विद्यालयमा शिक्षकको वितण्डा, शैक्षिक योग्यता नभएका शिक्षकको कब्जामा कक्षा ११ र १२

रूपन्देही/६ साउन – रूपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. २ रहेको उजिरसिंह माविमा एक शिक्षकले छात्राहरूलाई प्रयोग गरी विद्यालयले बदनाम गर्न खोजेको विद्यालयले जनाएको छ ।


निमावि तहका स्थायी शिक्षक यम प्रसाद श्रेष्ठले अर्का शिक्षक जीवन न्यौपाने विरुद्ध छात्राहरूलाई प्रयोग गरी विद्यालयको बदनाम गराउने उदेश्यले उक्साएको विद्यालयको भनाई छ ।


सामाजिक सञ्जालमा बाहिरिएका भिडियोमा भने शिक्षकले छात्राहरू माथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । तर यस विषयमा आरोप लागेका शिक्षकले आफूले त्यस्तो कार्य नगरेको बताउँदै यस बारे साइबर ब्युरोबाट छानबिन गरी प्रमाणित गरे सजाय भोग्न तयार रहेको बताए । उनले अहिले बुटवल उपमहानगरपालिकामा छलफल चलीरहेको र प्रशासनले नबोल्न निर्देशन दिएको भन्दै धेरै बोल्न चाहेनन् ।


विद्यालयका प्रधानाध्यापक पदम राज ज्ञवालीले शिक्षक यम प्रसाद श्रेष्ठले कक्षा ११ र १२ मा कब्जा गर्न खोजेको र असहमति जनाएपछि विद्यार्थी र अभिभावकलाई प्रयोग गरी विद्यालयमा वितण्डा मच्चाएको जानकारी दिए ।


ज्ञवालीले आफू विदामा बसेको दिन साउन ५ गते विद्यार्थी र अभिभावकलाई बोलाएर विद्यालयमा शान्ति सुरक्षामा खलबल पु¥याएको, विद्यालय विरुद्ध आन्दोलन गर्न उक्साएको र विद्यालयमा घण्टी बजाएर हल्ला गराएको जनाएका छन् ।


ज्ञवालीका अनुसार श्रेष्ठ निमावि तहका स्थायी शिक्षक रहेको तर उनिसँग मास्टर डिग्रीको प्रमाणपत्र नभएको बताउँदै शैक्षिक योग्यता नभएपनि जबरजस्ती कक्षा ११ र १२ पढाउँदै आएको जानकारी दिए । अर्का शिक्षक जीवन न्यौपानेले कक्षा ११ र १२ मा कम्प्युटर विषय पढाउँदै आएको उनको भनाई छ ।


श्रेष्ठले यसअघि पनि विद्यार्थीलाई बोलाएर प्रशासनलाई थर्काउन लगाउने, विद्यालयमा उनले भनेको जस्तै हुनुपर्ने नभए प्रधानाध्यापक शिक्षक सबैलाई थर्काउने र कक्षा ११ र १२ को संयोजक आफै तोक्ने जस्ता गैरजिम्मेवार कार्य गरेको प्रधानाध्यापक ज्ञवालीले बताए । उनले छात्रा माथि भएको भनिएको यौन दुव्र्यवहारको विषयमा भने आफू अनभिज्ञ रहेको छानबिन पछिनै वास्तविक तथ्य आउने बताए ।


बुटवल उपमहानगरपालिकाकी सूचना अधिकारी तुल्सा अर्यालले शैक्षिक विकास महाशाखाको नेतृत्वमा प्रधानाध्यापक र दुबै जना शिक्षकहरू सहित घट्नाबारे छलफल भईरहेको जानकारी दिइन ।


यसै घटनाका कारण सोमवारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।