काठमाडौं /१८ जेठ – त्रिभुवन विश्वविद्यालय, सूचना तथा जनसम्पर्क महाशाखा उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्नेलाई कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ । जेठ १४ गते दिन २०-२५ जनाको समूह त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी तोडफोड गरेको भन्दै कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको हो ।
साथै उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
महाशाखाले सूचना जारी गर्दै भनिएको छ ‘ विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने जस्ता कार्य गरेको अतिरिक्त मिति २०८२। ०२। १४ का दिन २०-२५ जनाको समूह त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानी नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ । यस कार्यमा आवश्यक सहयोगका लागि विश्वविद्यालय परिवार, नेपाल सरकार, आम सञ्चार जगत र प्रबुद्ध नागरिक समाजसंग विश्वविद्यालय हार्दिक अपिल गर्दछ ।’



