खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीबाट बाढीपीडितका लागि १६,५७८ रकम सहयोग

तनहुँ/१६ भदौ – रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीहरूले १६ हजार ५ सय ७८ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।


विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको सक्रियतामा सङ्कलित उक्त रकम जुटाउन बाल क्लब संयोजक शिक्षक सावित्री गिरी र जुनियर रेडक्रस सर्कल संयोजक शिक्षक गिरिराज अर्यालले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।


सहयोग सङ्कलनका क्रममा विद्यार्थीहरूले आफूले खाजा खान ल्याएको रकमबाट केही पैसा छुट्याएर सहयोग गरेका थिए । कक्षा ४ का छात्र रिशन श्रेष्ठले आफ्नो खुतुर्के फुटाएर ५०५ सहयोग गरेका छन् । सानै उमेरमा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उनको भावनाले अन्य विद्यार्थीलाई समेत प्रेरणा दिएको छ ।


विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे, सहायक प्रधानाध्यापक भीमप्रसाद वाग्ले तथा आधारभूत तह संयोजक दीपक भण्डारीले विद्यार्थीहरूको यस मानवीय तथा सामाजिक सेवाभावको प्रशंसा गर्दै विपद्का बेला सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताएका छन् ।


विद्यालयका विद्यार्थीहरूको सहभागितामा सङ्कलित १६,५७८ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूको यस कार्यले सानै उमेरदेखि सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।