शिक्षकहरुले बुझाए ७ सय ५३ पालिकामा ध्यानाकर्षण पत्र

काठमाडौँ/१३ भादौ – विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएपछि शिक्षक महासंघ पुनः आन्दोलित भएको छ । विभिन्न समयमा भएका आन्दोलनको क्रममा गरिएका सहमति विद्यालय शिक्षा विधेयकमा नसमेटिएको र सरकारले धोका दिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको हो ।


आन्दोलनका कार्यक्रम अनुरुप नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आह्वानमा आज देशभरका ७ सय ५३ पालिकाहरुमा नेपाल शिक्षक महासंघ स्थानिय समितिले धर्ना दिदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।


कार्यक्रम अन्र्तगत नेपाल शिक्षक महासंघ झापा र तनहुँ जिल्ला अन्र्तगतका विभिन्न पालिकाहरुमा धर्ना कार्यक्रम गरि स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत समक्ष ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा धर्ना दिँदै शिक्षकहरु

विगतका वर्ष २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमतिहरु लागु गर्न साथै अस्थायी प्रकृतिका शिक्षकहरुका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला पदपूर्ति गराउने व्यवस्था गर्न साथै आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदानको व्यवस्था गर्न भन्दै शिक्षक महासंघ आन्दोलित बनेको हो । हाल अस्थायी प्रकृतिका शिक्षकहरुलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्लाको व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता भएको छ ।