विश्वविद्यालयका अनुसन्धान केन्द्रले कामको स्वामित्व लिन आवश्यक छ : शिक्षामन्त्री

काठमाडौं/१२ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासँग सम्बन्धीत अनुसन्धान केन्द्रका सम्बन्धित विभिन्न निकायहरूसँग अन्तरक्रिया गरेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपस्थितिमा अन्तरक्रिया गरेको हो ।


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले यस अन्तरक्रियाबाट प्राप्त सुझावहरू ग्रहण योग्य रहेको भन्दै अनुसन्धानबाट प्राप्त निचोडबाट मात्र कार्यक्रमले सार्थकता पाउने उल्लेख गरीन । अहिले अनुसन्धान टिचिङ वेस हो वा रिसर्च वेस लर्निङ हो भन्ने स्पष्ट नभएको भन्दै अनुसन्धान केन्द्रलाई सेल्फ सस्टेन गराउनु पर्ने बताइन । साथै सरकारी तथा विश्वविद्यालयका अनुसन्धान केन्द्रले आफूले गरेका कामको स्वामित्व लिनु आवश्यक रहेको उनको भनाई थियो ।


कार्यक्रमका सहभागीहरूले आफ्ना आफ्ना संस्थाहरूको कार्य प्रस्तुत गर्दै अनुसन्धान केन्द्रका लागि जनशक्ति र बजेट वृद्धि, नेपालको आफ्नो मौलिकतालाई जगेर्ना गर्ने खालको अनुसन्धान हुनुपर्ने, अनुसन्धानलाई थिङ्क ट्यांकको रूपमा विकास गरी अनुसन्धान केन्द्रको स्तरोन्नतिको आवश्यकता रहेको सुझाव दिएका थिए ।


अहिले अनुसन्धानको प्रतिवेदन प्राप्त भएतापनि लक्षित समूहसम्म सुझावको कार्यान्वयन नभएको, डाटा र पोर्टल मार्फत रिसर्च फाइण्डिङ सेयर गर्न आवश्यक रहेको , अनुसन्धान केन्द्रहरूले आपसी कोल्याब्रेसनमा कार्य गर्नुपर्ने जस्ता सुझाव दिएका छन् ।