काठमाडौं/१३ भदौ-प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले देशको शैक्षिक परामर्श नियमनमा सरकारलाई सक्रिय हुन आग्रह गरेका छन् । शैक्षिक परामर्श क्षेत्र सुधारका लागि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै महरले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन परामर्श क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउनुपर्ने महरले आवश्यकता औंल्याएका छन् ।
’परामर्श व्यवसायलाई व्यवस्थित गर्दै कानुनी र नीतिगत स्पष्टता ल्याउनुपर्छ । विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति कोटा व्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीतिलाई शीघ्र लागू गर्नुपर्छ,’ नेता महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी कम्पनी ऐनअनुसार दर्ता नगरी वा इजाजतपत्र विना सञ्चालन भइरहेका परामर्श संस्थामाथि कारबाही गर्नुपर्ने, अनलाइनमार्फत मात्र विदेश पठाउने ‘एडटेक कम्पनी’हरूको नियन्त्रण गर्नुपर्ने, ठगी र विसंगति रोक्न धरौटी र नियमित अनुगमन व्यवस्था गर्नुपर्ने सुझाव उनले अघि सारेका छन् ।
महरले विदेशमा पढ्न जाने विद्यार्थीलाई न्यूनतम मापदण्ड पूरा गरेका विश्वविद्यालयमै पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै यसले ‘ब्रेन गेन’लाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले कृत्य विवाह, मनि लण्ड्रिङ, फर्जी कागजात र अवैध वित्तीय कारोबारमा संलग्न परामर्श संस्थामाथि शून्य सहनशीलताको नीतिअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए। साथै, विदेशी कम्पनीले विभिन्न सेमिनार र एक्स्पोमार्फत बढाउँदै लगेको सक्रियता तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता महरले औंल्याएका छन् ।
’शिक्षा राष्ट्रको मेरुदण्ड हो। यसमा पारदर्शिता, उत्तरदायित्व र गुणस्तर कायम नगरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ’त्यसैले शिक्षा मन्त्रालयले ढिलाइ नगरी ठोस कदम चाल्नुपर्ने बेला आएको छ ।’




