काठमाडौं/२० पुस – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश गर्नु पर्ने भन्दै ६ धारणा अगाडी सारेको छ । विद्यालय शिक्षा विधेयक २०८० को सम्बन्धमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा संसदको यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने दृष्टिकोण राख्दै सो धारणा सार्वजनिक गरेको हो ।
संगठनले नेपालको संविधान अनुसारको निःशुल्क, समावेशी शिक्षाको सुनिश्चितता गरिएको, नेपाल शिक्षक महासङ्घले सरकारसँग विगतमा गरेका सहमतिहरूको कार्यान्वयन हुने, गुणस्तरीय शिक्षाको लागि पर्याप्त लगानीको ग्यारेन्टी भएको, संविधान सम्मत ट्रेड युनियन र पेसागत अधिकारहरूको प्रत्याभूति हुनुपर्ने, निजी र सामुदायिक विद्यालयका निजी र अस्थायी प्रकारका शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधाको बारेमा राष्ट्रिय मापदण्ड बनाइ लागु गर्नुपर्ने र उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले दिएका सुझावहरू समावेश गर्नुपर्ने दृष्टिकोण सार्वजनिक गरेको छ ।
यसैगरी विद्यालय शिक्षा विधेयक–२०८० को मस्यौदा तयार हुँदै गर्दा नेपाली शिक्षकका पेसागत सङ्गठनहरू र नेपाल शिक्षक महासङ्घलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि देखाएको छ । विधेयक संसदीय प्रक्रियामा छिरेपछि शिक्षक महासङ्घ २०८० आश्विन ३ गतेदेखि कर बलले अनिच्छित आन्दोलनमा गएको र त्यो आन्दोलनको तयारी, वार्ताको प्रक्रिया र सहमति हेर्दा आन्दोलनले बाहिर जुन प्रभाव पार्यो भित्र त्यो भन्दा कमजोर सहमति भएको समेत संगठनको निष्कर्ष छ ।
विधेयकमा सार्थक योगदान वा हस्तक्षेप हुने गरी शिक्षक सङ्गठनको दृष्टिकोण नपुगेको भन्ने टिप्पणीहरू भएको सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिको पाँचौँ पूर्ण बैठकमा पारित प्रतिवेदनमा विद्यालय शिक्षा विधेयकमा ६ दृष्टिकोण हुनुपर्दछ भन्ने स्पष्ट लेखिएको जानकारी दिँदै संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० मा शैक्षिक मूल्य मान्यता र पेशाकर्मीहरूको हक, हित तथा संरक्षणको प्रबन्ध हुने गरी शिक्षा ऐन जारी गर्नुपर्ने सङ्गठनको माग रहेको छ ।
“सार्वजनिक शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न सक्ने विशिष्ट शिक्षक, प्रधानाध्यापक तथा सङ्गठनका नेताहरू भन्दा शिक्षामा व्यवसाय गर्नेहरूको हिजोआज विधेयकको बहसमा ठूलो स्वर हुने गरेको देखिन्छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सो सम्बन्धमा विगतको जस्तै उच्च पेसागत र राजनीतिक योगदान गर्न तयार भएको छ । वर्तमान सन्दर्भमा सार्वजनिक शिक्षाको व्यापक र बृहत् मार्गचित्र के हो ? भन्ने प्रश्नमा आवश्यक आम सहमति बनेको छैन । विधेयकमा बहस सुरु गर्नु पूर्व त्यसमा सैद्धान्तिक निरूपण हुनुपर्दथ्यो । त्यसो नहुनाले विधेयकका बुँदा र सांसदहरूद्वारा प्रस्तुत संशोधनका सुझावहरू गुजुल्टिएर आफै समस्या बन्न पुगेका छन्” संगठनको प्रस्तुत धारणामा उल्लेख गरिएको छ ।
विद्यालय शिक्षा विधेयक २०८० को सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठनको धारणा
(२०८१ साल पुस महिना २० गतेको अन्तक्र्रिया कार्यक्रममा छलफलका लागि प्रस्तुत)
विद्यालय शिक्षा विधेयक–२०८० को मस्यौदा तयार हुँदै गर्दा नेपाली शिक्षकका पेसागत सङ्गठनहरू र नेपाल शिक्षक महासङ्घलाई सहभागी गराइएन । कर्मचारीहरूद्वारा मात्र मस्यौदा गरिएकोले विधेयकमा तिनीहरूले शिक्षण पेसाकर्मीहरूप्रति राख्ने पूर्वाग्रह यथेष्ट झल्केको पाइन्छ । साथै सो विधेयकमा निजी क्षेत्रका शिक्षा व्यवसायीहरूको प्रभाव परेको देखियो । कम्पनी ऐन अन्तर्गत सञ्चालित नाफामुखी विद्यालयहरूलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रारम्भिक प्रस्ताव भएको विधेयक संशोधन गरी प्रतिस्पर्धा गर्नै नपर्ने गरी विद्यालय शिक्षामा निजी क्षेत्रलाई ’अति संरक्षण’ मा राख्न प्रस्ताव गरियो । तत्कालीन प्रधानमन्त्रीले “नक्कली विधेयक” परेछ, सच्याएर अघि बढाउँछौँ भनेर सो प्रस्तावलाई अघि सारेकोसमेत देखिन्छ । उक्त समयमा नेपाल शिक्षक महासङ्घ जस्तो भए पनि विधेयक दर्ता गर्नुपर्छ त्यसपछि भनेजस्तो बनाउन सकिन्छ भन्ने आकाशे खेतीमा रमायो । उक्त विधेयक संसदीय प्रक्रियामा छिरेपछि शिक्षक महासङ्घ २०८० आश्विन ३ गतेदेखि कर बलले अनिच्छित आन्दोलनमा गयो । त्यो आन्दोलनको तयारी, वार्ताको प्रक्रिया र सहमति हेर्दा आन्दोलनले बाहिर जुन प्रभाव पार्यो भित्र त्योभन्दा कमजोर सहमति भयो भन्न सकिन्छ । फलस्वरूप आधासरो आन्दोलनरत शिक्षकहरू सडकमा छोडिए । हप्ता दिनपछि त्यो आन्दोलनको पनि शिक्षक महासङ्घका तिनै नेताहरूको रोहबरमा सहमति भयो भनी दस्तखत गरे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भित्र ती सहमतिहरूलाई हेर्ने र बुझ्ने सवालमा केही समस्याहरू देखिए । सो सम्बन्धमा २०८० साल माघ १३ र १४ गते बसेको सङ्गठनको पाँचौँ पूर्ण बैठकले विधेयकमा थुप्रै कमी कमजोरी रहेकाले संसदमा संशोधनमार्फत अत्यधिक रूपमा शिक्षक मैत्री बनाउन प्रयत्नशील रहने निर्णय ग–यो । यदि भएन भने आन्दोलन अघि बढाउनेसमेत निर्णय ग–यो। त्यही स्पिरिटमा २०८१ साल भाद्र १ र २ गते सम्पन्न २३ औँ राष्ट्रिय परिषद्को बैठकले यस वर्षको संसदको हिउँदे अधिवेशनमा शिक्षक तथा कर्मचारी मैत्री शिक्षा विधेयक ल्याउन प्रयत्नशील रहने अन्यथा सो को लागि सशक्त आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
गत वर्ष प्रतिनिधिसभामा यो विधेयकलाई ’पुनर्लेखन’ गर्नुपर्दछ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सुमना श्रेष्ठ बहाल भएपछि न विधेयकको कार्यवाही अगाडि बढ्यो न त उनले भन्दै गरेको पुनर्लेखन गर्ने काम भयो । यस विधेयकमा छलफल अघि बढाउनुपर्ने बेलामा संसदीय समितिको संयोजक फेरिए तर संसदको वर्षे अधिवेशनमा २०८१ मा विधेयक माथि छलफल अगाडि बढ्न सकेन । सञ्चारमाध्यमका आधारमा भन्नुपर्दा काँग्रेस र एमालेको धारणा यो विधेयकलाई संशोधन गरेर काम चलाउन सकिन्छ भन्ने देखिन्छ भने माओवादी जस्ताको त्यस्तै जारी गर्ने मुडमा रहेको कुरा घटनाक्रमले देखाएको पाइन्छ ।
हाल आएर संसदको हिउँदे अधिवेशनको पूर्वार्धमा यो विधेयकाको सन्दर्भमा विभिन्न फोरमहरूका माध्यमबाट छलफल अघि बढेका छन् । साथै विधेयकमा सार्थक योगदान वा हस्तक्षेप हुने गरी शिक्षक सङ्गठनको दृष्टिकोण पुगेको छैन भन्ने टिप्पणीहरू भएकाछन् । यो सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिको पाँचौँ पूर्ण बैठकमा पारित प्रतिवेदनमा विद्यालय शिक्षा विधेयकमा निम्नअनुसार हुनुपर्दछ भन्ने स्पष्ट लेखिएकोछ ।
माथि उल्लिखित दृष्टान्तलाई आत्मसात् गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकमा निम्न विषयहरू अनिवार्य समावेश गरी संसदको यही हिउँदे अधिवेशनबाट ऐन जारी गर्नुपर्ने दृष्टिकोण अगाडि सारेको छ ।
१. नेपालको संविधान अनुसारको निःशुल्क, समावेशी शिक्षाको सुनिश्चितता गरिएको,
२. नेपाल शिक्षक महासङ्घले सरकारसँग विगतमा गरेका सहमतिहरूको कार्यान्वयन हुने
३. गुणस्तरीय शिक्षाको लागि पर्याप्त लगानीको ग्यारेन्टी भएको
४. संविधान सम्मत ट्रेड युनियन र पेसागत अधिकारहरूको प्रत्याभूति हुनुपर्ने
५. निजी र सामुदायिक विद्यालयका निजी र अस्थायी प्रकारका शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधाको बारेमा राष्ट्रिय मापदण्ड बनाइ लागु गर्नुपर्ने
६. उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले दिएका सुझावहरू समावेश गर्नुपर्ने
संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० मा उपर्युक्त बमोजिमका शैक्षिक मूल्य मान्यता र पेशाकर्मीहरूको हक, हित तथा संरक्षणको प्रबन्ध हुने गरी शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने सङ्गठनको जोडदार माग रहेको छ । यी मान्यताहरू नेपालको संवैधानिक व्यवस्था, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रचलित विधान तथा विभिन्न ऐतिहासिक दस्ताबेजहरूबाट प्राप्त गरिएका हुन् । ती मागहरू ४५ वर्षसम्मको शिक्षक आन्दोलनले घन्काएका नाराहरूको व्यवहारिक निचोड हुन्। त्यसैगरी उल्लिखित विषयहरू नेकपा एमालेको वर्षौँदेखिका मान्यता र निर्वाचन घोषणा पत्रभन्दा अन्यथा पनि छैनन् । अझ व्यापक रूपमा भन्नुपर्दा नेपालको प्रगतिवादी राजनीतिक सामाजिक शक्तिहरूले उठाएका आवाजहरू नै हुन् ।
महासङ्घका कतिपय जायज माग र सम्झौताका बुँदाहरूलाई लिएर विभिन्न व्यक्तिहरूद्वारा अनावश्यक टिप्पणीहरू पनि भएका छन् । ती बुँदाहरू कतिपय संविधान संशोधनसँग जोडिएका छन् भने कतिपय नियमावली, कार्यविधिमार्फत पनि कार्यान्वयन गर्न सकिने खालका छन् । तर सार्वजनिक शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न सक्ने विशिष्ट शिक्षक, प्रधानाध्यापक तथा सङ्गठनका नेताहरूभन्दा शिक्षामा व्यवसाय गर्नेहरूको हिजोआज विधेयकको बहसमा ठूलो स्वर हुने गरेको देखिन्छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सो सम्बन्धमा विगतको जस्तै उच्च पेसागत र राजनीतिक योगदान गर्न तयार भएको छ । वर्तमान सन्दर्भमा सार्वजनिक शिक्षाको व्यापक र बृहत् मार्गचित्र के हो ? भन्ने प्रश्नमा आवश्यक आम सहमति बनेको छैन । विधेयकमा बहस सुरु गर्नु पूर्व त्यसमा सैद्धान्तिक निरूपण हुनुपर्दथ्यो । त्यसो नहुनाले विधेयकका बुँदा र सांसदहरूद्वारा प्रस्तुत संशोधनका सुझावहरू गुजुल्टिएर आफै समस्या बन्न पुगेका छन् ।
आजको यो अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय शिक्षा विधेयकमा उपरोक्त अडानका अतिरिक्त थप के कस्ता नीति र रणनीतिहरू प्रस्तुत गर्नुपर्दछ भन्नेमा सहभागी विद्वान् र आन्दोलनका अनुभवी नेताहरुको विचार विमर्शलाई सङ्गठित गर्नेछौँ । शिक्षा नागरिकहरूको मानवाधिकार हो, यो निःशुल्क रूपमा उपलब्ध गराउनु राज्यको दायित्व हो । शिक्षा समग्र विकासको आधार हो, लोकतन्त्र, समानता र सामाजिक सहिष्णुताको आधारभूत तत्व हो। सार्वजनिक शिक्षाको विकल्प थप असल सार्वजनिक शिक्षा हो भन्ने सङ्गठनको मान्यता रही आएको छ। सङ्गठनले हालसम्म लिएका दृष्टिकोणको समीक्षा गरिदिनु भई थप सुझावहरूको लागि स्वागत गर्दछौँ ।
धन्यवाद !
प्रस्तोता
हंसबहादुर शाही
महासचिव



