शिक्षा सुधारका लागि एनसिई नेपालको ६ बुँदे माग, एक हप्ते शिक्षा अभियानको घोषणा

काठमाडौँ /७ बैशाख – शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले शिक्षामा पर्याप्त लागनी अभियानको ज्योति बालिराखौँ भन्ने मूल नाराका साथ यो वर्ष शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने भएको छ ।


राजधानीमा आज पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यसप्ताहको सुरुवात गरिएको जानकारी दिँदै यही बैशाख ७ गतेदेखि १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको अध्यक्ष लवराज ओलीले बताए ।


एनसिई नेपालले अभियान मार्फत ६ बुँदै मुख्य मागहरूलाई अगाडी बढाएको छ । शिक्षा क्षेत्रमा पर्याप्त, दिगो र न्यायपूर्ण वित्तीय लगानी सुनिश्चित गर्दै सार्वजनिक शिक्षामा कम्तीमा राष्ट्रिय बजेटको १५–२० प्रतिशत वा कुल गार्हस्थ्य उत्पादन को ४–६ प्रतिशत विनियोजन गर्नुपर्ने माग गरेको छ ।


यसैगरी संघ, प्रदेश, र स्थानीय सरकार सँगसँगै अन्तर्राष्ट्रिय विकास साझेदारहरूले पनि सार्वजनिक शिक्षामा सरकारलाई दिने अनुदानको हिस्सा वृद्धि गरियोस् र ऋणको हिस्सा कम गर्नुपर्ने, स्थानीय तहले प्रगतिशील कर प्रणाली जस्ता नवीनतम लगानीका वैकल्पिक बाटोबाट आन्तरिक स्रोत वृद्धि गर्दै शिक्षामा लगानी बढाउनुपर्ने जनाएको छ ।


शिक्षा बजेटमा पारदर्शिता, सहभागिता, जवाफदेहीता, उत्तरदायित्व र न्यायपूर्ण वितरणको प्रणाली विकास गर्न, लिङ्ग, जातजाति, अपाङ्गता, भौगोलिक क्षेत्र र भाषाका आधारमा सीमान्तकृत बालबालिकाको गुणस्तरीय समावेशी शिक्षाका लागि जोड दिन, सुरक्षित, समावेशी, समतामूलक र गुणस्तरीय विद्यालय शिक्षा, डिजिटल शिक्षाको पहुँच र सिकाइ उपलब्धि सुधारका कार्यक्रमहरूका लागि शिक्षा क्षेत्रमा कम हुदै गएको पुँजीगत खर्च बढाउन सरकार समक्ष माग राखेको छ ।