शिक्षकलाई चन्द्रकान्त भण्डारीको आग्रह : सामाजिक सञ्जालमा अभद्र भाषा नबोलौँ

काठमाडौँ /२१ कार्तिक – नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले शिक्षकहरुले सामाजिक सञ्जालमा बहस तथा तर्क गर्दा अभद्र शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले असहमति राखौँ, प्रश्न गरौँ, तर्क गरौँ तर अभद्र शब्दले पनि सभ्यता, भद्रता र विनम्रता खोजेको उल्लेख गर्दै शिक्षकले असहमतिलाई सभ्य, शिष्ट र मर्यादित भाषामा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।


उनले आफू २०३३/३४ सालतिर शिक्षक हुँदा विद्यालयमा १५० जना विद्यार्थी रहेको स्मरण गर्दै प्रविधिको विकाससँगै अहिले सामाजिक सञ्जालमा आफू विद्यार्थी बनेको र लाखौँ शिक्षक पाएको बताएका छन् ।


भण्डारीले लेखेका छन्, “ हुन त मूर्खताको औषधि त हुँदैन तथापि मेरा आदरणीय सरहरूलाई एउटा आग्रह छ— असहमति राखौँ, प्रश्न गरौँ, तर्क गरौँ । तर अभद्र शब्दले पनि सभ्यता, भद्रता र विनम्रता खोजेको हुन्छ ।”


सामाजिक सञ्जालमा व्यक्त गरिने विचार र भाषाले व्यक्तिको संस्कार तथा व्यक्तित्वसमेत झल्काउने भएकाले बहसलाई मर्यादित बनाउनुपर्ने बताउँदै भनेका छन् “शिक्षकको पहिचान प्रयोग हुने शब्द ,संस्कार, विचार र व्यवहारले बनाउँछ ।”