काठमाडौं/१ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरु भएको र सबै अभिभावक तथा सरोकारवालाहरूलाई अभियानलाई सफल पार्न आग्रह गर्दै सो कुरा बताएका हुन् ।
उनले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माणमा प्राथमिकतामा रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गरिने बताए ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरु भएको बताउँदै बालबालिकाहरूलाई अब पनि विद्यालय बाहिर राख्न नसकिने उनको भनाई छ ।
‘अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ । यसमा थप सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेछ । यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा रहेको छ । शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफल सहित पारित गराउन सरकार प्रतिबद्ध छ’ उनले भनेका छन् ।
साथै अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको बताए ।



