पाठ्यक्रम सही नभए शिक्षकहरूको डेलिभरमा असर गर्छ : शिक्षाविद् लुइँटेल

काठमाडौँ /२० पुस – शिक्षाविद् प्रा.डा बालचन्द्र लुइँटेलले पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यसामग्री महत्वपूर्ण हुने भएकोले त्यसको तयारीमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । नेपाल जस्तो मुलुकमा पाठ्यक्रमको फ्रेमवर्क, पाठ्यसामग्रीलाई शिक्षकहरूले आधार मानेर पढाउनुपर्ने अवस्था रहेकोले त्यसले डेलिभर गर्ने कुरालाई असर गर्ने बताउँदै तयारीमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।


पाठ्यक्रम परिमार्जनको विषयमा बोल्दै नेपालको सन्दर्भमा १० वर्षमा पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गर्ने सकिने शिक्षा मन्त्रालयको कार्यविधिमा रहेको उल्लेख गर्दै पाठ्यक्रम निरन्तर परिवर्तन हुने विषय भएको र पाठ्यक्रम परिवर्तन गर्न तीन चार वर्ष मै काम सुरु गर्नुपर्नेमा जोड् दिए ।


लुइँटेलले पाठ्यक्रम ठिक हुनु पर्ने बताउँदै पाठ्यक्रम सही ढंगले नलेखिए, पाठ्यसामग्रीहरू सही ढंगले तयार नभए शिक्षकहरूले डेलिभर गर्ने कुरालाई असर गर्ने बताए । दूरदराजका विद्यालयमा पुस्तकालय, शैक्षिक सामग्री राम्रो नहुने भएकोले पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यसामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका पाठ्यसामग्रीहरू नै महत्वपूर्ण हुने उनको भनाई छ ।


उनले भने “पाठ्यक्रम पनि ठिक हुनु पर्यो । पाठ्यक्रमको फ्रेमवर्क बेठिक भो, पाठ्यक्रम सहि ढंगले लेखिएन, पाठ्यसामग्रीहरू सहि ढंगले तयार भएनन् भने नेपाल जस्तो मुलुकमा शिक्षकहरूले पनि त्यसैलाई आधार मन्नु पर्ने भएकोले शिक्षकहरूले डेलिभर गर्ने कुरालाई त्यसले असर गर्छ नै त्यो स्वभाविक हो । किनभने हामीसँग करिब करिब दुई लाख शिक्षकहरू हुनुहुन्छ र सबैले एकदम राम्रो ढंगले विश्वविद्यालयको शिक्षक तयारीको कोर्स सायद नपाएको पनि हुन सक्छ । र दूरदराजमा हामीसँग पुस्तकालय, शैक्षिक सामग्री राम्रो नहुन सक्छ त्यो हिसाबले पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यसामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका पाठ्यसामग्रीहरू नै महत्वपूर्ण हुन् ।”


उनले पाठ्यक्रम भनेको नियमित रिभिजन गर्नुपर्ने विषयवस्तु भएकोले यसलाई हरेक वर्ष रिभिजन गर्दा पनि फरक नपर्ने बताए । अहिले अनलाइनको समय भएकोले धेरै शिक्षकहरूसँग त्यसको पहुँच हुने गरेको हुँदा शिक्षकहरूलाई पाठ्यक्रम विकास केन्द्रका पाठ्यसामग्री अनलाइनबाटै पठाउन सकिने विचार व्यक्त गरे ।


भिडियोमा यहाँबाट हेर्नुहोस