काठमाडौं /३१ असार – काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ ।
विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गर्नुभएको हो । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिनुभएको थियो । उहाँले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला र प्रोत्साहनसमेत दिनुभयो ।
छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परे घटनामा कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, विद्यार्थीमा थप मनोवैज्ञानिक असर नपर्ने गरी घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श तथा सचेत गराउन विद्यालयलाई ध्यानाकर्षण गराउनुभयो । भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकका लागि आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि उहाँले विद्यालयलाई आग्रह गर्नुभयो ।
मन्त्रालयका अनुसार घटना एक वर्षअघि भएको भए पनि यस्ता प्रकृतिका घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले विद्यालय र पीडित पक्षसँग छलफल गरी आवश्यक पहल गरिएको हो ।
घटना विसं २०८२ सालको पुस महिनाको हो । बाग्लुङ घर भएका १३ वर्षीय विद्यार्थीलाई सोही विद्यालयकी शिक्षिका रानाले कुटपिट गरेको दृश्य भिडियोमा देखिएको छ ।
यसैबीच, विद्यार्थी कुटपिटको घटनामा शिक्षिका रानाले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो कार्य नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार काठमाडौैंको थली निवासी शिक्षिका रानालाई उक्त घटनाको विषयमा आवश्यक छानबिनपछि गत जेठमै विद्यालयबाट निष्कासन गरिएको थियो । प्रधानाध्यापक रानाले उक्त भिडियो विद्यालयकै एक शिक्षकले खिचेको र हाल सामाजिक सञ्जालमा सार्वजनिक गरेको जानकारी दिनुभयो ।
प्रधानाध्यापकका अनुसार भिडियो सार्वजनिक गर्ने ती शिक्षकलाई पनि अध्यापन कार्य सन्तोषजनक नभएको कारण अघिल्लो वर्ष वैशाखमै विद्यालयबाट निष्कासन गरिएको थियो । विद्यालयले निष्कासनप्रतिको असन्तुष्टिका कारण उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको दाबी गरेको छ ।



