शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबिच आज पनि छलफल

काठमाडौँ /३० चैत – शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकहरूबिच आज पनि छलफल भएको छ । तीन दिनदेखि चलीरहेको छलफल निष्कर्षमा नपुगेपनि सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।


छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पुरा गर्न सकिने माग अघि सार्दै आन्दोलन रोकेर विद्यालय फर्कन आग्रह गरिएको छ । मन्त्रालय स्रोतका भन्यो हामीले पुरा गर्ने मागहरू भनिसकेका छौँ । उहाँहरू पनि त्यसमा सकारात्मक हुनुहुन्छ, आज उहाँहरू हामी छलफल गर्छौ भनेर जानु भएको छ । हामी यसमा गम्भीर नै छौँ ।


स्रोतका अनुसार शिक्षकको स्वास्थ्य उपचारको सवाल, सामाजिक सुरक्षा कोषमा १० प्रतिशत सरकारले राख्ने र १० प्रतिशत व्यक्तिको राख्ने विषय, राहत शिक्षकको सँचित विदा कायम गर्ने र विदाको रकम दिने, दुर्गम भत्ता नपाएको भए उपलब्ध गराउने, मर्यादाक्रम मिलाउने, इसिडी र विद्यालय कर्मचारीको न्यूनतम १७३०० पाउने व्यवस्था गर्ने, ग्रेड समायोजन गर्ने लगायतका विषयमा मन्त्रालयले आगामी बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । यस सवालमा अर्थ मन्त्री, प्रधानमन्त्री, गृह मन्त्री र शिक्षा मन्त्रीबिच छलफल भईसकेको र निर्णय गरिएको स्रोतले जानकारी दियो ।


विद्यालय शिक्षा ऐन जारी गराउनु पर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरू चैत २० गतेदेखि सडक आन्दोलनमा छन् । यता महासङ्घले भने आफूहरूसँग भएका सहमति सम्बोधन गरेर विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन स्थगित नगरीने जनाएको छ । आन्दोलनका बारेमा विभिन्न हल्लाहरू आएको उल्लेख गर्दै त्यस्ता प्रायोजित हल्लाको पछाडि नलाग्न र आन्दोलनमा निरन्तर सहभागी हुन शिक्षकहरूसँग आग्रह गरेको छ ।