विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य अख्तियारको नियन्त्रणमा

काठमाडौँ /२५ पुस – विद्यालयका सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्यलाई अख्तियार अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । नवलपरासी, पाल्हीनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।


उनिहरूले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।


सुरेश गुप्ता र सुरेन्द्र प्रसाद कहारलाई सेवाग्राहीबाट पैँसठ्ठी हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उक्त रकमसहित लेखापालको कार्यकक्षबाट बुधवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।


विज्ञप्तिमा भनिएको छ “जिल्ला नवलपरासी (ब.सु. पश्चिम), पाल्हीनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरू सुरेश गुप्ता र सुरेन्द्र प्रसाद कहारलाई सेवाग्राहीबाट रू.६५,०००।– (पैँसठ्ठी हजार रुपैयाँ) घुस÷रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित निज लेखापालको कार्यकक्षबाट आज मिति २०८१।०९।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।”