काठमाडौं /२३ भदौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री पोखरेलसहितको टोलीले आज नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेको हो ।
भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।
अनुगमन टोलीमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो ।
भ्रमण कार्यतालिका अनुसार अनुगमन कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ, विदुरबाट सुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारी क्षेत्रबाट बाढी प्रभावित स्थानको अवलोकन गरिएको थियो ।
टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो ।

कार्यतालिका अनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको समेत अनुगमन गकिएको थियो ।
भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिइएको थियो । प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा समेत सरोकारवालासँग छलफल गरिएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए । सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।



