काठमाडौं/१४ पुस – नेपालको पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कूल प्रिमियर इन्टरनेशनमा भिजुअल आर्ट प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरूको रचनात्मक प्रतिभा र उनीहरूको सिकाईलाई भिजुअल आर्टका माध्यमबाट अभिव्यक्ति गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रारम्भिक बालविकासदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले ४ सय ३० भन्दा बढी कलाकृतिहरू प्रदर्शनिमा राखेका थिए । “Where Imagination Meets Inspiration“ भन्ने मूल नाराका साथमा गरिएको प्रदर्शनीले पोस्टर रङ, वाटर कलर, तेल पेस्टल, पेन्सिल सेडिङ, र क्यानभासमा विभिन्न विषयलाई उजागर गर्न विद्यार्थी सफल भएका थिए ।
साथै विद्यार्थीहरूको कक्षाकोठाको सिकाइ, पढिरहेको पाठको आधारमा गरिएका क्रियाकलाप वा अन्वेषण गरिएका जीवनका अवधारणाहरूलाई कृतिमा उतारेका थिए । कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिताले विद्यार्थी तथा युवा कलाकारहरूलाई झन उत्साह थपेको थियो ।

कलाको अध्ययन मार्फत, विद्यार्थीहरूले अवलोकन, विश्लेषण र विचारहरू व्यक्त गर्ने क्षमता विकास गर्नुका साथै उनीहरूलाई समस्या समाधानका लागी आत्मविश्वासमा बढवा दिने अपेक्षा रहेको विद्यालयको भनाई छ । विद्यार्थीहरूले बनाएका ठूला–ठूला कृतिहरूले परम्परा र आधुनिकताको भावनालाई समेटेका थिए । प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्ना विचारहरू व्यक्त गर्न र समुदायसँग जोड्नको लागि एक अद्वितीय प्लेटफार्मको रूपमा काम गर्ने स्कुलले जनायो ।
प्रमुख अतिथि सुजन चित्रकार, प्रख्यात भिजुअल कलाकार, काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टका प्राज्ञिक तथा शिक्षाविद्हरू र नेपाली कला र कला शिक्षामा आफ्नो महत्वपूर्ण योगदान दिएका व्यक्तिहरूको कार्यक्रममा उपस्थित रहेको थियो ।




