४६ वर्षको सेवा, तर हातमा शून्यः विद्यालयका मौन योद्धाप्रति राज्यको दायित्व

काठमाडौँ /५ असार – कुनै पनि राष्ट्रको शिक्षा प्रणाली शिक्षक, विद्यार्थी र पाठ्यक्रमले मात्र सञ्चालन हुँदैन; त्यसका पछाडि अनगिन्ती मौन श्रमिकहरूको समर्पण, अनुशासन र निरन्तर श्रम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालयका सहयोगी कर्मचारीहरू त्यही मौन आधारस्तम्भ हुन्, जसको योगदान बिना विद्यालयको दैनिक सञ्चालन सहज हुन सक्दैन । तर विडम्बना, उनीहरूको जीवनभरको योगदान राज्यका नीति तथा कार्यक्रमहरूमा प्रायः ओझेलमा पर्ने गरेको छ ।


मालिकार्जुन गाउँपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालय, उकुमा २०३८ साल माघ २८ गतेदेखि सेवा प्रारम्भ गरी २०८३ असारमा अवकाश प्राप्त गर्नुभएका विद्यालय सहयोगी जय सिंह महरा यस यथार्थका जीवित उदाहरण हुन् । ४६ वर्षसम्म विद्यालयको सरसफाइ, भौतिक सम्पत्तिको संरक्षण, विद्यार्थीहरूको सुरक्षा, शिक्षकहरूको सहयोग तथा विद्यालय व्यवस्थापनका विविध जिम्मेवारी निर्वाह गर्दै उहाँले आफ्नो जीवनको उर्जाशील समय विद्यालयलाई समर्पित गर्नुभयो ।


चार दशकभन्दा बढी अवधिमा विद्यालयका भवनहरू फेरिए, शैक्षिक नीतिहरू फेरिए, शिक्षक र विद्यार्थीका पुस्ताहरू फेरिए। हजारौँ विद्यार्थीहरूले शिक्षा हासिल गरी विभिन्न क्षेत्रमा सफलता प्राप्त गरे। तर ती सबै परिवर्तनका मौन साक्षी बनेका जय सिंह महराको जीवन भने आज अवकाशसँगै गम्भीर असुरक्षाको अवस्थामा पुगेको छ। परिवारको सहारा छैन, स्वास्थ्य कमजोर छ, अपाङ्ग छोराको जिम्मेवारी काँधमा छ, तर राज्यबाट प्राप्त हुने कुनै सामाजिक सुरक्षा, पेन्सन वा सम्मानजनक जीवनयापनको आधार छैन ।


यो केवल एक व्यक्तिको कथा होइन; यो नेपालको विद्यालय शिक्षा प्रणालीमा दशकौँसम्म श्रम गर्ने हजारौँ विद्यालयकर्मी अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूको साझा पीडा हो । राज्यले विद्यालय सञ्चालनमा उनीहरूको योगदान उपयोग ग¥यो, तर जीवनको उत्तरार्धमा उनीहरूलाई सम्मानजनक सुरक्षाको प्रत्याभूति दिन सकेन। यसले सामाजिक न्याय, श्रमको मूल्यांकन र राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गर्दछ ।


आधुनिक सार्वजनिक प्रशासन र श्रम–अधिकारको दृष्टिकोणबाट हेर्दा, कुनै पनि संस्थामा दीर्घकालीन सेवा प्रदान गर्ने कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा समेट्नु राज्यको नैतिक तथा नीतिगत दायित्व मानिन्छ । विशेषतः शिक्षा जस्तो संवेदनशील क्षेत्रमा जीवन समर्पण गरेका श्रमिकहरूको योगदानलाई केवल तलबको सीमित दायरामा मूल्यांकन गर्न सकिँदैन । उनीहरूले सिर्जना गरेको शैक्षिक वातावरणले नै राष्ट्रका भावी नागरिक निर्माणमा योगदान पु¥याएको हुन्छ ।


यस सन्दर्भमा नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूले यस्ता अस्थायी प्रकृतिका विद्यालयकर्मी शिक्षक तथा विद्यालय कर्मचारीहरूको राष्ट्रिय तथ्यांक संकलन गरी दीर्घकालीन सेवा गरेका कर्मचारीहरूको सम्मान तथा सामाजिक सुरक्षासम्बन्धी विशेष नीति निर्माण गर्नु आवश्यक देखिन्छ। विशेष गरी २० वर्षभन्दा बढी सेवा गरेका शिक्षक,कर्मचारीहरूलाई सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण (पेन्सन) वा एकमुष्ट सम्मानजनक राहत उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ। साथै, उनीहरूको स्वास्थ्य सुरक्षा र जीवनयापनलाई सुनिश्चित गर्ने कार्यक्रमहरू पनि लागू गरिनुपर्छ ।


राष्ट्रको समृद्धि केवल भौतिक पूर्वाधार, ठूला योजना वा आर्थिक सूचकाङ्कबाट मात्र मापन हुँदैन। आफ्नो सम्पूर्ण जीवन राष्ट्रको सेवामा समर्पित गर्ने नागरिकप्रति राज्यले कति सम्मान र जिम्मेवारी निर्वाह गर्छ भन्ने कुराले पनि राष्ट्रको सभ्यता र संवेदनशीलताको स्तर निर्धारण गर्दछ ।


जय सिंह महराजस्ता मौन योद्धाहरूको जीवन संघर्षले हामीलाई एउटा महत्वपूर्ण प्रश्न सोधिरहेको छ—के चार दशकभन्दा बढी समय राष्ट्रको शैक्षिक सेवामा समर्पित व्यक्तिको वृद्धावस्था असुरक्षित र बेसहारा हुनु न्यायसंगत हो ?


यस प्रश्नको उत्तर केवल जय सिंह महराका लागि मात्र होइन, शिक्षा क्षेत्रका हजारौँ श्रमिकहरूको भविष्यका लागि पनि खोजिनु आवश्यक छ ।

नवीन सिंह धामी
अध्यक्ष
नेपाल राहत शिक्षक केन्द्रीय समिति