष्ट हुन्छ—मूल्याङ्कन सुधार भनेको परीक्षाको स्वरूप मात्र बदल्नु होइन; मूल्याङ्कनबाट प्राप्त सूचनालाई शिक्षक र विद्यालयले विद्यार्थीको सिकाइ सुधारमा प्रयोग गर्ने व्यवस्था बनाउनु पनि हो ।
७. पाठ्यक्रम परीक्षणका चार चरण र पाँच आधार
पाठ्यक्रमको समीक्षा गर्दा उद्देश्य वा विषयवस्तु मात्र हेरेर पुग्दैन । पाठ्यक्रमले राखेका अपेक्षा कक्षाकोठामा पूरा भएका छन् कि छैनन् र विद्यार्थीले वास्तवमा के सिकेका छन् भन्ने कुरा पनि हेर्नुपर्छ। यसका लागि पाठ्यक्रमलाई चार चरणमा हेर्न सकिन्छ ।
क. निर्धारित पाठ्यक्रम : विद्यार्थीले के जान्ने, बुझ्ने र गर्न सक्ने अपेक्षा गरिएको छ ? निर्धारण गरिएका सिकाइ उद्देश्य स्पष्ट, सान्दर्भिक र विद्यार्थीको उमेरअनुकूल छन् कि छैनन् ?
ख. कार्यान्वित पाठ्यक्रम : विद्यालय र कक्षाकोठामा पाठ्यक्रम कसरी कार्यान्वयन भइरहेको छ ? शिक्षकसँग आवश्यक क्षमता, समय, सामग्री र सहयोग उपलब्ध छ कि छैन ?
ग. मूल्याङ्कित पाठ्यक्रम : मूल्याङ्कनले पाठ्यक्रमले अपेक्षा गरेका ज्ञान, चिन्तन र सीपलाई समेटेको छ कि छैन ? मूल्याङ्कनको स्वरूप र सिकाइ उद्देश्यबिच उचित तालमेल छ कि छैन ?
घ. प्राप्त सिकाइ उपलब्धि : अन्ततः विद्यार्थीले के सिके ? उनीहरूको ज्ञान, सोच्ने क्षमता, व्यावहारिक सीप, आत्मविश्वास र सामाजिक सहभागितामा कस्तो परिवर्तन आएको छ ?
यी चार चरण एकअर्कासँग जोडिएका छन् । कुनै एक चरण कमजोर भएमा त्यसको असर समग्र सिकाइमा पर्छ । उदाहरणका लागि, विद्यार्थीमा अनुसन्धान गर्ने क्षमता विकास गर्ने उद्देश्य राखिएको छ, तर विद्यालयमा त्यसका लागि आवश्यक अवसर छैनन् र परीक्षाले पनि उक्त क्षमताको परीक्षण गर्दैन भने अपेक्षित उपलब्धि हासिल हुन सक्दैन । यस्तो अवस्थामा समस्या कुनै एउटा विषय वा पाठमा मात्र हुँदैन; पाठ्यक्रम, शिक्षण र मूल्याङ्कनबिचको तालमेलमै कमी रहेको हुन्छ ।
पाठ्यक्रमको समीक्षा गर्दा यी चार चरणसँगै यसको निर्माण र कार्यान्वयनका पाँच पक्षमा पनि ध्यान दिनुपर्छ ।
· सिकाइ उपलब्धि : विद्यार्थीले के जान्ने, बुझ्ने र गर्न सक्ने हुनुपर्छ भन्ने स्पष्ट अपेक्षा ।
· विषयवस्तु : निर्धारित सिकाइ उपलब्धि हासिल गर्न आवश्यक ज्ञान, अवधारणा र सीपको छनोट ।
· सिकाइ अनुभव : विद्यार्थीलाई सिक्ने अवसर दिने व्याख्या, अभ्यास, प्रयोग, अनुसन्धान, परियोजना र छलफलस्ता क्रियाकलाप ।
· मूल्याङ्कनका प्रमाण : विद्यार्थीले अपेक्षित सिकाइ उपलब्धि हासिल गरे वा नगरेको थाहा पाउने आधार र विधि ।
· कार्यान्वयनका स्रोत : पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षक, समय, पाठ्यसामग्री, प्रविधि, पूर्वाधार, तालिम र संस्थागत सहयोग ।
यी पाँच पक्षमध्ये कुनै एक कमजोर भएमा पाठ्यक्रमको अपेक्षित प्रभाव हासिल गर्न कठिन हुन्छ । त्यसैले विषयवस्तु थप्ने वा परिवर्तन गर्ने निर्णय गर्नुअघि त्यसले विद्यार्थीको सिकाइमा कस्तो योगदान पु¥याउँछ र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न के–कस्ता स्रोत आवश्यक पर्छन् भन्ने विचार गर्नुपर्छ । साथै, विषयभार सन्तुलित राख्दै दोहोरिएका र कम उपयोगी सामग्री घटाउनुपर्छ । यसो गर्दा विद्यार्थीले आधारभूत ज्ञानलाई गहिराइमा बुझ्ने, अभ्यास गर्ने र दैनिक जीवनमा प्रयोग गर्ने पर्याप्त समय पाउँछन् ।
८. सुधारको कार्यदिशा : दस्ताबेजबाट निरन्तर प्रक्रियातर्फ
पाठ्यक्रम निर्माण निश्चित अवधिमा दस्ताबेज तयार गरेर टुङ्गिने प्रशासनिक काम होइन । ज्ञान, प्रविधि, समाज, श्रम बजार, वातावरण र विद्यार्थीका आवश्यकता परिवर्तन भइरहने भएकाले यसको समीक्षा पनि प्रमाणमा आधारित र निरन्तर हुनुपर्छ । यसका लागि निम्न निर्णयहरू आवश्यक छन् ।
क. राष्ट्रिय शैक्षिक दर्शन र अपेक्षित विद्यार्थीको स्वरूप स्पष्ट गर्ने : विद्यालय शिक्षा पूरा गर्दा विद्यार्थीले के जान्ने, कसरी सोच्ने, के गर्न सक्ने र कस्तो सामाजिक उत्तरदायित्व वहन गर्ने भन्ने साझा दृष्टि स्थापित गर्नुपर्छ । यही दृष्टि विषय छनोटदेखि मूल्याङ्कनसम्मको आधार बन्नुपर्छ ।
ख. विषयवस्तु र विषयभारको पुनरावलोकन गर्ने : प्रत्येक विषयवस्तुको शैक्षिक औचित्य, उमेरानुकूलता, जीवनसँगको सम्बन्ध र सिकाइ उपलब्धिमा योगदान परीक्षण गर्नुपर्छ । दोहोरिएका र कम उपयोगी सामग्री घटाई आधारभूत ज्ञान गहिराइमा सिक्ने समय दिनुपर्छ। विषय थप्ने निर्णयभन्दा आवश्यक ज्ञानलाई प्रभावकारी रूपमा सिकाउने निर्णयलाई प्राथमिकता दिनुपर्छ ।
ग. आधारभूत सिकाइ सुनिश्चित गर्ने : प्रारम्भिक कक्षामा पढाइ बुझ्ने, लेख्ने, गणना गर्ने र आधारभूत अवधारणा बुझ्ने क्षमतामा विशेष ध्यान दिनुपर्छ । अपेक्षित सिकाइ हासिल नगरेका विद्यार्थीका लागि समयमै पहिचान, थप अभ्यास र लक्षित सहयोगको व्यवस्था हुनुपर्छ । माथिल्ला कक्षामा नयाँ विषयवस्तु थप्दै जाँदा आधारभूत सिकाइको कमजोरी बेवास्ता गर्नु हुँदैन ।
घ. शिक्षण विधि र मूल्याङ्कनलाई एउटै उद्देश्यसँग जोड्ने : पाठ्यक्रमले जुन क्षमता विकास गर्न खोजेको हो, शिक्षणले त्यसको अभ्यास गराउनुपर्छ र मूल्याङ्कनले त्यसको प्रमाण खोज्नुपर्छ । लिखित परीक्षासँगै परियोजना, प्रयोगात्मक अभ्यास, प्रस्तुति र निरन्तर मूल्याङ्कनलाई विषयअनुसार व्यवस्थित गर्नुपर्छ । मूल्याङ्कनको नतिजा विद्यार्थीलाई वर्गीकरण गर्न मात्र होइन, शिक्षण सुधार्न प्रयोग हुनुपर्छ ।
ङ. शिक्षकको पेशागत क्षमता र शैक्षिक स्वायत्तता विकास गर्ने : शिक्षकलाई निष्क्रिय कार्यान्वयनकर्ता होइन, विद्यार्थीको सिकाइका जिम्मेवार पेसागत साझेदारका रूपमा स्थापित गर्नुपर्छ । तालिमलाई औपचारिक सहभागितामा सीमित नराखी कक्षाकोठाको अभ्यास, विषयगत ज्ञान, मूल्याङ्कन र प्रविधिको जिम्मेवार प्रयोगसँग जोड्नुपर्छ । शिक्षकलाई उपयुक्त शैक्षिक निर्णय लिन आवश्यक सहयोग र स्वायत्तता दिनुपर्छ ।
च. राष्ट्रिय साझा आधार र स्थानीय सान्दर्भिकताबिच सन्तुलन कायम गर्ने : राष्ट्रिय तहले साझा सिकाइ उपलब्धि र गुणस्तरको आधार सुनिश्चित गर्नुपर्छ । स्थानीय तह, विद्यालय, शिक्षक, विषयविज्ञ र समुदायको सहभागितामा स्थानीय भाषा, संस्कृति, भूगोल, पेसा र सम्भावनासँग सम्बन्धित शैक्षिक सामग्री विकास र प्रयोग गर्ने व्यवस्था हुनुपर्छ । त्यसका लागि स्थानीय पाठ्यक्रम र सामग्री निर्माण गर्ने क्षमता तथा स्रोत पनि उपलब्ध गराउनुपर्छ ।
छ. प्रमाणमा आधारित समीक्षा, परीक्षण र सुधारको व्यवस्था गर्ने : विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको अनुभव, विद्यालयको अवस्था र सामाजिक आवश्यकताबारे नियमित अध्ययन गर्नुपर्छ । महत्त्वपूर्ण परिवर्तनलाई विभिन्न भाषिक, भौगोलिक र सामाजिक परिवेशका नमुना विद्यालयमा परीक्षण गरी त्यसको प्रभाव मूल्याङ्कन गरेपछि मात्र व्यापक रूपमा लागु गर्नुपर्छ । कार्यान्वयनको जिम्मेवारी, समयसीमा, आवश्यक स्रोत र अनुगमनका सूचक सुरुमै स्पष्ट हुनुपर्छ ।
यी निर्णयलाई अलग–अलग कार्यक्रमका रूपमा होइन, एउटै सुधार प्रक्रियाका परस्पर सम्बन्धित अङ्गका रूपमा कार्यान्वयन गर्नुपर्छ । अन्यथा सुधारका उद्देश्य दस्ताबेजमा थपिए पनि विद्यालयको अभ्यास पुरानै रहन सक्छ ।
निष्कर्ष : पाठ्यक्रम परिवर्तनसँगै शिक्षाको सोच परिवर्तन
नेपालको विद्यालय पाठ्यक्रमको पुनर्विचारको अर्थ नयाँ विषय थप्नु, पाठ्यपुस्तकको आकार बढाउनु वा प्रविधिको प्रयोग अनिवार्य बनाउनु मात्र होइन । वास्तविक पुनर्विचार भनेको शिक्षाको उद्देश्य, ज्ञानको छनोट, विद्यार्थीप्रतिको दृष्टिकोण, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रणाली र कार्यान्वयन संरचनालाई एउटै शैक्षिक दर्शनमा जोड्नु हो ।
राम्रो पाठ्यक्रमले विद्यार्थीलाई के जान्ने भन्ने मात्र बताउँदैन; कसरी सोच्ने, ज्ञानलाई जीवनमा कसरी प्रयोग गर्ने र समाजका लागि कसरी जिम्मेवार योगदान दिने भन्ने क्षमता पनि विकास गर्छ । व्यक्तिको स्वतन्त्र विकास र राष्ट्रलाई आवश्यक जनशक्ति निर्माण परस्पर विरोधी उद्देश्य होइनन्। विवेकशील, सिर्जनशील, आत्मविश्वासी र उत्तरदायी नागरिकको विकास नै दिगो राष्ट्रिय क्षमताको आधार हो ।
पाठ्यक्रमको सफलता त्यसमा कति विषय समावेश गरियो वा कति पृष्ठको पाठ्यपुस्तक तयार भयो भन्नेबाट मापन हुनु हुँदैन । विद्यार्थीले प्राप्त गरेको ज्ञान, विकसित गरेको चिन्तन, प्रयोग गर्न सक्ने सीप, निर्माण गरेको आत्मविश्वास र समाजप्रतिको जिम्मेवारीबाट मापन हुनुपर्छ ।
त्यसैले नेपालको विद्यालय पाठ्यक्रमको पुनर्विचारलाई शैक्षिक दस्ताबेज संशोधनको सीमित कामका रूपमा होइन, भावी पुस्ताको ज्ञान, व्यक्तित्व र राष्ट्रिय क्षमता निर्माण गर्ने दीर्घकालीन प्रक्रियाका रूपमा लिनुपर्छ । मूल प्रश्न विषयवस्तु कति थप्ने भन्ने होइन–विद्यालयबाट बाहिरिँदा विद्यार्थी कति जान्ने, कति सोच्न सक्ने, कति गर्न सक्ने र समाजमा कति अर्थपूर्ण योगदान दिन सक्ने बन्यो भन्ने हो ।
(लेखक सुदर्शन मरहठ्ठा नेपाल सरकारका पूर्व सहसचिव हुन्)



