शिक्षकहरूका लागि एआई सम्बन्धी निःशुल्क वेबिनारको आयोजना हुँदै

काठमाडौँ /२८ साउन – शिक्षण सिकाइलाई प्रविधिमैत्री, प्रभावकारी र समयानुकूल बनाउने उद्देश्यले शिक्षकहरूका लागि एआई सम्बन्धी निःशुल्क वेबिनार आयोजना हुने भएको छ ।


ओटिसको आयोजनामा हुन लागेको उक्त वेबिनारमा शिक्षण क्षेत्रमा एआईको व्यावहारिक प्रयोगबारे जानकारी तथा सीप प्रदान गरिने भएको। हो । पछिल्लो समय एआईको प्रयोग विभिन्न क्षेत्रमा तीव्र रूपमा बढिरहेको अवस्थामा शिक्षण क्षेत्रमा पनि यसको प्रभावकारी उपयोगमार्फत शिक्षकहरूको समय बचत गर्नुका साथै शिक्षणलाई अझ स्मार्ट र प्रभावकारी बनाउन सकिने आयोजकको भनाइ छ ।


वेबिनारमा शिक्षकहरूले पाठ योजनामा एआईको प्रयोग, विभिन्न प्रकारका शैक्षिक सामग्री तथा कक्षाकोठमा हुने गतिविधि तयार गर्ने तरिका, दैनिक रुपमा गरिने प्रशासनिक कामलाई सहज तथा छिटो कसरी गर्ने र विद्यार्थीलाई प्रभावकारी सिकाईमा एआईको प्रयोग गर्ने बारे सिक्ने अवसर पाउनेछन् ।


आयोजकका अनुसार वेबिनारको मुख्य उद्देश्य एआईलाई शिक्षकका लागि चुनौतीका रूपमा नभई शिक्षण सिकाईको शक्तिशाली उपकरण का रूपमा प्रयोग गर्न प्रेरित गर्नु हो । एआईको सही प्रयोगले शिक्षकहरूको दोहोरिने तथा समय धेरै लाग्ने कामलाई सरल बनाउँदै उनीहरूलाई विद्यार्थीको सिकाइ र सिर्जनात्मक शिक्षणमा थप समय दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


टिच स्मार्टर, समयको बचत, विद्यार्थीहरूलाई सशक्त बनाउनुहोस् भन्ने अवधारणासहित सञ्चालन हुने वेबिनारमा देशभरका शिक्षकहरू सहभागी हुन सक्नेछन् । वेबिनार साउन ३० गते बेलुका ७ बजे सञ्चालन हुनेछ ।


कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकहरूले निःशुल्क रूपमा अनलाइन दर्ता गर्न सक्नेछन् । दर्ताका लागि https://t.ly/8S7GA मा जान सकिने छ ।


शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा आयोजना हुन लागेको यस कार्यक्रमले शिक्षकहरूलाई एआईको व्यावहारिक प्रयोगबारे आधारभूत तथा उपयोगी जानकारी प्रदान गर्ने अपेक्षा गरिएको ओटिसले जनाएको छ ।