काठमाडौँ/२५ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च स्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले दिएको सुझाबका आधारमा प्राथमिक तहको दरबन्दी रूपान्तरण प्रक्रिया सकेर मात्रै प्रावि तहको विज्ञापन गर्ने जनाएको छ । मन्त्रालयले दरबन्दी रूपान्तरणका लागि कार्यजोजना बनाएर प्रक्रियालाई अगाडी बढाए पनि सुस्त रूपमा काम भईरहेकोले रूपान्तरणमा ढिलाई भएको छ ।
मन्त्रालय स्रोतका अनुसार उच्च स्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले दिएको सुझाबका आधारमा प्राथमिक तहमा २० हजार ४ सय ६५ दरबन्दी बढी रहेको र माथिल्लो तहमा रूपान्तरण गरेर सकिएपछि मात्रै विज्ञापन गर्न सकिने जनाएको छ । “अहिले दरबन्दी रूपान्तरणकै प्रक्रियामा छौँ । सुरु नै गरिसकेका छैनौँ, विभिन्न कारणले काममा ढिलाई पनि भएको छ । खालि हुँदै गएका दरबन्दीलाई रूपान्तरण गरेर मात्रै विज्ञापन गर्ने भन्ने छ । अहिले नै प्रावि तहको विज्ञान गर्ने कुनै तयारी छैन । २० हजार ४ सय ६५ दरबन्दी रूपान्तरण गर्न समय लाग्छ । यदी विज्ञापन गर्ने भयौँ भने रूपान्तरण गरेर मात्रै हुनसक्छ । त्यसैले प्राविको विज्ञापन अहिले नै हुने सम्भावना न्यून छ ।”
एकै पटक सबै दरबन्दी माथिल्लो तहमा लैजाँदा विषय नमिल्ने सम्भावना देखिएकोले प्रावि तहमा खालि हुँदै गएका दरबन्दीलाई विस्तारै माथिल्लो तहमा रूपान्तरण गर्दै लैजाने योजनामा मन्त्रालयले थालेको छ ।
प्राथमिक तहमा २० हजार ४ सय ६५ दरबन्दी बढी रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी १२ हजार ४ सय ३० निमाविमा र ९ हजार ४ सय ९२ दरबन्दी मावि तहमा आवश्यक रहेकोले प्रावि तहको दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने तयारी थालिएको हो । आगामी चैत्रसम्म ५ हजार ३ सय ८६ र आगामी २०८३ बैशाखदेखि असार मसान्तसम्ममा ५ सय ९९ प्रावि तहको दरबन्दी खाली हुँदै छन् ।



