काठमाडौं /४ असोज – शिक्षामार्फत शान्तिपूर्ण समाज निर्माण गर्न सबै पक्ष सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति शिक्षा सञ्जाल नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले शान्ति र द्वन्द्व व्यवस्थापनसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा सञ्जालकी उपाध्यक्ष सानु अमात्यले शान्तिलाई केन्द्रमा राखेर समाज रूपान्तरणका लागि सबैले साझा प्रयास गर्नुपर्ने बताइन् । सन् २०१० मा स्थापना भएको सञ्जालले शिक्षामार्फत शान्त समाज निर्माणलाई प्रमुख लक्ष्य बनाएको जानकारी दिइन् ।
सञ्जालकी कोषाध्यक्ष सङ्गीता हमालले विद्यार्थीको पढाइमा निरन्तरता होस् भन्ने उद्देश्यले पाँच विद्यालयका ३४ विद्यार्थीलाई आर्थिक सहयोग गरिएको बताइन् । विद्यालयमा हुने हिंसा न्यूनीकरण, नैतिक तथा संस्कारयुक्त शिक्षा प्रवद्र्धन र गुणस्तरीय शिक्षाका लागि २० जना शिक्षकलाई तालिम दिइएको उनले जानकारी दिइन् ।
सञ्जालले सिस्नेरी मावि लामाटार, मुक्ति विनायक मावि भोलाहिटी, सरस्वती मावि थेचोँ, सर्वेश्वर आधारभूत विद्यालय भक्तपुर र विष्णुदेवी मावि काठमाडौंका विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा शान्ति निर्माण तथा द्वन्द्व व्यवस्थापनमा योगदान पु¥याएका प्रा. डा. विष्णुराज उप्रेतीलाई ‘शान्ति शिक्षा सम्मान–२०२६’ प्रदान गरिएको थियो । नेपालको दशवर्षे सशस्त्र द्वन्द्वदेखि राज्यका विभिन्न निकायमा रहेर द्वन्द्व विज्ञका रूपमा उप्रेतीले योगदान दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका महानिरीक्षक एआईजी दानबहादुर कार्कीले शान्ति घरबाट सुरु हुने, विद्यालयबाट हुर्कने र समाजमा फैलिने बताए । विद्यालयको पाठ्यक्रममै शान्ति, द्वन्द्व व्यवस्थापन, सम्मान र अपराधसम्बन्धी विषय समावेश गरी बालबालिकालाई सचेत गराउनुपर्ने उनको भनाइ थियो ।
बालबालिकालाई विद्यालय जान लगाउन ‘प्रहरी बोलाउँछु’ भन्दै प्रहरीप्रति डर सिर्जना गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै कार्कीले अभिभावकलाई यस्तो नगर्न आग्रह गरे । विद्यालय तहदेखि नै शान्ति र द्वन्द्वका विषयमा शिक्षा दिन सके शान्तिपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई थियो ।




