काठमाडौँ/९ असार – शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको दाबी गर्दै प्रोपगान्डाका लागि आरोप लगाइएको जनाएको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।
उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको बताए । नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दा कुनै त्रुटि फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए ।
सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिए ।
सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने विषयमा गृहमन्त्रालयसँग छलफल अघि बढाइएको धारणा राखे । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ ।
यसैगरी स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थीहरू अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको उल्लेख गर्दै स्वदेशमा नै रोजगारीको पर्याप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरूलाई स्वदेशमा नै रोक्न सकिने धारणा व्यक्त गरे ।




