मोदी सरकारविरुद्ध भारतमा विद्यार्थीहरूको आन्दोलन झन चर्कियो

दिल्ली/६ साउन – मोदी सरकारविरुद्ध भारतमा विद्यार्थीहरूको आन्दोलन झन चर्किएको छ । भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा विद्यार्थीहरूको प्रदर्शन बुधबार पनि जारी रहेको हो ।


सोमबार आयोजित ’चलो संसद्’ मार्चका क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थीबीच झडप भएको थियो । आज पनि वर्षाका बाबजुद प्रदर्शनकारीहरू त्रिपाल ओढेर धर्नामा बसेका छन् ।


साथै विद्यार्थीमाथि भएको लाठीचार्ज तथा राहुल र प्रियंका गान्धीलाई पक्राउ गरिएको विरोधमा कांग्रेसले केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा प्रदर्शन गरेको छ ।


विद्यार्थीहरुले परीक्षा प्रणालीमा भएको असफलताको नैतिक जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने मागसहित राजिनामा मागेका छन् । पछिल्ला दिनमा यसले भारतभरि ठूलो राजनीतिक र सामाजिक बहस समेत सिर्जना गरेको छ ।


शिक्षामन्त्री धर्मेन्द्र प्रधानले कांग्रेसले विद्यार्थीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप लगाउँदै सरकारले नीट परीक्षाको विषयमा संसद्मा छलफल गर्न तयार रहेको बताएका छन् ।


राष्ट्रिय परीक्षामा भएका पेपर लिक र अनियमितताको निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न, भविष्यमा पेपर लिक रोक्न, पारदर्शिता बढाउन र राष्ट्रिय परीक्षा प्रणालीलाई विश्वसनीय बनाउन, पेपर लिक र परीक्षा अनियमिततामा संलग्न सबै व्यक्तिलाई दण्डित गर्नुपर्ने र आन्दोलनका क्रममा परीक्षा विवादसँग सम्बन्धित मृत्यु भएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिन उनिहरुले माग गरेका छन् ।