मुसोम क्युएए प्रमाणित हुने कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था

सुर्खेत/२६ पुस – मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्ययन प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।


पुस २५ गते विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोहका बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।


त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं पीआरटी संयोजक प्रा. डा. केशर जंग बराल सम्मिलित समितिले गरेको मूल्याङ्कन र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड तथा सुचाङ्कहरू पुरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्याङ्कन गरे पश्चात् मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।


विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप गुणस्तर वृद्धि गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरे ।


मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले मुसोम, गुणस्तर सुनिश्चितता एवं प्रत्ययन प्रमाणपत्र प्राप्त गर्न सफल कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था भएकोमा मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश र समग्र देशकै ऐतिहासिक एवं गौरवको विषय भएको बताए ।


त्यसैगरी मुसोमका निर्देशक डा. सुशील कुमार शाहीले मुसोमलाई गुणस्तरीय शैक्षिक संस्था बनाउन स्कुलसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूको सामूहिक प्रयास र मेहेनतले उक्त सफलता हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा समेत विद्धमान गुणस्तर कायम गर्दै यसलाई थप परिष्कृत गर्दै अगाडी बढ्ने कुरा व्यक्त गरे ।