शिक्षकको हाजिर हेरफेर गरी रकम हिनामिना गर्ने प्रअ र शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं/२८ साउन – शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक र शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।


सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।


अनुसन्धानका क्रममा प्रियंका कुमारी सिंह २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको पाइएको छ । तर तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवले शिक्षा ऐनबमोजिम कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखी पछि एकमुष्ट हाजिरी गराएको अख्तियारको आरोप छ । यादवले उक्त हाजिरीमा मसी मेटाउने सामग्री प्रयोग गरी पुनः हाजिरी गराएको र अनुपस्थित अवधिको हाजिरी विवरणसमेत मलंगवा नगरपालिकामा पेस गरी तलब निकासा माग गरेको अनुसन्धानबाट खुलेको छ ।


सो क्रममा २ लाख ९० हजार ४३४ रुपैयाँ निकासा भएको थियो । त्यस्तै, २०७९ साल श्रावणदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ तथा वैशाख, जेठ र असारको १ लाख ३० हजार १२१ रुपैयाँसमेत गरी अनुपस्थित शिक्षकका नाममा जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा निकासा गरी भुक्तानी गरेको आयोगले जनाएको छ ।


आयोगले दुवै प्रतिवादीविरुद्ध सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।