काठमाडौँ /२४ साउन – विद्यार्थीलाई नेपालको सङ्घीय तथा संवैधानिक शासन प्रणाली बारे जानकारी दिने उदेश्यले न्यु मिलेनियम स्कुलले आयोजनामा न्यु मिलेनियम स्कुल नमुना सङ्घीय संसद्–२०८३ सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य केपी खनालले आफ्नो बाल्यकालका अनुभवहरू तथा युवावस्थामै संसद्सम्मको यात्रा कसरी तय गर्न सफल भए भन्ने बारे प्रेरणादायी अनुभव विद्यार्थीहरूसँग साझा गरे । उनले विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रम विद्यार्थीलाई लोकतान्त्रिक अभ्याससँग जोड्ने महत्वपूर्ण पहल भएको बताउँदै लोकतान्त्रिक मूल्य–मान्यता व्यवहारमा अभ्यास गर्न, आफूमा विश्वास राख्न र आफ्ना सपनाहरू पछ्याउन विद्यार्थीहरूलाई प्रेरित गरे ।

त्यसैगरी, विशेष अतिथि डा. हेमबहादुर केसीले विद्यालयले सैद्धान्तिक सिकाइलाई वास्तविक जीवनका अभ्याससँग जोड्न गरेको प्रयासको प्रशंसा गरे । यस्ता कार्यक्रमले विद्यार्थीलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उनको भनाई थियो ।
विद्यालयकी प्रधानाध्यापक कविता अर्यालले विद्यालयले निरन्तर रूपमा अनुसन्धानमा आधारित, बालकेन्द्रित तथा अनुभवात्मक सिकाइलाई प्राथमिकता दिँदै आएको बताइन । उनले नेपालको सङ्घीय तथा संवैधानिक शासन प्रणाली बुझ्न सहयोग गर्ने, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक दलहरूको अभ्यासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने, निर्वाचन तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने र विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्ने उदेश्यले नमुना सङ्घीय संसद् कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारिन ।
साथै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य, समन्वय र प्रभावकारी सञ्चार सीप विकास हुने, अनुसन्धान तथा सूचना सङ्कलन गर्ने सीप अभिवृद्धि गर्ने, समस्या समाधान तथा आलोचनात्मक सोच विकास गर्ने, नागरिकका अधिकार र जिम्मेवारीबारे बुझाइ विकास गर्ने, सरकारका तीन अंगबीचको शक्ति सन्तुलन तथा नियन्त्रण र सन्तुलनको अभ्यास बुझ्ने अवसर प्रदान गर्ने, विद्यार्थीलाई जिम्मेवार, सचेत र सक्रिय नागरिक बन्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकास गर्न सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रमको आवश्यकता, उद्देश्य तथा सञ्चालनको मोडालिटीबारे सामाजिक अध्ययन शिक्षक रबिन्द्र फुयाँलले विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
नमुना सङ्घीय संसद सञ्चालनका लागी विद्यार्थीहरूले विभिन्न विद्यार्थी दल गठन गरी घोषणापत्र तयार गर्ने, निर्वाचन प्रचार अभियान सञ्चालन गर्ने तथा निर्वाचनमा सहभागी हुने अभ्यास गरेका थिए । विद्यार्थीहरूले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीको अभ्यास गर्दै आफ्ना प्रतिनिधि तथा नेतृत्व चयन गरेका थिए । त्यसपछि सरकार गठन, सभामुखको निर्वाचन तथा प्रतिनिधिसभाको कार्य सञ्चालनसमेत व्यवहारिक रूपमा अभ्यास गरिएका थिए ।

नमुना संसद्का विभिन्न बैठकमा विद्यार्थीहरूले सांसद, सभामुख, मन्त्रीलगायत विभिन्न भूमिका निर्वाह गर्दै राष्ट्रिय सरोकारका विषयहरू उठाउने, छलफल तथा बहस गर्ने र सरकारका कामप्रति प्रश्न गर्ने अभ्यास गरेका थिए । साथै, उनीहरूले विधेयक प्रस्तुत गर्ने, छलफल गर्ने, संशोधन गर्ने तथा पारित गरी कानुन निर्माण गर्ने प्रक्रियासमेत व्यवहारिक रूपमा प्रयोग गरे ।
यसरी आफूहरू नै सहभागी भएर सरकारको संरचना तथा सञ्चालन प्रणालीलाई प्रत्यक्ष अनुभव गर्नका लागी अभ्यास मार्फत सिक्न पाउँदा आफूहरू निकै उत्साहित र खुसी भएको विद्यार्थीहरूले प्रतिक्रिया दिएका छन् । उनीहरूले कक्षाकोठामा सैद्धान्तिक रूपमा पढेको नेपालको शासन प्रणाली, सङ्घीयता, निर्वाचन प्रणाली, संसद् तथा कानुन निर्माण प्रक्रियालाई यस कार्यक्रममार्फत व्यवहारिक रूपमा बुझ्न पाएको बताए ।



