काठमाडौँ/२ असार – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई विभिन्न राजनीतिक शक्तिसँग जोडेर दुष्प्रचार गर्ने, शिक्षक समुदायलाई अन्योलमा पार्ने तथा सङ्गठनात्मक एकतालाई कमजोर बनाउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जाल तथा केही संविधान, लोकतन्त्र र ट्रेड युनियन अधिकार विरोधी तत्वाहरूले त्यसो गरेको सङ्गठनको ठहर छ ।
सङ्गठनले विज्ञप्ति जारी गर्दै विशेषगरी, नेपाल निजामती कर्मचारी सङ्गठनसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतबाट जारी भएको आदेशलाई शिक्षक सङ्गठन र शिक्षक ट्रेड युनियन आन्दोलनसँग जोडेर भ्रम सिर्जना गर्ने कार्य तथ्यहीन, भ्रामक र पूर्वाग्रहपूर्ण रहेको स्पष्ट पारेको छ ।
यसैगरी यस्ता कुप्रचार, अफवाह र दुष्प्रयासबाट भ्रमित नहुन तथा सत्य तथ्यको आधारमा मात्र धारणा बनाउन सम्पूर्ण शिक्षक, शिक्षाकर्मी तथा संगठनका साथीहरू अपिल गरेको छ ।
“नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आफ्ना वैधानिक तथा साङ्गठनिक गतिविधिहरूलाई अझ सशक्त बनाउँदै सदस्यता विस्तार, संगठन सुदृढीकरण, स्थानीय, जिल्ला तथा प्रदेश परिषद् सम्पन्न गर्ने, “March to Local Level-२०२६” अभियानलाई सफल बनाउने तथा शिक्षक अधिकार, सार्वजनिक शिक्षा र ट्रेड युनियन स्वतन्त्रताको पक्षमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको जानकारी गराउन चाहन्छौँ ” विज्ञप्तिमा भनिएको छ ।
साथै, शिक्षक तथा श्रमजीवी वर्गका हक, हित र अधिकारको प्रभावकारी संरक्षण तथा प्रवर्धनका लागि सबै लोकतान्त्रिक र पेसागत शक्तिहरूबिच एकता, सहकार्य र बृहत् ट्रेड युनियन निर्माण गर्न अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।



