शिक्षक महासङ्घ द्वारा पालिकामा ज्ञापन

युवराज रेग्मी
झापा/६ फाल्गुन – नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वान बमोजिम आज फाल्गुन ६ गते ७ सय ५३ वटै पालिकाहरूमा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।


कार्यक्रम अन्तर्गत झापाको विर्तामोड नगरपालिकामा शिक्षकहरूले हातमा कालोपट्टि बाँधी शिक्षकहरूको बृहत् उपस्थितिमा नेपाल शिक्षक महासङ्घद्वारा नगरप्रमुख पवित्रा महतरा प्रसाईंलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरिएको विर्तामोडका अध्यक्ष युवराज कट्टेलले खबर एजुकेसनलाई जानकारी दिए ।


त्यसैगरी नेपाल शिक्षक महासङ्घ मेचीनगरले पनि स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । मंगलबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्ष पुगेर शिक्षकहरूको माग मुद्दा समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।


शिक्षकका पेसागत संगठनका नगर, जिल्ला र प्रदेश तहका शिक्षक नेतृत्वहरूको सहभागीतामा नेपाल शिक्षक महासङ्घ मेचीनगर अध्यक्ष होमराज ढकालले नगर प्रमुख बुढाथोकीलाई ज्ञापनपत्र बुझाएका हुन ।


कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको प्रथम चरणमको आन्दोलन कार्यक्रम अन्तर्गत मंगलबार पालिकास्तरीय खबरदारी भेला गर्दै ज्ञापनपत्र बुझाइएको मेचिनगरका शिक्षक महासङ्घ अध्यक्ष ढकालले बताए ।


साथै नेपाल शिक्षक महासङ्घको निर्देशन बमोजिम मेचीनगरमा पालिकास्तरीय आन्दोलन परिचालन समिति गठन समेत गरिएको मेचिनगर शिक्षक महासङ्घले जनाएको छ ।


महासङ्घ नगर अध्यक्ष ढकालको नेतृत्वमा स्थानीय घटक संस्थाका पदाधिकारी तथा सदस्यसहित मेचीनगरका विभिन्न भूगोल र क्षेत्रको समानुपातिक प्रतिनिधित्व रहनेगरी आन्दोलन परिचालन समिति गठन गरिएको नगर अध्यक्ष ढकालले बताए ।


महासङ्घको अर्को कार्यक्रम अन्तर्गत आगामी बिहीबार विद्यालयमा आन्दोलनका कार्यक्रमबारे शिक्षक, विद्यार्थी एवम् अभिभावकलाई अवगत गराउने कार्यक्रम रहेको छ । आन्दोलन कार्यक्रम अन्तर्गत विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी एवम् विद्यार्थी सहितको भेला आयोजना गरी कार्यक्रम गरिने महासङ्घले जानकारी दियो । आन्दोलन कार्यक्रम शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका ७५३ वटै पालिकाहरूमा खबरदारी भेलाको आयोजना गरिएको हो ।