प्रारम्भिक बाल विकास तथा शिक्षाको अवस्था,  पाठ्यक्रम, समस्या र प्रभावकारी कार्यान्वयनका उपायहरु

काठमाडौँ /१४ भदौ-प्रारम्भिक बाल विकास तथा शिक्षा विद्यालय शिक्षाको आधारभूत स्तम्भको रूपमा रहेको छ, जसको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत तथा कानुनी व्यवस्था, पाठ्यक्रमको संरचना, सिकाइ प्रक्रिया र कार्यान्वयन वातावरणले महत्त्वपूर्ण भूमिका खेल्दछ। गर्भावस्थादेखि ८ वर्षसम्मको अवधि मानव मस्तिष्कको विकासको सबैभन्दा महत्त्वपूर्ण चरण भएकाले यस अवधिमा गरिने लगानीले जीवनपर्यन्त प्रभाव पार्ने तथ्यलाई विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्। नेपालको सन्दर्भमा राष्ट्रिय शिक्षा नीति, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति तथा प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रमले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक,  सांस्कृतिक, बौद्धिक र भाषिक विकासका साथै आधारभूत तथा विषयगत सिपलाई एकीकृत रूपमा समेट्न खोजेको छ। तथापि, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अनुसन्धानको प्रतिवेदन २०८० अनुसार कक्षा १ भर्ना भएका बालबालिकाहरुमध्ये ४९.१% बालबालिका मात्र कक्षा १ का लागि पूर्ण रूपमा तयार (On Track) देखिएका छन्, जसले विद्यालय तयारीमा रहेको खाडललाई स्पष्ट पार्दछ।

जीवनको प्रारम्भिक वर्षहरूमा प्रदान गरिने शिक्षा र अनुभवहरूले बालबालिकाको भाषिक, संज्ञानात्मक, सामाजिक, संवेगात्मक र शारीरिक विकासमा दीर्घकालीन प्रभाव पार्ने हुँदा नेपालको शैक्षिक प्रणालीले प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको आधारभूत पूर्वाधारका रूपमा स्वीकार गरेको छ।राष्ट्रिय पाठ्यक्रम प्रारुपअनुरुप पाठ्यक्रम विकास केन्द्रबाट विकास गरिएको प्रारम्भिक बाल विकास तथा शिक्षाको  पाठ्यक्रम २०७७ स्वीकृत गरी लागू गरिएकोमा यसलाई समसामयिक बनाउने उद्देश्यले २०८२ मा अद्यावधिक तथा परिमार्जन गरिएको छ, जसले एकीकृत सिकाइ, बाल-केन्द्रित, खेल-आधारित र समावेशी शिक्षालाई प्राथमिकता दिएको छ। प्रारम्भिक बाल विकास केन्द्रमा बालबालिकाको सर्वाङ्गीण विकास गरी कक्षा १ को लागि तयारी बनाउन सकिएमा विद्यालय शिक्षाका अन्य कक्षा र तहमा पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता र सिकाइ उपलब्धिहरू सहज रूपमा प्राप्त गराउन सकिन्छ । यसकोलागि नेपालको संविधान, शिक्षा नीति, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, आवधिक योजना, शिक्षासम्बन्धी ऐनकानुन र प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीतिले जोड दिएको पनि छ ।

नेपालको संविधान, राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुसार सबै बालबालिकालाई प्रारम्भिक बालविकाससम्बन्धी सेवाहरू सहज उपलब्ध गराई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ। स्नायु विज्ञानसम्बन्धी अनुसन्धानले जीवनको सुरुवाती वर्षमा मस्तिष्कको विकास सबैभन्दा तीव्र गतिमा हुने देखाएको छ, जहाँ तीन वर्षको उमेरमा शिशुको मस्तिष्क वयस्कको तुलनामा दुई गुणा बढी क्रियाशील हुन्छ र न्यूरोनहरूले प्रति सेकेन्ड ७०० देखि १००० नयाँ सम्पर्क स्थापित गरिरहेका हुन्छन्। यसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य, जीवनभरिको सिकाइ, परिवर्तन अनुकूलन क्षमता र मनोवैज्ञानिक प्रतिरोध क्षमता निर्धारण गर्दछ। हेकम्यानको अध्ययनअनुसार पोषिलो खाना, शारीरिक स्वस्थता र व्यायाम प्रारम्भिक बालविकास उमेरमा मस्तिष्क विकासका लागि अत्यावश्यक हुन्छन्, र यस उमेरमा पाइने सकारात्मक वातावरणले बालबालिकाको स्वास्थ्य, भविष्यको पढाइ, रोजगारीको अवसर र उत्पादनशीलतामा वृद्धि गरी समग्र विकासमा योगदान पुर्याउँछ।तसर्थ, प्रारम्भिक उमेरमा बालबालिकाको समग्र विकासका लागि पर्याप्त लगानीको आवश्यक छ, जसले विशेष गरी विषम परिस्थितिमा रहेका तथा विशेष संरक्षण आवश्यकता भएका बालबालिकाका लागि रेखदेख, स्वास्थ्य, पोषण र प्रोत्साहनको महत्त्वलाई उजागर गर्दछ।

नेपालको प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रम २०७७ (परिमार्जित २०८२)

सक्षमता

शिक्षा ऐनको आठौं संशोधनअनुसार प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम बालबालिकाको उमेरगत विकासात्मक पक्षलाई ध्यान दिई सर्वाङ्गीण बालविकास तथा एकीकृत सिद्घान्तअनुसार विकास गरिएको छ । यस तहमा बालबालिकाले आफ्नो मातृभाषामा सिक्ने अवसरमा जोड दिइएको छ । बालबालिकाको सर्वाङ्गीण विकास गर्दै उनीहरूलाई सिकाइमा प्रेरित गरी सिकाइका लागि आधारशिला खडा गर्ने प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमको लक्ष्य राखिएको छ । विविध किसिमका मनोरञ्जनात्मक सिकाइ सहजीकरण क्रियाकलापको माध्यमद्वारा बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउनु र एकीकृत सिकाइ विधिको माध्यमबाट सिकाइमा प्रेरित गरी कक्षा १ मा प्रवेशका लागि तयार पार्नु पाठ्यक्रमका प्रमुख उद्देश्यको रुपमा राखिएका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ तथा प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रम २०७७ (परिमार्जित २०८२) ले प्रारम्भिक बाल विकास तथा शिक्षाका निम्न सक्षमता र संरचना उल्लेख गरेको छ :

प्रारम्भिक बालविकास र शिक्षाको अन्त्यमा बालबालिकाले निम्नानुसार सक्षमताहरू हासिल गर्ने छन् :

१. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता

२. पोषणयुक्त खाना र स्वस्थकर बानी विकास

३. वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन

४. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन

५. सिर्जनात्मक सोचको विकास

६. भाषिक तथा सञ्चार सिपको विकास

पाठ्यक्रमको संरचनाः राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रमको संरचना निम्नानुसार रहेको छः

क्र.स.सिपका क्षेत्रहरुसिपहरुवार्षिक समय  (कार्यघण्टा)
आधारभूत सिप सिकाइका क्षेत्रहरु  (क) शारीरिक सिप (ख) संवेगात्मक सिप (ग) सामाजिक, सांस्कृतिक र नैतिक सिप (घ) बौद्धिक तथा मानसिक सिप (ङ) स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सिप (च) सिर्जनात्मक सिप३८४  
विषयगत सिप सिकाइका क्षेत्रहरु क) भाषिक सिप (ख) पूर्वगणितीय सिप (ग) दृश्यकला, कार्यतरिका र सिर्जनशीलता (घ) वरपरको वातावरण (ङ) सामाजिक सिप१९२
जम्मा५७६

उपर्युक्त तालिकाबाहेक स्थानीय विषयवस्तुअन्तर्गत स्थानीय तहमा प्रचलित मनोरञ्जनात्मक क्रियाकलाप, खेल, बालगीत, विभिन्न कथा, चालचलनको भूमिका अभिनय र आरामका अभ्यास वा अन्य स्थानीय विशिष्ट अभ्यास, प्रचलन वा रोचक प्रसङ्गलगायतका विषयक्षेत्र समेटी कम्तीमा दैनिक एक घण्टाका दरले वर्षभरिमा २५६ घण्टासम्म वार्षिक समय थप हुनेछ । विषयगत सिकाइका क्षेत्रहरूअन्तर्गतका विषयवस्तुको सिकाइ क्रियाकलाप अलग्गै विषयका रूपमा नभई आधारभूत सिपका क्षेत्रसँग एकीकृत रूपमा सञ्चालन गर्नुपर्नेछ । सक्षमतामा आधारित यस पाठ्यक्रमको वार्षिक कार्यघण्टा ८३२ रहेको छ । ८३२ कार्यघण्टा भनेको विद्यालय खुल्ने समय प्रतिदिन सुरुआती क्रियाकलापसहित ४ घण्टा ३० मिनेट र जम्मा १९२ दिन हो ।

प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रममा सिप सिकाइका क्षेत्र र सिप, सिकाइ उपलब्धि र विषयवस्तु

() आधारभूत सिप सिकाइका क्षेत्र, सिप र सिकाइ उपलब्धि

आधारभूत सिपसिकाइका क्षेत्रमुख्य सिकाइ उपलब्धि
अ. शारीरिक सिपशरीरका स्थूल अङ्गहरुको तन्तुरुस्ती समन्वय र संयोजनशरीरका स्थूल अङ्गहरुको तन्तुरुस्ती समन्वय र संयोजन गर्न
सूक्ष्म मांसपेशीय अङ्गहरुको समन्वय र सञ्चालनसूक्ष्म मांसपेशीय अङ्गहरुको समन्वय र सञ्चालन गर्न
आँखा र हातको समन्वयआँखा र हातको समन्वय गरी प्रतिक्रिया प्रतिक्रिया व्यक्त गर्न
इन्द्रीय अङ्गहरुको प्रयोगइन्द्रीय अङ्गहरुको प्रयोग गर्न
शारीरिक सक्रियताविभिन्न क्रियाकलापमा सक्रिय रुपमा सहभागी हुन
आ. संवेगात्मक सिपस्वधारणाआफ्ना संवेग तथा भावनालाई उचित प्रतिक्रिया दिन
संवेग पहिचान र प्रकटआफ्ना संवेग सन्तुलित रुपमा प्रयोग गर्न
संवेगात्मक सुरक्षा तथा आत्मविश्वाससंवेगात्मक सुरक्षा तथा आत्म विश्वास विकास गर्न
संवेग सन्तुलनदैनिक कार्य व्यवहारमा संवेगलाई सन्तुलन गर्न
सहयोग र सहकार्यसमूहमा मिलेर सहयोग लिन र दिन
इ. सामाजिक, सांस्कृतिक र नैतिक सिपअसल व्यवहारअसल व्यवहारसहित सञ्चार गर्न
जीवनोपयोगी सिपआफ्ना दैनिक कार्यसम्पादन गर्न
सामाजिक व्यवहारसबैको भाषा, संस्कृति र चालचलनलाई सम्मान गर्न
नेतृत्वनेतृत्वको सम्मान गर्न र अग्रसर हुन
ई. बौद्धिक तथा मानसिक सिपबौद्धिक सिप तथा सिकाइ प्रक्रियाबौद्धिक सिप हासिल गर्न र सिकाइ प्रक्रियामा सामेल हुन
वर्गीकरण तथा क्रम मिलानवस्तु तथा आकारको वर्गीकरण गर्न तथा क्रम मिलाउन
तर्कपूर्ण सोचाइकुराकानी र छलफलका क्रममा आफ्ना तर्क राख्न
कल्पना शक्तिकाल्पनिक रुपमा आफ्ना विचार व्यक्त गर्न
उ. स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सिपमानव शरीरशरीरका अङ्गको पहिचान र अवस्था बारेमा जानकारी लिन
स्वास्थ्यस्वस्थकर बानीको विकास गर्न
व्यक्तिगत सुरक्षाव्यक्तिगत सुरक्षाका उपायहरु बताउन र अपनाउन
पोषणको पहिचान र प्रयोगखानाका प्रकारहरु पहिचान गर्न र पोषिलो खाना खान
व्यक्तिगत तथा वातावरणीय सरसफाइव्यक्तिगत तथा वातावरणीय सरसफाइमा सरिक हुन
ऊ. सिर्जनात्मक सिपचित्र तथा ढाँचाविभिन्न चित्र र ढाँचाको वर्णन गर्न तथा निर्माण गरी रङ भर्न
हस्तकलाविभिन्न आकृति निर्माण र वर्णन गर्न
अभिनयअभिनय कला प्रदर्शन गर्न
जम्मा२६  

विषयगत सिप सिकाइका क्षेत्र, सिप र सिकाइ उपलब्धि

विषयगत सिपसिकाइका क्षेत्रमुख्य सिकाइ उपलब्धि
अ. भाषिक सिपसुनाइ र एकाग्रताविभिन्न वर्ण, शब्द तथा सन्दर्भ सुन्न र प्रतिक्रिया दिन
भाषिक सञ्चारकुराकानी तथा छलफलमा सहभागी भई सूचना लिन र दिन
पूर्व पढाइ सिपविभिन्न चित्र, ढाँचा, वर्ण र शब्द चिन्न र भन्न
शब्द र वाक्यको उच्चारणशब्द र वाक्यको उच्चारण गर्न
पूर्व साक्षरता र छापा सचेतनामुद्रित सामग्रीको सुरक्षा र उपयोग गर्न
पूर्व लेखन अभ्यासविभिन्न आकृति, ढाँचा, वर्ण चिन्न र अनुलेखन गर्न
आ. पूर्व गणितीय सिपस्थानगत धारणास्थानका आधारमा वस्तुहरुलाई छुट्याउन
नाप र क्रमनाप र समय पत्ता लगाई क्रममा राख्न
ज्यामितीय आकारदुई आयामिक ज्यामितीय आकार चिन्न र बताउन
सङ्ख्याको ज्ञानबत्तिससम्मका सङ्ख्याको अवधारणा विकास गर्न
वर्गीकरणगुणका आधारमा वस्तुहरुलाई वर्गीकरण गर्न र समूह बनाउन
इ. दृश्यकला, कार्यतरिका र सिर्जनशीलताचित्र निर्माणविभिन्न आकृतिका चित्र निर्माण गर्न
माटो तथा पिठोको काममाटो तथा पिठोबाट विभिन्न आकृति निर्माण गर्न
रङको प्रयोगविभिन्न आकृति तथा वस्तुमा रङ लगाउन र पेन्टिङ गर्न
च्याताइ, कटाइ र टसाइकुनै वस्तु च्याती, काटी र टाँसी नयाँ ढाँचा निर्माण गर्न
सङ्गीत सुनाइसङ्गीत सुनेर मनोरञ्जन लिन
गायनगीत तथा सङ्गीत सुनेर गायनको अभ्यास गर्न
नाचगीत तथा सङ्गीतको तालमा नाच्न
ई. वरपरको वातावरणसजीव र निर्जीव वस्तुहरुप्राण भएका र नभएका वस्तु चिन्न र बताउन
बिरुवाबिरुवाको अवलोकन गर्न र मानिससँगको सम्बन्ध बताउन
जनावर र पन्छीजनावर र पन्छी चिन्न र बताउन
वस्तुवस्तुहरु चिन्न र गुण बताउन
पानीपानीको स्रोत र महत्व बताउन
वातावरणवरपरका वातावरणीय अवस्था बताउन
मौसममौसमको अवलोकन गर्न र अवस्था बताउन
औजार मेसिनदैनिक प्रयोगमा आउने औजार र मेसनका बारेमा बताउन
यातायात र सञ्चारयातायात र सञ्चारका साधनको नाम र प्रयोग बताउन  
उ. सामाजिक सिपघरपरिवारघरपरिवारसम्बन्धी सामान्य जानकारी दिन
समुदायआफ्नो समुदायको बारेमा बताउन
संस्कृतिआफ्नो र अरुको संस्कृतिको जानकारी लिन र सहभागी हुन
राष्ट्र र राष्ट्रियताआफ्नो देशप्रति गर्व गर्न
जम्मा३१  

 विषयवस्तुको क्षेत्र र क्रम तथा अनुमानित कार्य दिन

क्र.स.विषय क्षेत्रउपक्षेत्रआधारभूत सिप सिकाइका क्षेत्रविषयगत सिप सिकाइका क्षेत्रअनुमानित दिन
प्रारम्भिक कक्षा
म मेरो परिवार र साथी१ म र मेरो शरीरसबै (६ ओटैमा)सबै (५ ओटैमा)
२ म र मेरो साथीसबै (६ ओटैमा)सबै (५ ओटैमा)
३ म र मेरो परिवारसबै (६ ओटैमा)सबै (५ ओटैमा)
मेरो ठाउँ१ मेरो विद्यालयसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
२ घरसबै (६ ओटैमा)सबै (५ ओटैमा)
३ भौगोलिक परिवेशसबै (६ ओटैमा)सबै (५ ओटैमा)१२
४ पेसा र व्यवसायसबै (६ ओटैमा)सबै (५ ओटैमा)
समय१ घडीसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
२ बार र महिनासिर्जनात्मक सिपबाहेकसामाजिक सिप र दृश्यकला, कार्यतरिका तथा सिर्जनशीलताबाहेक
३ मौसमसबै (६ ओटैमा)सबै (५ ओटैमा)
हाम्रो संस्कृति१ चाडपर्वसबै (६ ओटैमा)सबै (५ ओटैमा)
२ स्थानीय बाजाहरुसबै (६ ओटैमा)सबै (५ ओटैमा)
३ हाम्रो खानासिर्जनात्मक सिपबाहेकसबै (५ ओटैमा)
४ हाम्रो वेषभूषासबै (६ ओटैमा)सबै (५ ओटैमा)
 यातायात र सञ्चार१ यातायातका साधनसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
२ सञ्चार र प्रविधिसबै (६ ओटैमा)सबै (५ ओटैमा)
३ ट्राफिक नियमस्वास्थ्य, पोषण, सुरक्षा र वातावरण तथा सिर्जनात्मक सिपबाहेकपूर्व गणितीय र सामाजिक सिपबाहेक
वातावरण१ बोटबिरुवासबै (६ ओटैमा)सामाजिक सिपबाहेक१५
२ औजार र मेसिनसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
३ जनावरसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
४ चराचुरङ्गीसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
५ किराफट्याङ्ग्रासबै (६ ओटैमा)सामाजिक सिपबाहेक
६ पानीसबै (६ ओटैमा)सामाजिक सिपबाहेक
७ वस्तु र पदार्थसबै (६ ओटैमा)सामाजिक सिप र दृश्यकला, कार्यतरिका तथा सिर्जनशीलताबाहेक
हाम्रो पहिचान१ भाषासबै (६ ओटैमा)वरपरको वातावरणबाहेक
२ मुद्रासबै (६ ओटैमा)वरपरको वातावरण, सामाजिक सिप र दृश्यकला, कार्यतरिका तथा सिर्जनशीलताबाहेक
३ राष्ट्रिय गान  स्वास्थ्य, पोषण, सुरक्षा र वातावरणबाहेकवरपरको वातावरण, पूर्वगणितीय सिप र दृश्यकला कार्यतरिकार र सिर्जनशीलताबाहेक
४ राष्ट्रिय चिह्न र झण्डासामाजिक, सांस्कृतिक र नैतिक सिप र स्वास्थ्य, पोषण, सुरक्षा र वातावरणसिपबाहेकवरपरको वातावरण, पूर्वगणितीय सिप र दृश्यकला, कार्यतरिका र सिर्जनशीलताबाहेक
जम्मा२८  १९२

वर्तमान प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रमका सबल पक्षहरु

  • सक्षमतामा आधारित पाठ्यक्रमः  विषयवस्तुको आधारभूत जानकारी, आधारभूत र विषयगत सिप विकास, सिकेका अनुभवहरुको व्यवहारमा प्रयोग, विषयवस्तुको उपयोग र महत्वबोध तथा रुपान्तरित सिकाइलाई समेटेर सक्षमतामा आधारित सिकाइ हुने गरी सक्षमता र एकीकृत सिकाइमा सिद्धान्तको आधारमा पाठ्यक्रम विकास गरिएको छ ।
  • समय व्यवस्थापनः पाठ्यक्रमले दैनिक रुपमा विद्यालयमा गरिने सुरुवाती क्रियाकलापसहित समय ४ घण्टा ३० मिनेट निर्धारण गरेको छ । यसले आधारभूत सिप सिकाइका लागि ३८४ घण्टा र विषयगत सिप सिकाइका लागि १९२ घण्टा तथा दैनिक कम्तिमा १ घण्टाको लागि आराम, खेलकुद, मनोरञ्जनात्मक क्रियाकलाप गरी वर्षभरिमा यसको लागि २५६ घण्टा गरी वार्षिक ८३२ कार्यघण्टा र वार्षिक १९२ दिन समय निर्धारण गरेको छ ।
  • सिप सिकाइका क्षेत्र र उपलब्धिको व्यवस्थापनः पाठ्यक्रमले प्रारम्भिक बाल विकास तथा शिक्षामा आधारभूत सिप सिकाइका लागि ६ ओटा क्षेत्रहरुः (क) शारीरिक सिप (ख) संवेगात्मक सिप  (ग) सामाजिक, सांस्कृतिक र नैतिक सिप (घ) बौद्धिक तथा मानसिक सिप (ङ) स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सिप (च) सिर्जनात्मक सिप निर्धारण गरेको छ । त्यसै गरी विषयगत सिप सिकाइका लागि ५ ओटा क्षेत्रहरुः (क) भाषिक सिप (ख) पूर्वगणितीय सिप (ग) दृश्यकला, कार्यतरिका र सिर्जनशीलता (घ) वरपरको वातावरण र (ङ) सामाजिक सिप निर्धारण गरेको छ । पाठ्यक्रमले आधारभूत सिप सिकाइसँग २६ ओटा मुख्य सिकाइ उपलब्धि र विषयगत सिप सिकाइसँग सम्बन्धित ३१ ओटा सिकाइ उपलब्धि निर्धारण गरेको छ ।
  • एकीकृत सिकाइ विधिः यस पाठ्यक्रमले एकीकृत सिकाइ हुने गरी आठओटा मुख्य विषयक्षेत्र र २८ ओटा उपक्षेत्र  वा पाठमा आधारभूत सिकाइ र विषयगत सिप सिकाइका क्षेत्रलाई समेट्ने गरी एकीकृत सिकाइ सहजीकरण गर्ने गरी विषयवस्तुको क्षेत्र र क्रम निर्धारण गरेको छ ।
  • बालमैत्री शिक्षण विधिः  पाठ्यक्रमले बालमैत्री शिक्षण विधिलाई प्राथमिकता दिएको छ। यसले क्रियाकलापमा आधारित र खोजमूलक सिकाइलाई प्रोत्साहित गर्दछ । पाठ्यक्रमले खेल, कथा, चित्रकथा, गीत, अभिनय, नाटक, प्रयोगात्मक तथा परियोजना कार्य, सङ्गीत, चित्रकला आदि माध्यमबाट सिकाइ गराउने पक्षलाई प्राथमिकता दिएको छ। यसले रटाइभन्दा पनि अनुभव र अभ्यासमार्फत सिक्ने वातावरणको परिकल्पना गरेको छ ।
  • औपचारिक र निरन्तर मूल्याङ्कन प्रणाली: पाठ्यक्रमले निरन्तर मूल्याङ्कन प्रणालीको अवधारणा अघि सारेको छ। यसअन्तर्गत बालबालिकाको प्रगतिको नियमित अवलोकन, अभिलेखीकरण र प्रतिक्रिया प्रणालीलाई जोड दिइएको छ । यसले अनौपचारिक मूल्याङ्कन र सिकाइ सहजीकरण क्रियाकलापको अभिन्न अङ्गको रुपमा मूल्याङ्कनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । मूल्याङ्कनलाई व्यवस्थित र सरलीकरण गर्नकालागि  विकासका क्षेत्र,  सिपका क्षेत्रहरु, विशिष्ट पक्षहरु, मानक र सूचक तथा सिकाइको स्तरलाई विशिष्टीकृत गरिएको छ ।

नेपालमा प्रारम्भिक बाल विकास केन्द्र, पाठ्यक्रम कार्यान्वयन, विद्यार्थीको विद्यालय तयारीको अवस्था र समस्या

प्रारम्भिक बाल विकास केन्द्रको अवस्था, पाठ्यक्रम कार्यान्वयनको अवस्था, विद्यार्थीको विद्यालयको तयारीको अवस्था तथा यस क्षेत्रमा देखा परेका समस्याको लागि प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम, तालिमको अनुभव र शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कक्षा १ को लागि विद्यार्थी कत्तिको तयार रहेछ भनी गरिएको अनुसन्धान प्रतिवेदन २०२४ लाई आधारमा मानी निम्नानुसार उल्लेख गरिएको छ ।

  • एकीकृत सिकाइ विधिः वर्तमान प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रमले एकीकृत सिकाइ विधिमा जोड दिएको छ र यसको लागि आठओटा मुख्य विषय क्षेत्र र ५७ ओटा उपक्षेत्रको माध्यमबाट आधारभूत र विषयगत सिपहरु विकास गर्न खोजिएको छ तर यसको लागि एकीकृत सिकाइ सहजीकरण गर्ने क्रियाकलापहरु समावेश गर्न नसक्दा कार्यान्वयनमा जटिलता देखिने सम्भावना छ ।
  • पाठ्यक्रम कार्यान्वयनको अवस्थाः पाठ्यक्रम सिकाइको मेरुदण्ड हो र पाठ्यक्रममा आधारित सिकाइ क्रियाकलाप गराउनुपर्छ भन्ने मान्यता विश्वव्यापी अवधारणा हो । अनुसन्धानले के देखाएको छ भने सिकाइ क्रियाकलाप र योजना निर्माणको क्रममा प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रमको प्रयोग गर्ने बाल विकास केन्द्र 47.9% रहेका छन् भने 33% बाल विकास केन्द्रले प्रारम्भिक सिकाइ तथा विकास स्तर मापदण्डलाई कक्षाकोठामा प्रयोग गर्ने गरेका छन् (ERO, 2024) ।यसले पाठ्यक्रममा आधारित सिकाइको मर्मलाई कार्यान्वयन गर्न नसकेको देखिन्छ ।
  • विद्यार्थीको विद्यालय तयारीको अवस्थाः सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थी कत्तिको कक्षा १ मा तयारी भएर आएका रहेछन् भनी गरिएको अनुसन्धानले शारीरिक, संज्ञानात्मक, भाषिक र सामाजिक तथा संवेगात्मक विकासको दृष्टिले विद्यार्थीको विद्यालय तयारी (School Readiness) को अवस्था हेर्दा 49.1%  विद्यार्थी कक्षा १ को लागि तयार अवस्था (on track) मा रहेका, 45.3% विद्यार्थी प्रगतिशील अवस्था (Progressing) मा रहेका र 5.6% विद्यार्थी संघर्षशील (Struggling) अवस्थामा रहेका छन्  (Education Review Office, 2024) । यो तथ्याङ्कले के देखाउँछ भने कक्षा १ को लागि जुन रुपमा विद्यार्थी तयारी भएर आउनुपर्थ्यो त्यो नहुँदा कक्षा १ को पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता र सिकाइ उपलब्धि हासिल गराउन कठिन देखिन्छ जसले दीर्घकालीन रुपमा माथिल्लो कक्षाको सिकाइलाई अवरोध सिर्जना गर्दछ ।
  • तालिमः प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत शिक्षकको पेसागत विकासको लागि टिपिडीको ढाँचामा क्षमता विकासका कार्यक्रमहरु शिक्षा विभाग, शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा गैरसरकारी संघ संस्थाहरुबाट भइरहेको छ । यी तालिमहरुले बाल विकास सहजकर्तालाई सहजीकरणमा केही हदसम्म सहयोग गरेको देखिएतापनि प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम र मापदण्डबमोजिमको व्यावहारिक र प्रयोगात्मक तालिमको अभाव देखिएको छ र सेवाकालीन तालिमको प्रभाव कम देखिन्छ (ERO, 2024) ।
  • सर्वाङ्गीन विकासः बालबालिकाहरुको शारीरिक, बौद्धिक, सामाजिक, भाषिक तथा संवेगात्मक र नैतिक पक्षको विकासको लागि खेल विधि, बालकेन्द्रित सिकाइ विधि र तरिकाबाट सिकाइ सहजीकरण क्रियाकलाप गराउनुपर्ने मान्यता छ । यसको विपरित प्राज्ञिक ज्ञान र सिप तथा गृहकार्यमा बाल विकास केन्द्रले जोड दिएको देखिन्छ र अभिभावकले समेत यसलाई प्राथमिकतामा राखेको देखिन्छ जुन प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास स्तर मापदण्ड (Early Learning and Development Standard-ELDS) को विरुद्धमा छ (ERO, 2024) ।
  • बाल विकास केन्द्रका सहजकर्ताको योग्यताः विश्वका धेरै जसो मुलुकमा बाल विकास केन्द्रमा सहजीकरण गर्ने सहजकर्ताको लागि न्यूनतम योग्यता स्नातक राखेको पाइन्छ । नेपालमा अझै पनि यसको योग्यता कक्षा १० मात्र रहेको छ । अनुसन्धानले समेत कक्षा १० मात्र योग्यता भएका सहजकर्ताले भन्दा कक्षा १२ र सो भन्दा बढी योग्यता भएका सहजकर्ताले सहजीकरण गरेको विद्यालयको सर्वाङ्गीण विकास (शारीरिक, संज्ञानात्मक, भाषिक, सामाजिक तथा संवेगात्मक) को अवस्था राम्रो देखाएको छ (ERO, 2024) ।
  • नीति अस्पष्टताः शिक्षा ऐन २०२८ को आठौं संशोधनले ४ वर्ष पूरा गरेका बालबालिकाको लागि १ वर्षे प्रारम्भिक बाल शिक्षा प्रदान गर्ने कुरा उल्लेख गरेको छ । त्यसैगरी शिक्षा नियमावली २०५९ ले ४ वर्ष पूरा नभएका बालबालिकाहरुलाई शारीरिक, मानसिक वा बौद्धिक शिक्षा दिनको लागि शिशु विकास केन्द्र खोल्न सकिने प्रावधान राखेको छ । ERO Report, 2024 मा गरिएको अनुसन्धानको प्रतिवेदनअनुसार संस्थागत विद्यालयले एक देखि ४ तह (प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजी) को शिक्षा दिने गरेको देखिन्छ भने सामुदायिक विद्यालयले १ देखि २ ओटा तह सञ्चालन गरेको देखिन्छ । यस किसिमको नीतिगत अस्पष्टता र कार्यान्वयनको अवस्थाले प्रारम्भिक बाल विकास र शिक्षाको पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा बाधा परेको देखिन्छ ।
  • सिकाइ कुनाको व्यवस्थापनः पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनको विभिन्न उपायहरु मध्येको एक उपाय हो सिकाइ कुनाको व्यवस्थापन हो । ELDS ले ६ ओटा सिकाइ कुना (भाषिक, गणितीय, खेल तथा अभिनय, विज्ञान, सिर्जनात्मक र निर्माण) को व्यवस्था गरी पाठ्यक्रम र मापदण्डअनुसार सिकाइ सहजीकरण गर्नुपर्ने प्रावधान गरिएको छ । अनुसन्धानको प्रतिवेदनअनुसार 12.7% बाल विकास केन्द्रमा सिकाइ कुना नै नभएको, 87.5% सिकाइ कुना भएको तर सबै सिकाइ कुना नभएको र 3.4% बाल विकास केन्द्रमा छ ओटै सिकाइ कुना पर्याप्त सामग्रीसहित रहेको पाइएको छ (ERO, 2024) ।

प्रारम्भिक बाल विकास तथा शिक्षालाई प्रभावकारी बनाउने उपायहरु

प्रारम्भिक बाल विकास तथा शिक्षालाई प्रभावकारी बनाउने उपायहरु तयार गर्दा अन्तर्राष्ट्रिय परिवेश, राष्ट्रिय नीति, कानुन, अनुसन्धानका प्रतिवेदनलाई आधार मानिएको छ । जसलाई निम्नानुसार प्रस्तुत गरिएको छः

  • प्रारम्भिक बाल विकाससम्बन्धी स्पष्ट कानुनी प्रावधानको व्यवस्था गर्नेः शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा गरिएको कक्षा १ मा विद्यार्थीको विद्यालय तयारी सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन अनुसार सामुदायिक विद्यालयहरुमध्ये एउटा  तहमा मात्र इसीइडी कक्षा सञ्चालन गर्ने ८३.९%, दुईओटा  तहमा इसीइडी  कक्षा सञ्चालन गर्ने विद्यालय ८.४%,  तीनओटा  तहमा इसीइडी कक्षा सञ्चालन गर्ने विद्यालय ५.४% र चारओटा तहमा इसीइडी  कक्षा सञ्चालन गर्ने विद्यालय २.३% रहेका छन् । त्यसै गरी संस्थागत विद्यालयको अवस्था हेर्दा यो प्रतिशत क्रमशः ६.५%, ३.७%,४७.५% र ४२.३%, रहेको छ । त्यसकारण फरक फरक विद्यालयले आफ्नो इच्छानुसार फरक फरक तहका कक्षा  (प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी वा प्रारम्भिक बाल विकास केन्द्र) चलाउनाले अन्यौलता देखिएकोले अध्ययन प्रतिवेदनले दिएको सुझावअनुसार चार वर्ष पुरा नभएकोलाई एउटा तह र चार वर्ष पूरा भएकालाई प्रारम्भिक बाल विकास केन्द्रमा पढ्न पाउने गरी जम्मा दुई तहको इसीइडीको प्रावधान शिक्षा ऐनमा स्पष्ट रुपमा व्यवस्था गरी सोअनुसार कार्यान्वयन गर्नै पर्ने नियम लागू गर्नुपर्छ (ERO, 2024) ।
  • राष्ट्रिय मापदण्ड निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने : बालमैत्री राष्ट्रिय प्रारुप २०६७, राष्ट्रिय शिक्षा नीति २०७६, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रम २०७७ (परिमार्जित २०८२), प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति (२०७७-२०८८) को आधारमा हाल कार्यान्वयनमा रहेको बाल विकाससम्बन्धी राष्ट्रिय मापदण्ड २०६७ (परिमार्जित २०७५) लाई समयसान्दर्भिक र व्यावहारिक मापदण्ड बनाउनुपर्छ ।मापदण्डमा प्रारम्भिक बालविकास कक्षा र बालविकास तथा स्याहार केन्द्रहरूमा बालबालिकाका सुरक्षा, पोषण, सिकाइ कुना तथा खेल (सामग्री र स्थान), बालमैत्री शौचालय, स्वस्थ खानेपानी, बालबगैँचा र सिकाइ, शयन स्थल, भवन, कक्षाकोठालगायतका आवश्यक भौतिक पूर्वाधार, बाल स्याहार तथा सहजकर्ताको योग्यता, सहजीकरण प्रक्रियासँग सम्बन्धित विभिन्न पक्षहरु समावेश गरी कार्यान्वयन गर्नुपर्छ र तोकिएको मापदण्डका आधारमा सबै विद्यालयहरूमा बालविकास कक्षा र विद्यालय बाहिर बालविकास केन्द्र र बालविकास तथा स्याहार केन्द्र स्थापना र सञ्चालनको व्यवस्था मिलाउनुपर्छ ।
  • साझेदारीमा बाल विकास केन्द्र स्थापना गरी सञ्चालन गर्ने :  स्थानीय तह र समुदायको साझेदारीमा स्थानीय तहको प्रत्येक वडा वा टोलमा बालबालिकाहरूलाई खेल्ने र मनोरञ्जन गर्ने सामग्रीसहितको बालउद्यान निर्माण गर्नुपर्छ । विद्यालयमा सञ्चालन गरिने प्रारम्भिक बालविकास कक्षा विद्यालयको हाताभित्र छुट्टै भौतिक संरचना खडा गरी सञ्चालन गर्नुका साथै विद्यालय टाढा भएका कारण बालविकास कक्षाको पहूँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी नजिकको विद्यालयको समन्वयमा समुदायस्तरमा वैकल्पिक प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्ने व्यवस्था स्थानीय तहबाट मिलाउनुपर्छ । चार वर्ष उमेर पुगेका बालबालिकाका लागि तोकिएको न्यूनतम मापदण्डको आधारमा नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा स्थानीय तह र अभिभावकहरूको साझेदारीमा एक वर्षे प्रारम्भिक बाल विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
  • नक्साङ्कनको आधारमा बाल विकास केन्द्रको स्थापना पहुँचको सुनिश्चितता : दुर्गम, पिछडिएको क्षेत्र र सीमान्तकृत समूहका बालबालिकाहरूको समेत पहूँच सुनिश्चित गरी आवश्यकताको आधारमा हालको बालविकास केन्द्रहरूको नक्साङ्कन, समायोजन र पुनर्वितरण गर्नुपर्छ । आर्थिक रुपले विपन्न अपाङ्गता भएका, आर्थिक रुपले विपन्न दलित र आर्थिक रुपले विपन्न दुर्गम क्षेत्रका बालबालिकाका लागि निःशुल्क प्रारम्भिक बालविकासको अवसर सुनिश्चित गर्नुपर्छ । पाँच बर्षभन्दा कम उमेरका बालबालिकाहरूको स्याहार, पोषण र स्वास्थ्य विकासका लागि अभिभावकको लगानीमा विद्यालयभित्र वा बाहिर बालविकास तथा स्याहार केन्द्र स्थापना र सञ्चालन गर्न सकिने व्यवस्था मिलाउनुपर्छ ।
  • योग्य र दक्ष शिक्षकको व्यवस्थापन गर्ने : प्रारम्भिक बालविकास कक्षा र बालविकास केन्द्रका लागि विद्यार्थी सङ्ख्याका आधारमा आवश्यक शिक्षकको आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्छ ।School Readiness Report, 2024 अनुसार न्यूनतम योग्यता कक्षा १० भएका सहजकर्ता भन्दा कक्षा १२ वा सोभन्दा बढी योग्यता भएका सहजकर्ताले अध्यापन गरेका बालबालिकाको सर्वाङ्गीण बाल विकासको उपलब्धि राम्रो देखिएकोले प्रारम्भिक बालविकास कक्षामा सहजीकरण गर्ने शिक्षकको न्यूनतम् योग्यता एसएलसी (१२ कक्षा  वा सो सरह) हुने गरी कानूनी व्यवस्था मिलाउनुपर्छ र विकसित देशमा जस्तो न्यनूतम योग्यता क्रमशः स्नातक बनाउनुपर्छ। प्रारम्भिक बालविकास कक्षामा अध्यापन तथा सहजीकरण गरिरहेका तर तोकिएको योग्यता नपुगेका शिक्षकहरूको योग्यता बढाउन नियमित तथा विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था मिलाउनुपर्छ । प्रारम्भिक बालविकास शिक्षकलाई प्रचलित कानुनमा व्यवस्था भएबमोजिम न्यूनतम् पारिश्रमिक र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ । त्यस्ता शिक्षकको कार्यसम्पादनको आधारमा प्रत्येक वर्ष मूल्याङ्कन गरी पुरस्कार र दण्ड दिने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ ।
  • अभिभावक शिक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने : बालबालिकाको सर्वाङ्गीण विकासका निमित्त अभिभावकलाई प्रेरित गर्न स्थानीय तहका शिक्षा, स्वास्थ्य र सुरक्षा लगायतका निकायहरूको संयुक्त सहभागितामा अभिभावक जागरण कार्यक्रम सञ्चालन गर्नुपर्छ । अभिभावकलाई प्राज्ञिक ज्ञान, रटन्ते सिकाइ र गृहकार्यभन्दा शारीरिक, भाषिक, संज्ञानात्मक, सामाजिक र संवेगात्मक विकासका क्रियाकलापमा जोड दिनुपर्ने र त्यसको लागि घरमा उपयुक्त सिकाइ वातावरण बनाउनुपर्नेमा ध्यान दिनुपर्ने पक्षमा सचेतना प्रदान गर्नुपर्छ । School Readiness Report, 2024 अनुसार बालबालिकाको सर्वाङ्गीण विकासमा समुदाय र अभिभावकको न्यून सहभागिता देखिएकोले यस सन्दर्भमा अभिभावक र समुदायको सहभागिता बढाउने खालका कार्यक्रम विद्यालय तथा स्थानीय तहले सञ्चालन गर्नुपर्छ र अभिभावक शिक्षालाई अभियानका रुपमा सञ्चालन गरिनुपर्छ ।
  • मातृभाषामा सिकाइको व्यवस्थापन : एकल मातृभाषी कक्षामा मातृभाषा र मिश्रित भाषिक समूह भएका कक्षामा मातृभाषामा आधारित बहुभाषिक माध्यममा सिक्न पाउने अवसर प्रदान गर्न स्थानीय तहले योजना बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्छ ।बालबालिकाले पहिलो पटक सिकेको भाषामा नै विद्यालयमा सिकाइ सहजीकरण गर्दा सहजै बालबालिकाले सिक्ने, बुझ्ने र अनुभव आदान प्रदान गर्ने भएको मातृभाषामा आधारित बहुभाषा शिक्षामा जोड दिनुपर्छ र मातृभाषामा सिकाइ सहजीकरण गर्ने तालिम सामग्री विकास गरी शिक्षकको पेसागत क्षमता विकास गरिनुपर्छ ।
  • स्वास्थ्य, सरसफाइ पोषण तथा सिकाइ कुना सामग्रीको व्यवस्थापन  गर्ने : प्रारम्भिक बालविकास कक्षामा बालबालिकाको सरसफाइ, हेरचाह, खाजा तथा अन्य कार्यमा सहयोग पुर्‍याउने व्यवस्था मिलाउनुपर्छ । प्रारम्भिक बालविकास कक्षामा बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने खालका आवश्यक सामग्री व्यवस्था गर्नुपर्छ ।प्रारम्भिक सिकाइ तथा विकासस्तर मापदण्डमा उल्लेखित ६ ओटा सिकाइ कुना र उक्त सिकाइ कुनाको लागि आवश्यक सामग्रीको अनिवार्य व्यवस्थापन गर्नुपर्छ ।
  • पेसागत क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेः बाल विकास केन्द्रको न्यूनतम मापदण्डअनुसार भौतिक र शैक्षिक पूर्वाधार, बालमनोवैज्ञानिक तथा सिकाइ वातावरणको समुचित व्यवस्थापन सम्बन्धमा विद्यालयका प्रधानाध्यापकको क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसै गरी बालविकास सहजकर्ताको लागि बालबालिकाको उमेर, रुचि र चाहना, क्षमता र बालमनोविज्ञान तथा सिकाइ सिद्धान्तअनुसार बालमैत्रीपूर्ण वातावरण, खेल तथा कथा, कविता, गीत, अभिनय, चित्र कथा, सिकाइ सामग्रीको पहिचान, निर्माण र प्रयोग तथा सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक र प्रयोगात्मक खालको पेसागत क्षमता विकास हुने खालको तालिम सञ्चालन गर्नुपर्छ ।
  • संगठनात्मक व्यवस्थापन र अनुगमन तथा सुपरिवेक्षणको व्यवस्थापन गर्ने : प्रारम्भिक बालविकास सम्बन्धमा संघीय तहबाट नीति तथा मापदण्ड निर्धारण र समन्वय कायम गर्न राष्ट्रिय शिक्षा परिषद् अन्तर्गत प्रारम्भिक बालविकास समन्वय समिति र स्थानीय तहमा गाउँ/नगर शिक्षा समिति मातहत रहने गरी प्रारम्भिक बालविकास उपसमिति गठन गरी परिचालन गर्नुपर्छ । बालविकास कक्षा तथा बालविकास केन्द्रहरूको अनुगमन तथा निरीक्षणका लागि तहगत संयन्त्र विकास गर्नुका साथै सुपरिवेक्षकको क्षमता विकास गर्नुपर्छ ।प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम, निर्माणात्मक मूल्याङ्कन सामग्री, प्रारम्भिक सिकाइ तथा विकास स्तर मापदण्डलगायतका सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण भए नभएको, सिकाइ सहजीकरणमा आइपरेका समस्या समाधानकोलागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र स्थानीय तहबाट नियमित रुपमा विद्यालयको भौतिक तथा डिजिटल अनुगमन र सुपरिवेक्षण तथा स्थलगत प्राविधिक सहायता प्रदान गर्ने संयन्त्र विकास गरी सहयोग गर्नुपर्छ ।
  • निरन्तर र अनौपचारिक मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्ने:  अनावश्यक गृहकार्य दिने र परीक्षामा आधारित मूल्याङ्कनभन्दा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।सिकाइ क्रियाकलापको अभिन्न अङ्गको रुपमा मूल्याङ्कनलाई प्रयोग गर्ने र बालबालिकाको सर्वाङ्गीण पक्ष (शारीरिक, संज्ञानात्मक, भाषिक, सामाजिक, संवेगात्मक र नैतिक पक्ष) को विकास भए नभएको निरन्तर र नियमित लेखाजोखा गरी हरेक पक्षको लेखाजोखा गरी अभिलेखीकरण गर्ने व्यवस्था हुनुपर्छ । यसका लागि: प्रारम्भिक सिकाइ मापदण्ड (ईएलडिएस) प्रतिवेदन कार्डको प्रभावकारी प्रयोग गर्ने, बालबालिकाको विकासको अवस्था अभिभावकलाई पारदर्शी रूपमा देखाउने पोर्टफोलियो, अवलोकन, अन्तरक्रियामा आधारित मूल्याङ्कनलाई प्रोत्साहन गर्नुपर्छ ।

निष्कर्ष

प्रारम्भिक बाल विकास र शिक्षा केवल विद्यालय शिक्षाको पूर्वतयारी मात्र नभई यो बालबालिकाको मौलिक हक र राष्ट्र निर्माणको दिगो आधारशिला पनि हो। नेपालको संविधान र विभिन्न राष्ट्रिय नीतिहरूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखे तापनि नीति र व्यवहारबीच अझै ठूलो खाडल विद्यमान छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक स्वास्थ्य, पोषण, सुरक्षा र प्रारम्भिक सिकाइका अवसरहरूलाई एकीकृत रूपमा प्रदान गर्न नसक्दा लक्षित उपलब्धि हासिल हुन सकेको छैन। अनुसन्धानले देखाए अनुसार उच्च योग्यता (कक्षा १२ वा स्नातक) भएका शिक्षकहरूले सहजीकरण गरेका बालबालिकाहरूको विकास स्तर कक्षा १० उत्तीर्ण शिक्षकले सिकाएका बालबालिकाको भन्दा उत्कृष्ट देखिएकाले शिक्षकको व्यावसायिकता र योग्यतामा लगानी गर्नु अनिवार्य देखिएको छ।साथै, संस्थागत विद्यालयले चार तह (Playgroup, Nursery, LKG, UKG)  र सामुदायिकले एक वा दुई तह सञ्चालन गर्ने विद्यमान अन्यौलताले गर्दा राष्ट्रिय पाठ्यक्रमको मर्म अनुरूपको सिकाइमा अवरोध पुगेको छ। भौतिक पूर्वाधारका हकमा अधिकांश बाल विकास केन्द्रमा पर्याप्त सिकाइ कुना र सिकाइ सामग्री नहुनुले हाम्रो सिकाइ वातावरण अझै पनि परम्परागत र प्राज्ञिक दबाब’युक्त रहेको पुष्टि हुन्छ। प्रारम्भिक बाल विकासलाई गुणस्तरीय बनाउन संघीय सरकारले स्पष्ट कानुनी ढाँचा र मापदण्ड निर्माण गर्ने, प्रदेशले प्राविधिक सहयोग गर्ने र स्थानीय तहले समुदायसँगको साझेदारीमा भौतिक तथा मानवीय स्रोतको व्यवस्थापन गर्ने त्रिपक्षीय समन्वय आवश्यक छ। तब मात्र नेपालले “सुखी नेपाली, समृद्ध नेपाल” को दीर्घकालीन सोचका लागि सक्षम र दक्ष मानव पुँजीको जग बसाल्न सक्नेछ।

(लेखक युवराज अधिकारी, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हुन् ।)