काठमाडौँ /२१ पुस – संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारेको छलफल चलीरहेको छ । अहिले समिति प्रदेशस्तरमा छलफल गरी सुझाव सङ्कलनको क्रममा छ । यसरी हुँदै गरेको छलफलमा विभिन्न थरिका विचारहरू सम्प्रेषण भइरहेका छन् । कतिपय विचारहरू सान्दर्भिक र प्रशंसनीय छन् भने कतिपय अभिव्यक्ति पूर्वाग्रही र खण्डित दृष्टिमा आएका देखिन्छन् । एउटा हात्तीलाई खण्डमा हेरियो भने त्यो हात्ती हुँदैन । कान हेरे बिरुवा (भोर्ला)को पात जस्तो देखिन्छ, अनि खुट्टा हेरे खम्बा जस्तो देखिन्छ । त्यसैगरी पुच्छर हेरे कुचो जस्तो अनि सुँड हेरे अजिङ्गर जस्तो देखिन्छ । यथार्थमा हात्ती न पात जस्तो हुन्छ न त खम्बा जस्तो नै । न कुचो जस्तो हुन्छ न त अजिङ्गर जस्तो नै । त्यसैले हात्तीलाई हात्ती जस्तै देख्न खण्डमा नहेरेर समग्रतामा हेर्नु अनिवार्य हुन्छ । विद्यालय शिक्षाका समस्या पनि ठ्याक्कै त्यस्तै छन् , जसलाई सही अर्थमा बुझ्न विद्यालय शिक्षालाई टुक्रा टुक्रामा नहेरेर समग्रतामा हेर्नुपर्छ ।
अहिले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मात्र होइन, शिक्षा सरोकार पक्षहरूका बीचमा समेत विद्यालय शिक्षा विधेयक माथि तात्तातो बहस चलीरहेको छ । यही मौका छोपेर एकथरी मान्छेहरू सार्वजनिक शिक्षा, सामुदायिक विद्यालय र त्यहाँ काम गर्ने शिक्षकलाई खुइल्याउन र हतोत्साहित लागि परेका छन् । त्यस्ता व्यक्ति जसको चिन्तनको प्रारम्भ नै आग्रहको जगमा उभिएको छ, उनीहरूबाट समस्याको सही पहिचान, निष्पक्ष विश्लेषण र उचित समाधानको अपेक्षा राख्नु नै मूर्खतापूर्ण हुन्छ ।
यसरी सम्प्रेषण भएका अधिकांश अभिमतहरू आफूले पढेको विद्यालय, आफ्नो विद्यार्थी काल, घर नजिकैको कुनै एउटा विद्यालय, आफ्नो छरछिमेकमा कुनै एउटा शिक्षक अथवा विद्यार्थी वा आफ्ना नितान्त निजी अनुभव र बुझाइका सामान्यीकरण रहेका देखिन्छन् । विद्यालय शिक्षा बारे अहिले जे जस्ता कुरा उठेका छन् , के समग्रमा विद्यालय शिक्षा त्यस्तै छ ? विद्यालय शिक्षाका समस्या तिनै मात्र हुन् ? यथार्थ त्यस्तो होइन । कुनै पनि विषयमा एउटा कुनै खास घटनालाई हेरेर निष्कर्ष निकाल्नु सर्वथा अनुचित हुन्छ । पेरुको रेड रिभर हेरेर संसारका सबै नदीको पानी रातो हुन्छ भनियो भने कति उचित होला ?
यी हरफहरूमा विद्यालय शिक्षा बारे धेरै विषयमा चर्चा गर्न खोजिएको छैन । अहिले विधेयक माथि छलफल चलिरहँदा पेचिलो विषयका रुपमा आएका केही चर्चित प्रसङ्गमध्ये जिल्लामा शिक्षाको एकाइ चाहिन्छ कि चाहिँदैन भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्न खोजिएको छ ।
के संविधानले जिल्ला चिन्दैन ?
विद्यालय शिक्षा विधेयक माथिको छलफलमा सहभागी हुनुहुने मध्ये कसैकसैले अहिलेको संविधानले जिल्लालाई चिन्दैन भनेको समेत सुनियो । छलफल बजारमा कतिपय शिक्षाविद् तथा बुद्धिजीवीहरूबाट पनि बेलाबखत त्यस्तै खालको अभिमत आउने गरेको देखिन्छ । विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकार हो भन्ने आधार अहिलेको संविधानको अनुसूची – ८ हो । जब यो संविधानले स्थानीय तहको एकल अधिकार उल्लेख भएको अनुसूची –८ चिन्छ भने त्यही संविधानको अनुसूची–४ मा उल्लेख भएको जिल्ला संरचना कसरी चिन्दैन ? जिल्ला अदालत हुने, प्रमुख जिल्ला अधिकारी रहने, सुरक्षा निकायका जिल्ला संरचना रहने , निर्वाचित जिल्ला सभा र जिल्ला समन्वय समिति रहने अनि संविधानले जिल्ला नचिन्ने कसरी सम्भव होला ? यो तर्क आफैँमा कति संवैधानिक छ ?
राज्य सञ्चालकहरूसँग भएको र हामी आम जनतालाई वितरण गरिएको संविधान फरक होइन भने हामीले पढेको नेपालको वर्तमान संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था छ । सो धाराको उपधारा ७ मा उल्लेखित जिल्ला सभाको काम, कर्तव्य र अधिकार अन्तर्गत बुँदा (ग)मा “जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने” भन्ने कुरा उल्लेख छ । यो संवैधानिक प्रबन्धले जिल्लामा सङ्घीय संरचना अन्तर्गतका कार्यालय रहन्छन् वा रहन सक्छन् भन्ने कुरा स्वीकार गरेको छ । त्यसैले सङ्घीय संरचना अन्तर्गत जिल्ला तहमा शिक्षाको एकाइ रहनु संविधान विपरीत हुन्छ भन्नु कुतर्क बाहेक केही होइन । जिल्लामा शिक्षाको एकाइ रहन हुँदैन भन्ने निषेधात्मक प्रबन्ध यो संविधान कहीँ कतै रहेको देखिँदैन । त्यसैले जिल्लामा शिक्षाको एकाइ रहन सक्छ र रहनुपर्छ ।
अन्य देशका अभ्यास के छन् ?
भारत, पाकिस्तान जस्ता हाम्रा छिमेकका सङ्घीय मुलुकमा समेत जिल्ला तहमा अधिकार सम्पन्न शिक्षाको संरचना र पदाधिकारी रहेका छन् । कतिपय अरू पनि सङ्घीय मुलुकमा शिक्षा सम्बन्धी जिल्ला संरचना रहेको पाइएको छ ।
शिक्षकहरू जिल्लामा शिक्षाको एकाइ किन चाहन्छन् ?
जिल्ला स्तरमा शिक्षाको एकाइ रहेन भने शिक्षकको नियुक्ति, पदस्थापन, सरुवा, लामो विदा स्वीकृति, विभागीय कार्बाही, कार्यसम्पादन मूल्याङ्कन (बढुवा) लगायतका सबै अधिकार स्थानीय तह अन्तर्गत रहन पुग्ने अवस्था बलियो बन्छ । यसबाट शिक्षण पेसामा अनगिन्ती समस्याहरू जन्मन्छन् । यहाँ त्यस्ता केही समस्या उल्लेख गर्नु सान्दर्भिक हुन्छ । यस लेखमा सैद्धान्तिक र व्यवहारिक कुरा उठाइएको छ । यस लेख मार्फत कुनै पालिका विशेष वा त्यसको नेतृत्वलाई आरोपित गर्न खोजिएको पटक्कै होइन किनभने एउटा घटनालाई सामान्यीकरण गरी विचार बनाउनु सर्वथा अनुचित हुन्छ ।
क) झण्डै एक दशकसम्म नयाँ शासकीय स्वरूपको अभ्यास हुँदैजाँदा अनुभवबाट निस्किएको एउटा सत्य के हो भने स्थानीय तह अन्तर्गतको अहिलेको शिक्षा विभाग निर्वाचित नेतृत्वको शासकीय तागतको दबाबपूर्ण नियन्त्रणमा छ । त्यसैले अधिकांश पालिकामा नियम, कानुन र न्यायिक विवेक प्रयोग गरी स्वतन्त्र निर्णय लिन सक्ने अवस्था छैन । यस्तो अवस्थामा विद्यालय सम्बन्धी काम कार्बाही गर्दा नियम कानुनभन्दा पालिका नेतृत्वको सम्मति वा आदेश प्रधान हुने गर्छ । यो परिस्थितिमा शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको मुख्य अधिकार पालिकामा राखिने हो भने सो मूल्याङ्कन निष्पक्ष हुनै सक्दैन । कार्यक्षमता र नतिजाको आधारमा भन्दा राजनीतिक पक्षधरता, सामीप्य र व्यक्तिगत सम्बन्धका आधारमा मूल्याङ्कन हुने सम्भावना बलियो भएर जान्छ । यसबाट शिक्षक पेसागत उन्नयन, सुरक्षा र बढुवामा बेथिति हुन्छ । पालिकाको निर्वाचित पदाधिकारीको आँखामा बिझाएको, निर्णायक पदाधिकारीसँग व्यक्तिगत मेल र सामीप्य नभएको तथा खुसामद नजानेको शिक्षक अन्यायमा पर्ने अवस्था आउँछ । शिक्षकले आफ्नो पेसागत उन्नयनका लागि स्वाभिमान बन्धक राखी कोही कसैको पिछलग्गु, हनुमानवा कृपापात्र बन्नुपर्ने बाध्यता सिर्जना हुन्छ ।
ख) जिल्लामा शिक्षा सम्बन्धी एकाइ नराख्ने हो भने सरुवाको सबै अधिकार पालिकामा केन्द्रित हुने अवस्था आउँछ । यसो हुँदा आफ्नो आदेश अनुकूल काम नगर्ने शिक्षकलाई पालिकाबाट जुनसुकै बखत जहाँसुकै मनलागी ढङ्गबाट सरुवा गरिदिन सक्ने अवस्था रहन्छ । अहिलेका पालिका ठूला छन् । मन नपरेको शिक्षकलाई पालिका भित्रै पनि अपायक सरुवा गरी दुःख दिन सक्ने अवस्था प्रशस्त रहन्छ । अहिले देशभरि यस्तो अभ्यासका धेरै उदाहरण पाइन्छन् । कतिपय पालिकाले आफ्नो नातेदार वा राजनीतिक सामीप्यको मान्छे सरुवाका लागि कार्यरत शिक्षकलाई इच्छा विपरीत जबरजस्ती अन्य विद्यालयमा सरुवा गरेका थुप्रै उदाहरण छन् । त्यति मात्र होइन, आफ्नो मान्छे सरुवाका लागि विद्यालयमा भएको दरबन्दीको विषय परिवर्तन गर्ने , कार्यरत प्रधानाध्यापक हटाउने, उसको तेजोबध गर्न ऊ भन्दा वरिष्ठ शिक्षक सरुवा गरी ल्याउने, वरिष्ठलाई हटाएर कनिष्ठलाई प्रधानाध्यापक बनाउने जस्ता काम देशभरि मनलागी ढङ्गले चलीरहेका छन् । पालिका हुने यस्ता अभ्यासलाई सङ्घीय वा प्रदेश संरचनाले कानुन मार्फत रोक्न सक्ने सम्भावना अहिले छैन । अन्ततः न्यायका लागि शिक्षकहरू अदालत जान बाध्य हुन्छन् । अदालत गएर न्याय पाउन कति लामो समय लाग्छ । मुद्दा हाल्न, पेशीमा अदालत धाउन, कानुन व्यवसायी प्रयोग गरी मुद्दाको बहस गराउन एउटा शिक्षकका लागि आर्थिक रूपले पनि धेरै बोझिलो हुन्छ ।
ग) शिक्षण पेसामा रहँदा शिक्षकले नियमानुसार विभिन्न खालका विदा पाउँछन् । यस विषयमा पनि पालिकाबाट शिक्षकहरू माथि अन्याय हुने गरेको छ । विशेष कृपादृष्टिमा नपर्ने शिक्षकले असाधारण विदा, अध्ययन विदा जस्ता विदा पाउन सक्दैनन् । पालिकाबाट शिक्षा नियमावलीले तोकेका विदा दिन समेत आनाकानी वा निषेध गरेका थुप्रै उदाहरण अहिले पनि छन् ।
घ) स्थानीय निकाय नजिकको सरकार भएकोले उसले शिक्षकको कामको रेखदेख गर्छ । विद्यालयमा निरीक्षण र अनुगमन गर्छ । यस कुरामा कसैको विमति छैन तर विभागीय कार्बाहीको अधिकार पालिकामा हुनुहुँदैन ।
शिक्षकबाट कहिल्यै कुनै गल्ती कमजोरी हुँदैन भनेर पनि हामी भन्दैनौँ । कसैले कानुन विपरीत काम गर्छ भने नियमानुसार उसलाई कार्बाही हुने कुरा स्वभाविक हो तर पालिकामा विभागीय कार्बाहीको अधिकारको सर्वथा दुरुपयोग भएको छ र हुँदै जानेछ । पालिकाको नेतृत्वलाई कोही कसैमाथि चित्त बुझको छैन अथवा कसैसँग व्यक्तिगत द्वेष छ भने त्यो शिक्षक सामान्य कुरामा पनि आरोपित भई विभागीय कार्बाहीमा पर्न सक्छ । देशभरका विभिन्न पालिकामा यस्ता थुप्रै घटना उदाहरणका रूपमा छन् ।
ङ) सङ्घ र प्रदेशमा प्रतिपक्षको उपस्थिति रहेको छ तर पालिकामा प्रतिपक्षको उपस्थिति छैन । एउटै निकाय र उही पदाधिकारीले व्यवस्थापकीय, कार्यकारिणी र न्यायिक अधिकार प्रयोग गरीरहेका हुन्छन् । यस्तो अवस्थामा निरङ्कुशताले जरा फैलाउने निश्चित हुन्छ । आरोप लाउने, अनुसन्धान गर्ने र कार्बाही गर्ने अधिकार एउटै निकायमा रहुनु कति उचित होला ? यदि स्थानीय तहले पूर्वाग्रही भएर कुनै शिक्षकलाई आरोपित गरेको रहेछ भने त्यही निकाय र त्यही पदाधिकारीले कसरी त्यसको निष्पक्ष छानबिन गर्लान् र न्याय देलान् ? अहिले छलफल भएको विधेयकमा शिक्षकलाई सेवाबाट हटाउनेसम्मको अधिकार पालिकामा प्रस्तावित भएको देखिन्छ । यो अधिकारको चरम दुरुपयोग हुने निश्चित छ ।
त्यसैले शिक्षकलाई विभागीय कार्बाही अन्तर्गत सचेत गराउने, चेतावनी दिने जस्ता केही प्रारम्भिक अधिकारहरू पालिकामा राख्न सकिए पनि ग्रेड रोक्का, ग्रेड कट्टा र पेसाबाट निष्कासन जस्ता कार्बाहीका अधिकार पालिका रहनुहुँदैन । निरङ्कुश पञ्चायतकालमा समेत यस्तो अधिकार स्थानीय निकायमा थिएन । त्यसबेला पनि शिक्षकको निष्कासनको अधिकार क्षेत्रीय शिक्षा निर्देशनालयमा थियो । मौजुदा कानुनमा पनि विभागीय कार्बाहीको अधिकार मध्ये केही अधिकार विं.व्य.स.मा, केही जिल्लाको एकाइमा र केही प्रदेशमा रहेका छन् । जिल्ला नरहेपछि ती सबै अधिकार पालिकाले प्रयोग गर्ने अवस्था बन्छ । त्यसैले निष्कासन बाहेक अन्य कार्बाही जिल्लाबाट र सेवाबाट हटाउने जस्तो कार्बाहीको अधिकार भने शिक्षक सेवा आयोगको परामर्शमा प्रदेशस्तरको शिक्षा विकास निर्देशनालय वा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहनु पर्दछ । यो शिक्षकको सुरक्षा र स्वाभिमानको विषय हो । यसका लागि पनि जिल्लामा शिक्षाको एकाइ आवश्यक छ ।
घ) सङ्घीय संरचनामा शक्तिको पृथकीकरण छ तर पालिकामा व्यवस्थापकीय, कार्यकारिणी र न्यायिक अधिकार एउटै संरचनाले प्रयोग गर्छ । त्यसले गर्दा त्यहाँ निशंकुशताको ज्यादा खतरा छ । पालिकाको निर्वाचित नेतृत्वले सङ्घीय संरचनाको निर्देशनको अवज्ञा गरेका, शिक्षा ऐन तथा नियमावली विपरीत काम गरेका अनगिन्ती उदाहरण छन् । त्यति मात्र होइन पालिकाले सम्मानित अदालतको आदेशलाई समेत नटेरेका उदाहरण पाइन्छन् । वास्तवमा अहिलेका संवैधानिक प्रबन्ध भित्र पालिकाको निर्वाचित नेतृत्व माथि कुनै लगाम रहेको छैन । जति अन्याय र अत्याचार गरे पनि पाँच वर्ष त्यहाँको निर्वाचित नेतृत्वलाई कसैले केही गर्न नसक्ने अवस्था छ ।
यसैले विद्यालय शिक्षाका सबै अधिकार स्थानीय तहमा रहँदा शिक्षक–कर्मचारीहरू निर्वाचित पदाधिकारीको कोपभाजनमा पर्छन् । सबै नेतृत्वले नराम्रै गर्छन् भन्ने आशय पङ्तीकारको अवश्य होइन तर कोही कसैले जथाभाबी निरङ्कुशताको डण्डा चलायो भने त्यस्तो अवस्थामा शिक्षकको पेसागत मर्यादा, स्वाभिमान र स्वतन्त्रताको रक्षा कसरी हुन्छ भन्ने प्रश्न उठ्छ । मौजुदा संवैधानिक प्रबन्धअनुसार अन्य संरचना वा पदाधिकारीबाट पालिका प्रमुखलाई नियन्त्रण गर्ने कुनै उपाय रहेको छैन । अङ्कुश बिनाको अधिकारको अधिक दुरुपयोग हुने सम्भावना रहन्छ ।
ङ) एसईई, एसएलसी परीक्षाको सञ्चालन र व्यवस्थापन, शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको सञ्चालन र व्यवस्थापन, स्थायी शिक्षकको नियुक्ति, बढुवाको लागि भरिने कार्यसम्पादन मूल्याङ्कनको प्राप्ताङ्क निर्धारण र प्रमाणीकरण, शिक्षक किताबखानासँग सम्बन्धित कागजातहरूको प्रमाणीकरण, अन्तरपालिका सरुवा, जिल्लान्तर सरुवा, शिक्षकको विभागीय कारबाही, बेतलबी÷असाधारण तथा अध्ययन विदाको स्वीकृति, शिक्षकको बढुवाको नियुक्ति लगायतका कार्य गर्न जिल्लामा शिक्षाको एकाइ चाहिन्छ । सङ्घ र प्रदेश दुबै तहको कामको संयोजन गर्न पनि यो एकाइको आवश्यकता छ ।
अब अर्को प्रसङ्गको पुरानो कुरा गरौँ । म आफैँ निमा तहको विद्यार्थी हुँदाका बखतको कुरा सम्झन्छु । तेत्तिस–चौतिस साल तिरको कुरा हो । । पञ्चायतकालमा हरेक दिवस (राजाको जन्मोत्सव, रानीको जन्मोत्सव, शिक्षा दिवस, संविधान दिवस) मा विद्यार्थीहरूलाई नारा लगाउँदै गाउँ परिक्रमा गराइन्थ्यो । राजारानीको जयजयकार गर्न लगाइन्थ्यो । पञ्चायतको जयजयकार गर्न लाइन्थ्यो । दूरदराजको एउटा कुनै गाउँको कुनामा हामीले लाएको जयजयकारन राजारानीले थाहा पाउँथे न त त्यो नाराबाट पञ्चायत नै बलियो हुन्थ्यो । तथापि सत्ताका स्थानीय चाटुकार रपञ्चलाई खुसी तुल्याउनु त्यसबेलाको बाध्यता हुन्थ्यो । अन्यथा व्यवस्था विरोधीको पगरी गुथाएर दुःख दिने र जागिरै चट पारी दिनेसम्मको कार्बाही हुन सक्थ्यो ।
दूर दराजका गाउँको कुरा मात्र होइन, यही काठमाडौँ उपत्यकाका विद्यालयका शिक्षकलाई समेत तत्कालीन राजा वीरेन्द्रको जन्म दिन (पौष १४गते) काठमाडौँको टुँडिखेलमा अनिवार्य उपस्थित हुन लगाइन्थ्यो । शिक्षक नआउलान् कि भनी टुँडिखेल मै विद्यालयको लेटरहेडमा हाजिर गराइन्थ्यो । जो आएको हुन्नथ्यो, ऊ प्रशासनको बक्र नजरमा पर्दथ्यो । त्यही र त्यस्तै कर्म नदोहोरिए पनि विद्यालय शिक्षाको सबै अधिकार पालिकामा नै केन्द्रित गरी नयाँ ऐन आएमा शिक्षकले निर्वाचित नेतृत्वको उचित अनुचित सबै खाले आदेश आँखा चिम्लेर पालना गर्नुपर्ने नियतिबाट गुज्रनु पर्नेछ । पालिकाको नेतृत्व र तिनका आसेपासेहरूको कृपादृष्टिका लागि अनुनय विनय गर्नुपर्नेछ । अहिले नै कति ठाउँमा तामाका यमानका घडाहरू कलश बनाइ राख्ने, विद्यार्थी लाइनमा राखेर थप्पडी बजाउन लगाउने र झण्डा हल्लाउन लाउने, प्रशंसाले भरिएका कविता सुनाउने जस्ता शाही अहम् संस्कृति अभ्यासमा आएका देखिन्छन् ।
यी सबै कारणहरूको समग्र असर के हुन्छ होला ? अहिले पेसामा भएकाहरूमध्ये कतिले जसोतसो अवधि पूरा गर्लान । कति राजीनामा दिएर निवृत्तिभरणमा बस्लान् । कतिले मुख, आँखा र विवेक बन्द गरी सहलान् । यो एउटा पाटो भयो । त्यसको अर्को पाटो पनि छ, जो डरलाग्दो छ । त्यो के भने– यसले शिक्षण पेसामा योग्य र नयाँ पुस्ताको विकर्षण बढ्नेछ । त्यसपछि सार्वजनिक शिक्षाको अवस्था के होला ? कल्पना मात्र पनि प्रितकर छैन ।
(लेखक लक्ष्मीकिशोर सुवेदी नेपाल शिक्षक महासङ्घका अध्यक्ष हुन् ।)



