काठमाडौँ /५ माघ – काठमाडौँको मूलपानी, बाबाचोक स्थित सुमेधा स्कुलले वर्षको सबैभन्दा छोटो महिनामा विभिन्न कार्यक्रमको आयोजना गरी समापन गरेको छ । प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न थोरै विद्यार्थी सङ्ख्यामा काम गर्ने लक्ष्यसहित सञ्चालनमा रहेको सुमेधा स्कुल क्रियाकलापमा आधारित स्कुल हो ।
विद्यार्थीलाई खोज मूलक बनाउन र मस्तिष्कलाई क्रियाशील राख्न यस्ता क्रियाकलापहरू विशेष सिकाइ उपलब्धिहरूको साथ आयोजना गरिरहेको स्कुलकी प्रिन्सिपल लजिता शर्माले बताइन । “तीनदेखि आठ वर्ष उमेरका बालबालिकाहरूलाई उनीहरूको वरपरको संसार अन्वेषण गर्ने प्रशस्त अवसरहरू दिनुपर्छ । हरेक महीना यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ । जस्तै : पौष महीनामा पनि पाठ्यक्रममा नै समावेश गरेर स्नो डे, चाइना डे र मुभी डे जस्ता कार्यक्रमहरूको आयोजना गरिएको थियो ” प्रिन्सिपल शर्मा भनिन् ।
अबुधाबीको उत्कृष्ट मानिएको ब्रिटिस स्कुल, ब्राइटन कलेज अल ऐनमा अध्यापन गराएकी शर्माले अब नेपालकै शिक्षा क्षेत्रमा केही योगदान गरौँ भनेर आफू स्वदेश फर्केको बताइन । कम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सुमेधा स्कुल सफल रहेको उनको दाबी छ ।

साथै सानै उमेरदेखि नै आत्मविश्वास, रचनात्मकता, आलोचनात्मक सोच र सञ्चार कौशललाई बढावा दिन स्कुलले वर्षभरि यस्ता विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ ।
स्कुलकी अध्यक्ष प्रमीला कार्कीले विद्यालयलाई क्रियाकलापमा आधारित सिकाइ केन्द्रको रूपमा स्थापित गर्ने उदेश्यले विद्यालय सिकाइ स्रोतहरूले भरिपूर्ण विषयगत कक्षाकोठा विकास गरेको बताइन ।



