काठमाडौँ /९ पुष – थापाथली स्थित सञ्चालनमा रहेको द ब्रिटिस कलेजले होटेल म्यानेजमेन्टका विद्यार्थीलाई इन्टर्न गर्ने भन्दै दुबई लगेर अलपत्र पारेको विषयमा आज शिक्षा मन्त्रालयमा शिक्षामन्त्री महावीर पुन, पीडित विद्यार्थी तथा अभिभावक, जेञ्जीका प्रतिनिधि सुदन गुरुङ र कलेज म्यानेजमेन्ट बिच छलफल भएको छ ।
छलफलमा कलेजले तीन दिनभित्र पीडित विद्यार्थीलाई वार्तामा बोलाएर समस्याको समाधान गर्न मन्त्रालयले निर्देशन दिएको छ । तीन दिन भित्र समस्या समाधान नगरे कारबाही प्रक्रियामा जाने समेत मन्त्रालयले जनाएको छ ।
कलेजले विभिन्न माध्यमबाट विद्यार्थीलाई धम्क्याउने गरेको पडित विद्यार्थीले बताए पछि जति सक्दो चाँडो विद्यार्थी न्याय दिन र विद्यार्थीलाई नधम्क्याउन मन्त्रालयले दबाब दिएको छ ।
साथै पीडित विद्यार्थीको प्रतिनिधि सहितको अनुगमन समिति बनाएर अनुगमन पनि गर्ने मन्त्रालयले जनाएको छ । यसैगरी कतिपय कलेजले अनुमति लिएको भन्दा अन्य कार्यक्रम पनि सञ्चालन गरेको देखिएकोले आगामी दिनमा अनुमति लिएको भन्दा अन्य कार्यक्रममा विद्यार्थी भर्ना गरेको पाइए कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।



