काठमाडौं/२७ चैत – नेपाल शिक्षक महासंघले दुई विकल्प अघि सारेर त्यसमा सरकारले पहल गरे वार्तामा बस्न सकिने जनाएको छ । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको उल्लेख गर्दै विशेष अधिवेशन आव्हान वा अध्यादेश जारी गरे मात्रै वार्तामा बस्न सकिने जनाएको हो ।
सरकारले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह गरेको थियो । त्यसपछि महसासंघले विज्ञप्तिमार्फत जवाफ दिँदै अहिलै कै अवस्थामा वार्ता गर्न नसकिने जनाएको छ ।
सरकारले संसद्को वर्षे अधिवेशन तत्काल सुरु गर्नुपर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताका लागि विश्वासनीय वातावरण बन्ने जनाएको छ ।
‘अहिलेको अवस्थामा संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्ने मध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी हुन सक्दछ । विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रातिशीघ्र निर्णय लिदै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भएकोले त्यस्तो अवस्थामा मात्र महासङ्घ वार्तामा बस्न सक्ने कुरा स्पष्ट गर्दै विज्ञप्ति मार्फत आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको समेत प्रष्ट्याउन चाहन्छौ’ विज्ञप्तिमा भनिएको छ ।
विगातमा भएका सम्झौता कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै चैत २० गतेदेखि देशभरका शिक्षक काठमाडौं केन्द्रीत सडक आन्दोनमा छन् ।



