लन्डन/७ माघ – बेलायत सरकारले विद्यालयहरूलाई फोन निषेध क्षेत्र बनाउने नीति लागू गरिने जनाएको छ । अत्यधिक स्क्रिन समयका कारण बालबालिकाको मानसिक स्वास्थ्य, शैक्षिक क्रियाकलाप र सामाजिक विकासमा नकारात्मक असर परिरहेको भन्दै सो निर्णय गर्ने भएको हो ।
विद्यालयहरूमा मोबाइल फोन प्रयोगमाथि तत्काल कडाइ गर्दै विद्यालय निरीक्षण निकाय अफ्स्टेडलाई अब प्रत्येक विद्यालय निरीक्षणका क्रममा मोबाइल फोन प्रतिबन्ध प्रभावकारी रूपमा लागू भएको छ कि छैन भन्ने अनिवार्य रूपमा जाँच गर्न निर्देशन दिइएको छ ।
अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सांसदहरूबाट सामाजिक सञ्जाल र स्मार्टफोनको बढ्दो प्रभाव नियन्त्रण गर्न दबाब बढ्दै गएपछि बालबालिकाको सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगबारे बेलायत सरकारले राष्ट्रव्यापी परामर्श प्रक्रिया पनि सुरु गरेको छ ।
यो परामर्शमार्फत अभिभावक, बालबालिका, शिक्षाविद् तथा नागरिक समाजका प्रतिनिधिबाट सुझाव संकलन गरिनेछ । यसले बालबालिकाले प्रविधिसँग स्वस्थ र जिम्मेवार सम्बन्ध विकास गर्न सक्ने उपायहरू पहिचान गर्न सहयोग पु¥याउने बेलयाउत सरकारले जनाएको छ ।
सरकारी तथ्यांकअनुसार विद्यमान नियमहरू हुँदाहुँदै पनि कक्षाकोठामा मोबाइल फोनको अवैध प्रयोग व्यापक रहेको देखिएको छ । माध्यमिक तहका ५८ प्रतिशत विद्यार्थीले केही कक्षामा अनुमति बिना मोबाइल प्रयोग हुने गरेको बताएका छन् । माथिल्लो कक्षाका विद्यार्थीहरूमा यो प्रतिशत ६५ सम्म पुगेको छ ।
यो कदमले बालबालिकाका लागि सुरक्षित र सन्तुलित डिजिटल वातावरण निर्माण गर्ने बेलायतको नीतिमा नयाँ चरणको सुरुआत भएको संकेत गरेको छ ।



